पोखरा / गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं पत्रकार कमल पौडेल ‘अथक’ शनिबार पोखरामा सम्मानित भएका छन् । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको २० औं वार्षिक साधारण सभामा संस्थाले उनलाई नगद र सम्मानपत्रसहित सम्मान गरेको हो ।
रेडियो सराङकोटका समाचार प्रमुख अथकले साढे २ दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय छन् । सञ्चारसँगै साहित्यको क्षेत्रमा विशेष योगदान गरेकाले उनलाई सम्मान गरिएको संस्थाका अध्यक्ष शिबबहादुर बानियाँले बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार पण्डित कमलनयन गौतमले निरन्तरको मेहनत र साधनाले व्यक्ति र संस्थालाई उचाईंमा पु¥याउने उल्लेख गरे । सहकारीले पवन श्रेष्ठलाई वर्ष उत्कृष्ट कर्मचारी, तीर्थमान प्रधानांगलाई ज्येष्ठ सदस्य, शर्मिला जिसी, बालकृष्ण बराल र दीग्विजय थापालाई उत्कृष्ट कारोबारीका सम्मान गरेको छ ।
सहकारीका अध्यक्ष शिबबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार शोभियतबहादुर अधिकारी, सुशीलराज पराजुली, पूर्वअध्यक्ष प्रेमबहादुर जिसी, निवर्तमान अध्यक्ष कृष्णबहादुर थापा, सञ्चालक ईन्द्रकमल मानन्धर, उपाध्यक्ष राममणि पौडेल, कोषाध्यक्ष शिवबहादुर थापा, लेखा समिति संयोजक कुलप्रसाद सुवेदी, व्यवस्थापक सुरेन्द्र थापा र सचिव जयराम पौडेल लगायतले बोलेका थिए ।
सभाले अध्यक्ष, सचिव र कोषाध्यक्षका प्रतिवेदन छलफलपछि सर्वसम्मत पारित गरेको सचिव जयराम पौडेलले जानकारी दिए ।





