पोखरा/मनाङमा हिमपहिरोमा परि बेपत्ता भएका मध्ये थप आठ जनाको शव फेला परेको छ । मनाङको हिमलुङ हिमाल हिमपहिरोमा परि १६ जना वेपत्ता भएका थिए । बिहिबार आठ जनाको शव फेला परेसंगै मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन टोलीले हराइरहेकाहरूको खोजी गरिरहेको छ । सोही टोलीले बिहिबार चार शव फेला पारेको हो । पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धारको काम जारी राखेको थियो । एसोसिएसनको अनुसार खोजीको क्रममा थप चार शव फेला परेको हो ।
हिमपहिरोमा ज्यान गुमाउने १५ जना नै नेपाली हुन् । यहि असोज ९ गतेको प्रतिकूल मौसमपछि सो हिमालमा हिम पहिरो आएको थियो ।
बेपत्ता भएका खोटाङ ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका २१ वर्षीय सुरज राईको शव फेला परेको छ । राईका बडाबाबु ४४ वर्षीय घनश्याम राईको पनि त्यही हिमपहिरोमा परी ज्यान गएको छ । राईको परिवारकै जेठा दाजु ५१ वर्षीय युवराज राई र अन्तरे भाइ ३८ वर्षीय यसबहादुर राई भदौ १० गतेको भोटेकोशी बाढीमा परी बेपत्ता छन् । हिमलुङ हिमपहिरोमा दुईको मृत्यु र भोटेकोशी बाढीमा दुई जना बेपत्ता भएपछि राई परिवार विक्षिप्त छन् ।
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार असोज १४ गते सुरज सहित गोरखाको धार्चे गाउँपालिका–२ केरौंजाका ५८ वर्षीय आश गुरुङ र रुकुम हुकामका ५७ वर्षीय कलम बुढाको शव फेला परेको हो । उनीहरूको शव मनाङ सदरमुकाम ल्याइएको छ ।
प्रशासनका अनुसार तीनै जना हिमालयन होलिडेजसंग आबद्ध थिए । हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ऐसेलुखर्ककै ४२ वर्षीय लककुमार गुरुङ सहित अन्य ९ जना अझै बेपत्ता छन् । बेपत्तामध्ये हिमालयन होलिडेजका ७ र इम्याजिन नेपालका २ जना छन् ।
गत असोज १२ गते घनश्याम र वीरेन्द्र गुरुङ तथा असोज ११ गते छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो । गत असोज ११ गते विहान हिमपहिरोमा परी ज्यान गुमाउने खोटाङ ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका ४४ वर्षीय घनश्याम राई र विरेन्द्र गुरुङको शव असोज १३ गते काठमाडौं ल्याइएको थियो ।





