बागलुङ/नेपाली कांग्रेस बागलुङको १५ औं महाधिवेसनअन्तर्गत क्षेत्र नं. १ को क्षेत्रीय तथा प्रदेशसभा अधिवेसन शुरु भएको छ । यो अधिवेसनले वडादेखि पालिका, क्षेत्र, जिल्ला र केन्द्रमा नयाँ नेतृत्वको चयन गर्दैछ । तर अधिवेसनमा नेतृत्व गर्न सबै पछि हटेका छन् ।
यो अधिवेसनले केन्द्रीय महाधिवेसन प्रतिनिधि, प्रदेश महाधिवेसन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति र क्षेत्र नं. १ को क र ख प्रदेश समिति चयन गर्नेछ । तर पहिलो दिनको मनोनयनको क्रममा महाधिवेसन प्रतिनिधिका लागि मात्र यो अधिवेसन गरिएको झै देखिएको छ ।
३० जना भन्दा कम सदस्य रहने क्षेत्रीय समिति र २१ देखि २५ जनासम्म रहन सक्ने प्रदेश कार्यसमितिका लागि कतिपय पदमा उमेदवारी समेत परेको छैन । तर महाधिवेसनका लागि १० जना चाहिने खुलामा समेत २० जना भन्दा बढीको उमेदवारी परेको छ । प्रदेश महाधिवेसन प्रतिनिधिमा पनि आवस्यकता भन्दा दोब्बर उमेदवारी परेको छ ।
पछिल्लो समय बिधानले व्यवस्था गरेको युवा प्रतिनिधिमा पनि महाधिवेसनका लागि प्रतिनिधि जानेका लागि मात्र उमेदवारी परेको छ । तर प्रदेश र क्षेत्रीय कार्यसमितिका लागि युवाहरुले उमेदवारी नै हालेनन् । यति सम्मकी प्रदेश र क्षेत्रीय समितिको सहसचिव तह सम्मको पदमा पनि उमेदवारी परेको छैन ।
यसले कांग्रेसमा युवाहरुले कार्यसमितिमा बसेर काम गर्न चाहेका छैनन् भन्ने देखाउँछ । बरु महाधिवेसन प्रतिनिधि बनेर केन्द्रीय तहमा बार्गेनिङ गर्ने खालको परिस्थितिका लागि सबै भिडेको देखिन्छ । कतिपय नेताहरु महाधिवेसन प्रतिनिधि लड्नका लागि मात्रै जिल्ला आएका छन् भने कतिपयले अपेक्षा गरेकाहरुले उमेदवारी नै दिएका छैनन् ।
विशेष महाधिवेसन बाहेकको इतर पक्ष भनेर छुट्टै कार्यालय खुलेपछि पनि दुइ प्रत्यक्ष धारको उमेदवारी परेको छ । क्षेत्रीय सभापति पदका लागि यस अघिको अधिवेसनमा झिनो मतले पराजित खड्ग थापा र नारायण श्रेष्ठको उमेदवारी परेको छ । अन्य पदको लागि आवस्यक संख्यामा उमेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ ।
क्षेत्रीय अधिवेसनको पहिलो दिनको कार्यक्रम उद्घाटन गर्दै केन्द्रीय सदस्य चम्पादेवी खड्काले कांग्रेसमा पुस्तान्तरणको युग शुरु भएको बताइन् । उनले यो महाधिवेसनले युवालाई प्रतिनिधित्वमा लैजाने भन्दै एकैपटक सयौं युवाले नेतृत्वगर्ने अवस्था आएको बताइन् । तर उमेदवारीले भने त्यो देखाएको छैन ।
क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माको सभापतित्व, प्रदेश ‘क’ का सभापति हरिबहादुर जिसी सन्तोषको स्वागत र सचिव जयराम भारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
अधिवेसनमा केन्द्रीय सदस्यहरु जगदिशचन्द्र उपाध्याय, भीमबहादुर श्रीष राना, पुर्व केन्द्रीय सदस्य रत्ना शेरचन, पुर्व सभापति हरिप्रसाद श्रेष्ठ, पुर्व सांसद टंक कंडेल, गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, जिल्ला सचिव हरिहर शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त अबसरमा क्षेत्रीय कार्यालय स्थापनाका लागि सहयोग गर्ने दातालाई सम्मान पनि गरिएको थियो ।





