आइतबार, असोज १८ २०८३

आइतबार, असोज १८ २०८३
  • १८ असोज २०८३ , आइतबार
  • October 4 2026

चौतर्फी संकटमा मनाङी

चौतर्फी संकटमा मनाङी

प्राकृतिक विपत्तिको मार खेपिरहेका मनाङीले चाँडै सडक सञ्चालन नभए खाद्यान्न संकट पनि झेल्नुपर्ने अवस्था आउन सक्छ ।


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८३, बिहिबार

पोखरा/असोज ८ देखि १२ गतेसम्मको मौसमी विपद्को मार अन्यत्र कम भए पनि मनाङबासी अझै चौतर्फी संकटमा छन् । मनाङको सदरमुकाम चामे बजार अझै नदीको जोखिममा छ । ताल गाउँमा मस्र्याङ्दीले डुबाएका घरहरुबाट पानी हटे पनि त्रास कायमै छ ।

बाढी, पहिरोका कारण मनाङमा बिजुली छैन । सडक बन्द हुँदा आउजाउ पनि असहज भएको छ । मनाङमा रहेको विमानस्थलमा अहिले उडान हुँदैन भने लमजुङको बेंसीसहर हुँदै जाने सडक मार्ग ठाउँ ठाउँमा अवरुद्ध छ । बाटो अवरुद्ध हुँदा खाद्यान्नसहितका अत्यावश्यक सामग्रीको अभाव हुने अवस्था सिर्जना भएको छ ।

चामेमा ठाडो खोलाले मस्र्याङ्दी थुन्दै बनेको बगर हटाउन मंगलबारबाट २ एस्काभेटर चलाए पनि इन्धनको अभाव हुने अवस्था आएको छ । जिल्ला प्रहरी कार्यालय मनाङकी प्रहरी नायब उपरीक्षक कोपिला चुडाल मंगलबार हेलिकोप्टरमा सहयोग मागेर कार्यालयमा हाजिर भइन् ।

उनी भन्छिन्, ‘यहाँको अवस्था निकै नाजुक छ । बस्तीभन्दा अग्लो बगर बन्दै चामेका घरहरु जोखिममा छन् । पानी, बिजुली नहुँदा दैनिक कार्यसम्पादनमै कठिनाइ भएको छ ।’ गएको आइतबार आएको मनाङको हिम्लुङ हिमपहिरोमा हराएकामध्ये थप तीन जनाको शव बुधबार फेला परेको छ ।

हमपहिरोमा परी मृत्यु भएका चार जनाको शव यसअघि भेटिएकोमा अझै नौ जना सम्पर्कविहीन छन् । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलल बुधबार पौने ५ बजे हिम्लुङ आधार शिविरबाट तीन शव चामे ल्याइएको जानकारी दिए । ‘अहिले तीन शव ल्याइएको छ, ती शव बिहीबार बिहान त्रिवि शिक्षण अस्पताल काठमाडौं लगिँदै छ,’ पौडेलले भने ।

बुधबार गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ का ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय सुरज राई र रुकुमको साविक हुकाम गाविस वडा नम्बर ७ का ५७ वर्षीय कलम बुढाको शव भेटिएको हो ।

हिमपहिरोमा अझै हिमालयन होलिडे कम्पनीका बिर्खध्वज तामाङ, जगत तामाङ, लकबहादुर गुरुङ, नग्मा दोर्जे, पासाङ नुरी शेर्पा, सन्तवीर तामाङ र उक्रध्वज तामाङ सम्पर्कमा छैनन् । हिम्लुङ हिमपहिरोमा इक्पिडिसन इमाजिन कम्पनीका कृते गुरुङ पनि सम्पर्कविहीन छन् ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसियसनको उद्धार टोलीले शव फेला पारेको हो । एसोसियसनका अध्यक्ष तुलसिंह गुरुङले बुधबार तीन शव भेटिएको जनाउँदै खोजी अभियान जारी राखिने जानकारी जनाए । माथिको भिरालो भूभागबाट एक्कासि हिमपहिरो आउँदा टोलीका सदस्यहरु पुरिएको अध्यक्ष गुरुङले सुनाए ।

‘हिमपहिरोबाट आज तीन शव निकालेका छौँ । पहिरामा हराएकाहरुको खोजीमा सबै समथ्र्यसहित लागेका छौं,’ उनले भने, ‘बिहीबार पनि खोजी जारी राख्छौँ ।’ यसअघि आइतबार सङ्खुवासभाको भोट खोला गाउँपालिका–३ का छेवी भोटे र सङ्खुवासभाकै भोटखोला–२ का पासाङ भोटेको शव भेटिएको थियो । सोमबार गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय वीरेन्द्र गुरुङ र खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ९ का घनश्याम राईको शव फेला पारिएको थियो । मनाङको नार्पाभूमी गाउँपालिका वडा नम्बर ५ को हिमलुङ हिमाल सगरमाथा आरोहणअघि चढिने लोकप्रिय हिमाल हो ।

क्षति हेर्न पुगे मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बाढी, पहिरोबाट प्रभावित मनाङको स्थलगत अवलोकन गरी नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिए । उनी बाढी, पहिरोको क्षति हेर्न होलिकोप्टरबाट मनाङ गएर पोखरा फर्किएका हुन् । मुख्यमन्त्री पाण्डेले स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति तथा प्रदेश मातहतका कार्यालयका प्रमुखहरूसँग छलफल गरेका छन् । बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन आवश्यक कार्य तत्काल अघि बढाउने विषयमा छलफल छलफल भएको छ ।

स्थानीय तह र प्रदेश सरकारको स्रोत तथा क्षमताले तत्काल गर्न सकिने काम अघि बढाउने र सम्भव नहुने ठूला तथा दीर्घकालीन कामका लागि सङ्घीय सरकारसँग समन्वय गरिने मुख्यमन्त्री पाण्डेले बताए ।

उनले भने, ‘अहिलेको प्राथमिकता प्रभावित नागरिकको जीवन सहज बनाउने, अवरुद्ध सडक तथा पूर्वाधार सञ्चालन गर्ने र आवश्यक राहत तथा पुनःस्थापनाको व्यवस्था गर्ने हो ।’ चाडपर्वको समय पनि नजिक रहेकाले स्थानीयको दैनिकी सहज बनाउन तत्काल गर्नुपर्ने कामलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले मंगलबार बागलुङ, म्याग्दी, पर्वत जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्र अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->