पोखरा/असोज ८ गतेबाट ११ गतेसम्मको मौसमी विपद्को शृंखला अन्यत्र कमजोर हुँदै गए पनि मनाङमा अझै उस्तै छ । हिम्लुङको हिमपहिरोमा अझै १२ जना सम्पर्कविहीन छन् भने ४ जनाको शव भेटिएको छ । ११ जना सकुशल फिर्ता भएका छन् ।
मनाङ सदरमुकाम चामेसहित मनाङ जिल्लाबासी अहिले कठिन परिस्थिति झैल्दै छन् जिल्लामा बिजुली अवरुद्ध छ । खानेपानी आपूर्ति बन्द भएको छ, यातायात सम्बन्ध विच्छेद भएको छ । सदरमुकाम चामेमा ठाडो खोलाले मस्र्याङ्दी थुनिँदा बनेको कृत्रिम तालको त्रास अझै जारी छ ।
मंगलबारबाट दुई एस्काभेटरले अस्थायी ड्याम हटाएर नदी साविक स्थानबाटै बगाउने प्रयत्न सुरु भए पनि सार्थक भएको छैन । खोलाले बनाएको अस्थायी ड्यामका दुवै किनाराबाट पानी बगेपछि कृत्रिम ताल घटेको छ । ताल घटेपछि संकट गर्ने ठानिएकोमा नयाँ संकट देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङकी प्रमुख कोपिला चुडालले नयाँ समस्या देखिएको सुनाइन् । ‘ताल होला, पानी घटेपछि संकट सकिएला भन्ने ठानेको ताल त होइन रहेछ । गेग्रान पो जममा भएछ,’ उनले भनिन्, ‘पारिपट्टिको बस्ती र पुल बराबरको गेग्रान ताल जस्तो बनेको ठाउँमा जम्मा हुँदा नदीले पारीको बस्तीमा पुगेको छ ।’
मनाङमा इन्धनको अभावसमेत भएको छ । प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले इन्धन आपूर्तिका लागि अनुरोध गरिएको जानकारी दिए । ‘नदीले पारीपट्टि एउटा घर कटान गरिसकेको छ, अर्काे कटान गर्दै छ,’ उनले भने, ‘त्यहाँ ८/१० घर छन् । सबैजसो घरमा मस्र्याङ्दीको पानी पुगेको छ ।’
यसअघि बनेको कृत्रिम तालमा जम्मा भएको गेग्रान नहटाए मस्र्याङ्दी बस्ती नै बगाउने सम्भावना देखिएको छ । यसपालिको विपद्मा गण्डकीमा ८ गते बिहीबारबाट १२ गते सोमबारसम्म बाढी, पहिरो र हिमपहिरोमा परी २३ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरोमा परी बागलुङमा १२ जना, म्याग्दीमा सात र मनाङको हिमपहिरोमा परी चार जनाको ज्यान गएको हो । यो अवधिमा १५ जना सम्पर्कविहीन र नौ जना घाइते छन् । आइतबार बिहान हिम्लुङ हिमालमा आएको हिमपहिरोमा परी ज्यान गुमाएका चार जनाको पहिचान खुलेको छ । हिमपहिरोमा परी ज्यान गुमाएका सङ्खुवासभाको भोटेखोला गाउँपालिका वडा नम्बर ३ का ५२ वर्षीय छेदी भोटे र ३१ वर्षीय पासाङ भोटे, गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय वीरेन्द्र गुरुङ र खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ९ का ४५ वर्षीय घनश्याम राईको शव भेटिएको हो ।
हिमपहिरोमा परी सम्पर्कविहीन हुने १२ जनाको पनि नाम पहिचान खुलेको छ । हिमपहिरोमा हिमालयन होलिडे कम्पनीका बिर्खध्वज तामाङ, जगत तामाङ, कमल बुडा, लकबहाुदर गुरुङ, नग्मा दोर्जे, पासाङ नुरी शेर्पा सम्पर्कविहीन छन् । सोही कम्पनीका सन्तवीर तामाङ, सुरज राई, उक्रध्वज तामाङ पनि सम्पर्कमा छैनन् । हिम्लुङ हिमपहिरोमा इक्पिडिसन इमाजिन कम्पनीका आसमान गुरुङ र कृते गुरुङ पनि सम्पर्कविहीन छन् ।
यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढीपहिरोबाट प्रभावित बागलुङ, म्याग्दी, पर्वतलगायत जिल्लाका बाढी प्रभावित क्षेत्रको मंगलबार स्थलगत निरीक्षण गरेका छन् । मुख्यमन्त्री पाण्डेले बाढीपहिरोबाट भएको जनधनको क्षति, सडक तथा पुल लगायत भौतिक पूर्वाधारमा परेको असर र प्रभावित नागरिकको अवस्थाबारे स्थानीय नागरिक र जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिएका छन् ।
उनले बाढीपहिरोबाट विस्थापितहरू हाल बसिरहेको स्थान, खाद्यान्न, स्वास्थ्य लगायतको अवस्थाका बारेमा पनि विस्थापितसँग बुझेका छन् । गण्डकी प्रदेशभित्र बाढीपहिरोबाट मृत्यु भएका तथा बेपत्ता भएका नागरिकका परिवारलाई प्रतिव्यक्ति १ लाख, मृत्यु भएका नागरिकका परिवारलाई काजकिरिया खर्चबापत थप २५ हजार रुपैयाँ र घाइते नागरिकलाई उपचार खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराइने निर्णय गरेको छ ।





