बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

हिम्लुङमा हराएकाको खोजी स्थगित

हिम्लुङमा हराएकाको खोजी स्थगित

हिमपहिरोमा मृत ४ को शव भेटिएको छ भने बाक्लो हिउँका कारण खोजी अभियान रोकिएको छ


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८३, मंगलबार
हिम्लुङ हिमाल र सोमबार हिमपहिरोमा हराएकाहरु खोज्दै उद्धार टोली । तस्बिर : नेपाल नेसनल माउन्टेन गाइड एसोसियसन

पोखरा/यही असोज ८ देखि ११ गतेसम्मको मौसमी विपद्को मार मनाङमा बढी प¥यो । यहाँको ७ हजार २ सय २७ मिटर अग्लो हिमाल हिम्लुङमा आइतबार बिहान गएको हिमपहिरोमा अझै १२ जना सम्पर्कविहीन छन् । आइतबार २ र सोमबार २ गरी ४ जनाको शव भेटिएको छ ।

आइतबार फेला परेका २ शव सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ का छेवी भोटे र सङ्खुवासभाकै भोटखोला–२ का पासाङ भोटेको खुलेको छ । सोमबार गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय वीरेन्द्र गुरुङ र खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ९ का घनश्याम राईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक विनोद बोहोराले जानकारी दिए ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसियसनले उद्धारका काम सोमबारबाट रोकेको छ । एसोसियसनका अध्यक्ष तुलसिंह गुरुङले अहिले उद्धार सम्भव नभएकाले काम रोकिएको बताए । ‘सोमबार १०/१२ फिट खन्दा पनि हिउँ नै भेटियो । यो हिउँ नपग्लिई उद्धारका काम सम्भव हुँदैन,’ उनले भने, ‘त्यसैले हाम्रो टोली त्यहाँबाट फर्किइसकेको छ ।’

आरोहण टोलीका सदस्यहरु पुरिएको ठाउँ सम्म छ । माथिको भिरालो भूभागबाट एक्कासि हिमपहिरो आउँदा टोलीका सदस्यहरु पुरिएको अध्यक्ष गुरुङको भनाइ छ । हिमपहिरो गएको स्थान हिम्लुङ बेस क्याम्प पुग्न मनाङबाट पैदल तीन दिन लाग्छ । यो सगरमाथा आरोहणअघि पर्वतारोहीले आरोहण गर्ने चर्चित हिमाल हो ।

नार्पाभूमि गाउँपालिका वडा नम्बर ५ स्थित हिम्लुङ बेस क्याम्पमा अझै १२ जना हराइरहेको र ११ जना सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए ।मनाङमा बिजुली बत्तीको व्यवस्था नहुँदा सूचना, सम्पर्क र उद्धार कार्यमा पनि कठिनाई भएको छ । चामेमा ठाडो खोलाले मस्र्याङ्दी नदी थुनिएकाले पारी जान सक्ने अवस्था पनि छैन । पारी ८÷१० घर जोखिममा परेका परेको जानकारी आए पनि यकिन जानकारी नभएको खनालको भनाइ छ ।

प्रदेशले पठायो डाक्टर
गण्डकी प्रदेश सरकारले चिकित्सक टोली मनाङ पठाएको छ । मनाङमा आवश्यक औषधीसहित २ चिकित्सक र १ नर्सलाई हेलिकप्टरमार्फत् सोमबार पठाइएको हो ।

प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेश मातहतका अस्पतालहरूलाई आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न तथा विपद्को सम्भावित अवस्थालाई मध्यनजर गर्दै पूर्ण तयारी अवस्थामा रहन निर्देशनसमेतदिएको छ । गण्डकीका प्रमुख सचिव भूपाल बरालले मौसमी विपद्का घटनाबारे छलफलसहित व्यवस्थापनका लागि विभिन्न निर्णय भएको बताए ।

यो मौसमी विपद्मा गण्डकी प्रदेशका बागलुङ, म्याग्दी र मनाङमा गरी २१ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोका कारण प्रदेशभर ११ वटा झोलुंगे पुल, ६ वटा पक्की पुल र ४३ सडकखण्ड अवरुद्ध छन् ।

गण्डकी सरकारले विपद् व्यवस्थापनका लागि तत्काल आवश्यक खर्च प्रदेश विपद् व्यवस्थापन कोषबाट गर्न र कोषको रकम खर्च भइसकेपछि आवश्यकताअनुसार पुनः सोही कोषबाट रकम माग गरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->