बागलुङ (खर्वाङ)/बागलुङ पश्चिमको निसीखोला गाउँपालिकामा आइतबार निसीखोला अस्वाभाविक रुपले बढेर आयो । निसीखालाको बाढीले झिँवाखोला बजार र कानाबगर क्षेत्रमा बढी क्षति गरेको छ । यस क्षेत्रका ३० घर पूर्ण क्षति भएका छन् । २३ घरमा आंशिक क्षति पु¥याएको छ । थप करिब २५ घर उच्च जोखिममा छन ।
विपद्का कारण स्थानीयको जनजीवन अस्तव्यस्त बनेपछि निसीखोला गाउँपालिकाले सहयोगको अपिल गरेको छ । पालिकाले एक सुचना जारी गर्दै प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनः स्थापना र आवश्यक प्रतिकार्यका लागि आर्थिक सहयोगको अपील गरेको हो । सहयोग रकम पारदर्शी ढङ्गले कानुन र कार्यविधि बमोजिम पीडितहरूको पुनः स्थापनामा उपयोग गरिने पालिकाले जनाएको छ ।
वडा नं. ४ का वडाध्यक्ष टिकानिधी पौडेलका अनुसार बाढीले कानाबगरमा ७ घर तथा झिँवाखोला बजार क्षेत्रमा २३ घरमा ठूलो क्षति पु¥याएको छ । “बाढीले झिँवाखोला बजारको तल्लो पुरानो बजार क्षेत्रमा घरको जग तथा आसपासको जमिन कटान गरेको छ । वरपरका अन्य स्थानीय संरचनामा समेत बाढीले क्षति गरेको छ” पौडेलले भने ।
बिहानको समय र विद्यालय पनि बन्द रहेकाले थप मानवीय क्षति हुन भने पाएन । अचानक बस्तीमा बाढी पसेपछि विस्थापित बनेका पीडितहरू यतिबेला स्थानीय विद्यालय, वडा कार्यालय र आफन्तकोमा आश्रय लिएर बस्न बाध्य छन् ।
विपद्पछि सोमबार निसीखोला गाउँपालिकाले कार्यपालिका बैठकले तत्काल रहात उपलब्ध गराउने निर्णय गरेको छ । कार्यपालिका बैठकले बाढी पहिरोमा मानवीय क्षति भएका परिवारलाई प्रतिव्यक्ति ५० हजार तथा थप मृत्यु भएमा प्रतिव्यक्ति २५ हजारका दरले आर्थिक सहयोग गर्ने भएको छ ।
यस्तै पुर्ण क्षति भएका घरलाई ३० हजार र उच्च जोखिममा परेका घरलाई १० हजार आर्थिक सहायता पालिकाले उपलब्ध गराउने भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए । साथै बैठकले अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउने, बस्ती संरक्षणका काम शुरु गर्ने लगायतका निर्णय गरेको पनि उनले बताए ।
मंगलबार दिउँसोसम्म बागलुङ सदरमुकामदेखि निसीखोलासम्म एकतर्फी मात्र सडक सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
निसीखोला गाउँपालिकाका सुचना अधिकारी डिलाराम बाँठा मगरका अनुसार अहिले पालिकाभर क्षतिको आधिकारिक विवरण संकलनको काम भईरहेको छ । आइतबार नेपाली सेनामार्फत सामान्य सहयोग पालिकामा प्राप्त भएपनि त्यसबाहेक अन्य कुनै सहयोग अहिलेसम्म प्राप्त भएको छैन ।
“हिजो हेलीमार्फत केही राहतका सामान पालिका आएको छ । यस बाहेक कहिँकतैबाट सहयोग आएको छैन । प्रदेशबाट पनि सहयोग गर्ने घोषणा भएको छ । त्यो पनि आउँला । पालिकाबाट हामीले पनि केही राहत वितरणको काम शुरु गरेका छौं । विशेष गरी क्षतिको तथ्याङ्क संकलनको काम अहिले गरिरहेका छौ” उनले भने ।





