पोखरा / शुभकामना बचत तथा ऋण सहकारी पोखरा ८ को शुक्रबार भएको १७ औं साधारणसभा तथा छैटौं अधिवशेनले गोपालबहादुर घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ ।
समितिको उपाध्यक्षमा रामचन्द्र आचार्य, सचिव टेकराज तिमिल्सिना, कोषाध्यक्ष हर्कबहादुर भण्डारी र सहसचिवमा टुकबहादुर खत्री क्षत्री चुनिएका छन् । सदस्यहरुमा क्षत्रबहादुर खत्री क्षत्री, प्रकाश बरुवाल, कमलकुमारी केसी र मिरा गिरी छन् ।
शुभकामनाको लेखा समिति संयोजकमा हिमलाल भुसाल र सदस्यद्वयमा नारायण बरुवाल र प्रेमकुमारी बरुवाल छन् । महेश पराजुली संयोजक र दलबहादुर जिसी र रामचन्द्र पौडेल सदस्य रहेको निर्वाचन समितिले नयाँ सञ्चालक समिति चयनका लागि सहजीकरण गरेको थियो ।
सभाले अध्यक्ष प्रेमशंकर बरुवालको प्रतिवेदन, सचिव ठाकुरप्रसाद सापकोटको प्रगति प्रतिवेदन र कोषाध्यक्ष हर्कबहादुर भण्डारीको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभामा कक्षा १२ उत्तीर्ण सेयर सदस्यका सन्तानमध्ये आस्था बरुवाल र रोहित क्षेत्री, असल कारोबारकर्ता तारादेवी बरुवाल, उत्कृष्ट कारोबारी चित्रबहादुर पाइजा पुन, ज्येष्ठ सदस्यहरु अमरबहादुर खड्का क्षेत्री र चिरञ्जीवी श्रेष्ठलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष प्रेमशंकर बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ सेयर सदस्य दिलबहादुर बरुवाल, नेपाली पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, सहकारीका उपाध्यक्ष रामचन्द्र आचार्य, सम्मानित व्यक्तित्व चिरञ्जीवी श्रेष्ठ लगायतले बोलेका थिए ।
शुभकामना सहकारीमा ७ सय २८ सेयर सदस्यको सेयर पुँजी २ करोड ७७ लाख १४ हजार १ सय रहेको जानकारी दिए ।





