बागलुङ / मिर्गौलाले काम गर्न छोडेपछि जैमिनी नगरपालिका–१०, राङखानी पाहीका ४३ वर्षीय बिरु गाहामगरले उपचारका लागि सहयोगको अपिल गरेका छन् ।
मिर्गौलाको महंगो उपचार खर्च धान्न नसकेपछि बिरुले परिवार, आफन्त, साथीभाइ तथा शुभेच्छुकसँग सामाजिक सञ्जाल फेसबुकमार्फत् सहयोगको आग्रह गरेका हुन् । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नियमित डायलाइसिस गराइरहेका बिरुले काठमाडौं स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी गरिरहेका छन् ।
प्रत्यारोपणका लागि उनकी दिदी तिलाको मिर्गौला परीक्षण भइरहेको छ । परीक्षण सफल भएमा तिलाले मिर्गौला दान गर्ने छिन् ।
उपचार अवधि लम्बिँदै जाँदा खर्च निरन्तर बढ्दै गएपछि आर्थिक अवस्था कमजोर बनेकोले सहयोगको अपिल गर्न बाध्य भएको बिरुका भतिजा मित्र थापाले बताए । हालसम्म विभिन्न व्यक्तिबाट ५ लाखभन्दा बढी आर्थिक सहयोग संकलन भइसकेको छ ।
डाक्टरहरूले उपचार र मिर्गौला प्रत्यारोपणका लागि २० देखि २५ लाखसम्म खर्च लाग्न सक्ने बताएका छन् । बिरु ५ वर्ष दक्षिण कोरियामा वैदेशिक रोजगारीमा गएर फकिएका थिए । स्वदेश फर्किएपछि गाउँमै कृषि पेशामा आबद्ध उनलाई मृगौलासम्बन्धी समस्या देखिएको थियो । बिरुका २ छोरी, छोरा र श्रीमती छन् ।





