धनराज आचार्य
मेयर, पोखरा महानगरपालिका
लामो समयको पहल, प्रयास र निरन्तर संवादपछि पोखरा–दुबई नियमित उडान सुरु भएको छ। यो पोखरा र समग्र गण्डकी प्रदेशका लागि महत्वपूर्ण अवसर हो। तर, यो उडानलाई नियमित र सफल बनाउन सकिएन भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन र विस्तारमा आगामी दिनमा थप चुनौती आउन सक्छ। त्यसैले अहिलेको समय हाम्रो लागि अवसर पनि हो र जिम्मेवारी पनि।
सम्बन्धित सबै पक्ष—सरकारका तीनै तह, निजी क्षेत्र, पर्यटन व्यवसायी, नागरिक समाज तथा आम यात्रुहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक पहल गर्न जरुरी छ। अहिले पहल गर्न सकिएन भने पछि “त्यतिबेला गर्न सकेको भए हुन्थ्यो” भनेर पश्चात्ताप गर्नुको अर्थ रहने छैन। यसका लागि पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रबाट गर्नुपर्ने कामहरू पहिचान गरी योजनाबद्ध रूपमा काम गरिरहेको छ। प्रदेश तथा संघीय सरकारले पनि आ–आफ्नो जिम्मेवारीअनुसार आवश्यक सहजीकरण गर्नुहुनेछ भन्ने अपेक्षा छ। नागरिक तथा व्यावसायिक क्षेत्रबाट पनि आवश्यक पहल हुने विश्वास लिएका छौँ।
आगामी ३–४ महिना विशेष प्राथमिकताको समय:
सुरुआती चरणमा अबको ३–४ महिनालाई विशेष प्राथमिकताका साथ लिएर पोखराबाट दुबई जाने तथा दुबई हुँदै विश्वका विभिन्न गन्तव्यमा जाने यात्राको योजना बनाउन आवश्यक छ। यसका लागि
१. पोखराबाट यात्रा गर्न आह्वान
पोखराका साथै धौलागिरी, चितवन/भरतपुर, बुटवल लगायत पोखरा हुँदै यात्रा गर्न सक्ने सबै दाजुभाइ, दिदीबहिनी, साथीभाइ तथा इष्टमित्रहरूलाई सम्भव भएसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी यात्रा गर्न सबैले हार्दिक आह्वान गरौ।
२. भाडा दर
एयरलाइन्सबाट प्राप्त जानकारीअनुसार काठमाडौंको तुलनामा पोखराबाट हवाई भाडा सस्तो रहेको अवस्था रहेको छ। त्यसैले यात्रा गर्नुअघि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीमार्फत भाडा तथा उडानको विवरण बुझ्न अनुरोध गरौ।
३. भिसा तथा पुलिस रिपोर्टमा सहजीकरण
भिसा तथा पुलिस रिपोर्टलगायत आवश्यक प्रक्रियामा यात्रुहरूलाई सहजता प्रदान गर्ने विषयमा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहजीकरणको काम भइरहेको छ।

४. भारतीय यात्रुका लागि सहजीकरण
भारतीय नागरिकहरूका लागि आवश्यक पर्ने No Objection Letter पोखरा पेन्सन क्याम्प कार्यालयबाटै उपलब्ध गराउन सकिएमा यात्रामा थप सहजता हुने भएकाले यस विषयमा सम्बन्धित दूतावाससँग आवश्यक अनुरोध गरिएको छ।
५. पोखरामा Flydubai को विशेष डेस्क
सुरुआती केही महिनामा पोखराबाट जाने यात्रुको बुकिङ बढाउन तथा यात्रुहरूलाई आवश्यक जानकारी र सहजीकरण प्रदान गर्न Flydubai ले पोखराको पुरानो विमानस्थल अगाडि कार्यालय स्थापना गरी Pokhara–Dubai Desk सञ्चालनमा ल्याएको छ।
सम्पर्क अधिकारी: लिना महर्जन
9856020000 / 9714592030
त्यसै गरि यात्रा को योजना प्याकेज तथा सबैखाले सहजिकरणको काम नेपाल टुर्स एण्ड ट्राभल्स एसोसिएसन (नाटा )ले गण्डकी प्रदेश र अरु वरपरका ब्यबसायि र यात्रु हरुलाई सहजजिकरण गर्न पोखरा ६ जरेवर,स्थित आफ्नो कार्यालयमा डेडिकेटेड डेक्स र स्टाफ ब्यबस्थापन गरेको छ यस अफिस सम्पर्क ब्यक्ति
061-453114- अफिस
9856063114 – मोबाइल
सम्पर्क ब्यक्ति – प्रमोद सापकोटा
पोखरामा रहेका करिब २ दर्जन टुर्स एण्ड ट्राभल्स ले टिकट भिसा तथा पुलिस रिपोर्ट र,प्याकेज मा काम गरिरहनु भएको छ। हामी सबैले आफुलाई पायक पर्ने स्थान बाट यात्राको तयारी गर्न सक्छौ।
समूहगत तथा व्यावसायिक यात्राका लागि विशेष सहुलियतको व्यवस्था गर्न पनि अनुरोध गरिएको छ। त्यसैले विभिन्न संघसंस्था, व्यवसायिक समूह, कम्पनी तथा साथीहरूको समूह बनाएर दुबई भ्रमण तथा अन्य अन्तर्राष्ट्रिय यात्राको योजना बनाएर यो अभियान लाई साथ दिन आह्वान गर्ने।
मित्रहरू, मैले यस विषयमा भएका आलोचना, प्रश्न र खिसीट्यौली सबै देखेको र बुझेको छु। तर, अहिलेको विषय कुनै व्यक्ति वा संस्थाको पक्ष–विपक्षको विषय होइन। यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यसँग जोडिएको विषय हो।
अहिले सुरु भएको नियमित अन्तर्राष्ट्रिय उडानलाई सफल र दिगो बनाउन हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न आवश्यक छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि स्थापित भएको हो र यसको सम्भावना तथा उपयोगिता प्रमाणित गर्न अहिलेको अवसरलाई गम्भीरतापूर्वक सदुपयोग गर्नुपर्छ।
सक्ने र अनुकूल हुने साथीहरूले समूह बनाएर पोखरा–दुबई यात्रा गरौँ। पोखराबाट यात्रा गरौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सफल बनाउने अभियानमा सहभागी बनौँ। पोखरा तपाईं–हामी सबैको हो। यसको अन्तर्राष्ट्रिय भविष्य पनि हामी सबैको साझा जिम्मेवारी हो।




