आइतबार, असोज १८ २०८३

आइतबार, असोज १८ २०८३
  • १८ असोज २०८३ , आइतबार
  • October 4 2026

फिर्केमा फेरी चल्यो डोजर

फिर्केमा फेरी चल्यो डोजर


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०८३, शुक्रबार

पोखरा/पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर भित्र रहेका अतिक्रमित संरचना हटाउन फेरी डोजर चलाएको छ । एक हप्ताअघि सात दिने सुचना जारी गरेको महानगरपालिकाले मिति सकिएलगत्तै बिहिबारबाट डोजर लगाइ खोलाघरका संरचना भत्काउन सुरु गरिएको हो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले व्यक्तिको संरचना भत्काउन समय दिएको र त्यो सकिएसंगै नभत्काएका संरचना महानगरपालिकाले भत्काउन सुरु गरेको बताए । उनका अनुसार महानगरपालिकाले केही संरचना हटाइसकेपछि सम्बन्धित घरधनी तथा संघ–संस्थाहरूले आफ्नै तर्फबाट संरचना हटाउन समय उपलब्ध गराइदिन गरेको अनुरोध पछि समयसीमा तोकी आफैं संरचना हटाउने समय दिएको थियो ।

तर, तोकिएको समयसीमा, थप गरिएको समय तथा भोटेकोशीमा आएको बाढी र बर्खालाई ख्याल गर्दै पुनः म्याद दिएको बताएका छन् । सामाजिक सञ्जालमार्फ जानकारी दिदैँ मेयर आचार्यले समन्वय र समझदारी गर्नका लागि आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘आज आश्विन १५ गतेदेखि महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बाँकी रहेका संरचनाहरू आफैं हटाउने कार्य अघि बढाएको छ । फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्र संरक्षण, बाढी तथा डुबानको जोखिम न्यूनीकरण र सुरक्षित तथा व्यवस्थित पोखरा निर्माणका लागि सञ्चालन भइरहेको यस अभियानमा सम्पूर्ण छरछिमेकी, स्थानीय बासिन्दा तथा सम्बन्धित सबै पक्षबाट आवश्यक सहयोग, समन्वय र समझदारीका लागि हार्दिक अनुरोध गर्दछु ।’

गएको जेठ १० गते फिर्केमा एकैपटक ३ ठाउँबाट डोजर चलाएर अभियानको सुरुवात गरेको थियो । महानगरपालिकाको रेकर्डअनुसार फिर्केका १६० खोलाघरका संरचनामा डोजर चलाएको थियो । १६० मध्ये ५८ वटा संरचना अझै पूर्ण रुपमा भत्काउन बाँकी रहेको छ । यस्तै २९ वटा संरचना पूर्ण रुपमा घरधनी आफैँले भत्काउन सुरु गरिसकेका छन् । २२ वटा संरचनामा कुनै काम भएको छैन् । २५ वटा स्थायी र २६ वटा अस्थाई संरचना समेत हटाउन बाँकी रहेका छन् । ३३ वटा हटाइएको छ भने ५ वटा कम्पाउन्ड वाल भत्काउन बाँकी रहेको छ ।

फिर्के करिडोर निर्माणका लागि २०८० सालमा पोखरा महानगरपालिकाले बासुदेव पौडेल नेतृत्वमा ३२ दिन लगाएर फिर्केखोलाको सर्भेक्षण गरेको थियो । सर्भेक्षणका क्रममा फिर्केखोलालाई अतिक्रमण गरेर तीन मिटर ३० सेन्टिमिटरसम्म खुम्चाएको भेटिएको थियोे । यस्तै खोला अतिक्रमण गरेर व्यक्तिगत र संस्थागत गरि एक सय ६० वटा संरचना निर्माण गरेको पाइएको थियो । तीमध्ये खोलाका दायाँबायाँ व्यक्तिगत ३५ वटा स्थायी संरचना निर्माण गरिएका छन । व्यक्तिगत नै अस्थायी ९७ वटा संरचना निर्माण भएको फिर्केखोला सीमांकन टोलीले भेट्टाएको छ । संस्थागत रुपमा भने १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएका छन् ।

पोखरा–१८, सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएको फिर्केखोला प्रस्याङ, सिद्धार्थचोक, मालेपाटन, मासबार, बैदाम हुँदै फेवातालमा मिसिन्छ । खोलाले महानगरका वडा नम्बर–१८, २, ४, ५, ६, ७ र ८ लाई छुन्छ । आठ किलोमिटर लामो खोला चारदेखि ३४ मिटरसम्म चौडाइमा फैलिएको छ । मुहानदेखि सात किलोमिटर अघि बढेपछि मालपोत कार्यालयभन्दा केहीमाथि गैरीखेतमा बुलौँदी खोला मिसिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->