पोखरा/नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र ३ (१) बाहेक सबै क्षेत्रमा निर्वाचन भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा ६ वटा प्रदेशसभा क्षेत्र छन् ।
कास्की निर्वाचन क्षेत्र १ मा मतदान भएको छ । कास्की १ मा १ हजार २२ मतदाता रहेकोमा ९ सय ७० मत खसेको छ । यस क्षेत्रको प्रदेशसभा १ मा ४ सय ७७ र २ मा ४ सय ९३ मत खसेको निर्वाचन अधिकृत बोधराज पौडेलले जानकारी दिए ।
कास्की क्षेत्र नम्बर १ मा शन्तिपूर्ण रुपमा निर्वाचन भएको छ । यहाँ प्रतिनिधिसभा क्षेत्रीय सभापतिका लागि सरोज केसी र ओमप्रकाश गुरुङ र अप्सरा श्रेष्ठ प्रतिष्पर्धामा छन् । पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले सभापतिमा दावेदारी पेस गरे पनि अन्तिम समयमा नेतृत्वको दौडबाट पछि हटेपछि केसी, गुरुङ र श्रेष्ठबीच प्रतिस्पर्धा भएको हो ।
सहमतिका लागि पछि हटेका थापा प्रदेश सभातर्फ १ (१) मा निर्विरोध सभापति निर्वाचित भएका छन् । यस्तै १ (२) मा यमबहादुर गुरुङ र अर्जुन गुरुङबीच प्रतिस्पर्धा भएको छ । मतदान सकिएपछि मत गणनाको तयारी भएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
निर्वाचन क्षेत्र २ मा समेत मतदान भएको छ । ५ सय ४४ मतदाता रहेकोमा ५ सय ३९ मत खसेको निर्वाचन अधिकृत गणेश कार्कीले जानकारी दिए । क्षेत्र नम्बर २ मा ४ जना आकांक्षी छन् । देवकृष्ण पराजुली, देवराज आचार्य, नवीन बराल र सुवास सिग्देल प्रतिष्पर्धामा छन् ।
प्रदेश सभा २ (१) मा भोजराज आचार्य र अर्जुन पोख्रेलको उम्मेद्वारी परेको छ । २ (२) मा अमृत शर्मा तिमिल्सिना र दीपेन्द्र मर्सानी मैदानमा छन् । कास्कीको क्षेत्र नम्बर ३ मा प्रकाश बराल र विष्णुबहादुर क्षेत्रीको उम्मेदवारी परेको छ । यस क्षेत्रको प्रदेशसभा १ तर्फ मेखबहादुर तामाङ र शिव तिमिल्सिनाको उम्मेदवारी छ भने ३ (२) मा विजय गुरुङ र लक्ष्मी पौडेल मैदानमा छन् ।
प्रदेश सभा ३ (१) मा केही मतदाताको नामावलीमा नाम छुटेपछि विवाद हुँदा मंगलबार निर्वाचन स्थगित भएको छ । स्थगित निर्वाचन बुधबार १० बजेबाट सुरु हुने निर्वाचन अधिकृत निराजन भण्डारीले जानकारी दिए ।
कास्कीका निर्वाचन संयोजन धनञ्जय पौडेलले कास्कीको ३ (१) बाहेक सबै क्षेत्रमा निर्वाचन भएको जानकारी दिए । ‘३ (१) को स्थगित भयो, प्राविधिक कारणले गर्दा । त्यहाँ भोलि (बुधबार) १० बजेबाट मतदान सुरु हुँदै छ,’ उनले भने, ‘कास्कीमा समग्रमा सौहार्दपूर्ण वातावरणमा निर्वाचन भएका छन् । अब नतिजा बाँकी हो ।’ निर्वाचन क्षेत्र ३ मा १ हजार २ सय ९४ मतदाता छन् ।





