पोखरा/नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सोमबार कास्की जिल्लाका ३ निर्वाचन क्षेत्रको अधिवेशन सुरु भएको छ ।कास्की क्षेत्र नम्बर १ को लेखनाथमा, क्षेत्र २ को बास्तोलाथर, महेन्द्रपुल र क्षेत्र ३ को हेमजामा अधिवेशन सुरु भएको हो ।
यसपटकको अधिवेशनले पार्टीमा एकै पटक १६ हजार युवालाई प्रतिनिधिरुपमा समेत ल्याएको छ ।कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ विचार र प्रविधिमैत्री बनाउँदै गतिशील संगठन निर्माण गर्ने प्रतिबद्धताका युवा पार्टीको नेतृत्वमा आएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए ।
देशभरका लाखौँ सदस्य तथा कार्यकर्ता महाधिवेशन तथा अधिवेशनको अभियानमा जुटिरहेको उल्लेख गर्दै चालिसेले यसलाई पार्टी जीवनको महापर्वका रूपमा लिनुपर्ने जनाए । महाधिवेशन नेतृत्व चयनको प्रक्रियामात्र नभई नीति, विचार र संरचनागत सुधारबारे गहन छलफल गर्ने साझा मञ्च भएको स्पष्ट पारेका छन् ।
‘देशभरका लाखौँ साथीहरू पार्टीलाई नवीकृत र गतिशील बनाउने अभियानमा जुट्नुभएको छ। यो अधिवेशनले जनताको अपेक्षाअनुसारको कांग्रेस निर्माण गर्न बलियो आधार तयार गर्नेछ,’ चालिसेले भने, ‘करिब १६ हजार नयाँ पुस्ताका प्रतिनिधि एकैपटक पार्टीको नेतृत्वदायी भूमिकामा आउनुले कांग्रेसलाई अझ ऊर्जाशील, युवामय र प्रविधिमैत्री बनाएको छ ।’
सामाजिक समावेशितालाई प्रवद्र्धन गर्दै देशभर छरिएर रहेका विविध क्लस्टर र जनशक्तिलाई पार्टीमा एकीकृत गर्ने नीति लिइएको छ। युवा नेता गोविन्द नेपालीले पार्टीले बल्ल युवाको भावना बुझेको बताए । प्रदेश प्रतिनिधिको उम्मेदवार समेत रहेका नेपालीले गगन थापाले जुन आँट गरेर पार्टीमा विद्रोह गरे, त्यसमा सबैले साथ दिनुनै आजको आवश्यकता रहेको सुनाए ।
‘हिजो कांग्रेसलाई एउटा आरोप थियो–पुरानालाई मात्रै अवसर दिने, युवा भविष्यका कर्णधार हुन भनेर पन्छ्याइन्थ्यो तर आज समय फेरिएको छ । युवा भविष्यका कर्णधार होइनन् वर्तमानका साझेदार हुन्,’ नेपालीले भने, ‘यो पार्टीको उत्सवलाई सबैले साथ दिनुपर्छ र नेताहरू एक भएर पार्टीहितका लागि लाग्नुपर्छ ।’
कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा सहमति प्रयास भए पनि सार्थक हुन सकेको छैन । सोमबार रातभर सहमति नभएमंगलबार निर्वाचन हुने देखिएको छ ।





