
बागलुङ/अबिरल बर्षात र कालीगण्डकी नदीको बाढीले क्षतिग्रस्त पोखरा बागलुङ सडक खुलाउन काम थालिएको छ । सडक विभाग पोखरा र बागलुङ तथा स्थानीय तहको समन्वयमा दुवै तर्पmबाट काम थालिएको हो ।
कालीगण्डकीको बाढीले आइतबार मालढुंगा पुलको पुर्वी ढीका बगाएको थियो । सोही सडक खण्डको नयाँपुल र सहश्रधारामा सडक बगेको थियो । त्यस बाहेक मालढुंगा बेनी सडक पनि क्षतबिक्षत छ । सोमबार पोखरास्थित सिनियर डिभिजन प्रमुख कृष्णप्रसाद अधिकारी नेतृत्वको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि तत्काल २ वटा एस्काभेटरबाट नयाँ पुल र सहश्रधारामा काम थालिसकेको छ । तत्काल सडकको अस्थायी ट्रयाक खोलेर कोरला नाकादेखि सवारी चलाउने प्राथमिकता राखिएको उनले बताए ।
मालढुंगाको पुलमा मेसिन लैजान नसकिएकोले पहिलो चरणमा सडक खुलाउनुको विकल्प नभएको हो । ‘पुलमा काम गर्ने कामदार र मेसिन लैंजान पनि नयाँपुल र सहश्रधाराको सडक खुल्नुपर्छ’ अधिकारीले भने, ‘यो सडक खुलेपछि पुलको काम पनि सँगै गर्छौ ।’ दुइ तीन दिनमा सडक खुलाएर कोरला नाकासँग पोखरा जोडिने उनले बताए ।
नेपालका सबै उत्तरी नाका बन्द भएको अवस्थामा कोरला मात्रै खुला थियो । कालीगण्डकी बाढीपछि म्याग्दी र पर्वत खण्डको बाढीले आवागमन ठप्प छ । यो सडकबाट पछिल्लो समय कन्टेनर, इभी गाडी र विभिन्न सामाग्री समेत आयात भैरहेको छ । व्यस्त राजमार्गको रुपमा देखिएको कोरला पोखरा सडक वर्षात्पछि ठप्प छ ।
मालढुंगास्थित कालीगण्डकी पुलका लागि भने डिभिजनले २ वटा विकल्प निकालेको छ । तत्कालका लागि ३५ मीटरको बेली ब्रिज बनाएर गाडी सञ्चालन गर्ने वा पुलको भत्केको स्थानमा ग्याबिन भरेर पुर्ने भन्ने सल्लाह भैरहेको हो । बेलीब्रिजको सामान ल्याउन समेत सहश्रधाराको सडक खुल्नुपर्नेछ । पोखरामा रहेको बेलीब्रिजको सामान ल्याउन स्थानीय जनप्रतिनिधिले पहल गरेका थिए । बेलीब्रिज बनाउनका लागि पनि सामान आएपछि झण्डै एकसाता लाग्ने भएपछि पहिलो विकल्प उत्तम भएको प्राविधिकहरुको भनाइ छ ।
नदीको पानी घटेको खण्डमा ग्याबिन जाली भरेर सडक चलाउन उपयुक्त हुने प्राविधिकले सुझाएका छन् । ‘बेलीब्रिजको समय भन्दा पुलनै मर्मत छिटो हुन्छ’ अधिकारीले भने, ‘दोश्रो विकल्पबारे पनि सडक खुल्नुपर्ने छ ।’ यो पुलको अभावमा बागलुङ जिल्ला सिधा यातायातबाट अवरुद्व भएको छ । त्यस बाहेक मध्यपहाडी लोकमार्ग भएर पश्चिम क्षेत्र जानेलाई पनि अप्ठ्यारो पर्छ । २०४९ सालमा बनेको यो पुलले मात्र जिल्लालाई पोखरा, पर्वत र अन्य जिल्लालाई जोड्छ ।
मध्यपहाडी लोकमार्गअन्र्तगत बागलुङको निसीखोला गाउँपालिका वडा नं. ३ र ४ मा पनि सडक क्षतबिक्षत भएको छ । यहाँको निसीखोलाको बाढीले झिँवाखोला, झिम्पा र कानाबगर लगायतको क्षेत्रमा ठूलो क्षति भएको छ । उक्त स्थानमा पनि सडक खुलाउन डिभिजनले पहल गरेको डिभिजन प्रमुख हरिप्रसाद शर्माले बताए ।
तत्काल मालढुंगाको पुल सञ्चालन नहुन्जेल कालीगण्डकी करिडोर हुँदै जैमिनीधामको पुल तरेर पर्वतको फलेवास हुँदै पोखरा जाने बिकल्पको सडक खुलाइएको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । नगरपालिका र डिभिजनका मेसिन लगाएर अबरुद्व भएको करिडोरको बागलुङ खण्ड खुलाइएको हो । सोमबार दिउँसो नै केही सवारी उक्त रुट भएर पोखरा प्रस्थान गरिसकेका छन् ।
बागलुङमा इन्धनको ढुवानीमा सबैभन्दा समस्या देखिएको छ । भएका पम्पमा तेल सकिन लागेकोले अत्यावस्यक सेवाका लागि समेत अप्ठ्यारो पर्ने भएपछि करिडोरको विकल्पबाट तेल र ग्यास आपुर्तिमा सहजीकरण गर्न प्रशासनले पनि पहल गरेको छ । बिरामीलाई उपचारमा पोखरा जानु परेपनि सडक अभाव भएपछि पहिलो विकल्प तयार भएको हो ।
बागलुङ नगरपालिकाले अवरुद्व रहेको निरयघाट मानवसेवा आश्रम जाने सडक, सदरमुकामदेखि बलेवा जाने सडक र अन्य सहायक सडकहरु खुलाई सकेको छ । ती सडक सञ्चालन भएपछि जिल्ला र नगरभित्रका मानिसले भने यात्रा गर्न पाउनेछन् । मौषम सफा भैसकेकोले अस्थायी रुपमा खुलेपनि तत्कालको काम सहज बन्ने इन्जिनियर दिपेन्द्र भण्डारीले बताए ।





