हिजोआज १६ वर्षको उमेरका केटाकेटीले के गर्छन् होला ?
कम्तीमा पनि एस.ई.ई पार गरी प्रमाणपत्र तह अध्ययन गर्दै हुन्छन् । कोही विश्वविद्यालय भर्ना हुने तरखरमा हुन्छन् । तर घम बहादुर भण्डारी ती व्यक्ति हुन्, जसले १६ वर्षको उमेरमा पहिलोपटक विद्यालयको आँगन टेक्ने सौभाग्य पाए । राणा शासनको अन्त्य भएसँगै शिक्षा क्षेत्रमा पनि परिर्वतनको लहर चल्दै थियो । बोबाङका होमबहादुर अदै भारतीय सेनाबाट अवकाश पाएपछि घर फर्किएका थिए । उनले सेनामा रहँदा नेपाली, अंग्रेजी, हिन्दी पढ्न लेख्न जानेका थिए । शिक्षामा चेत भएका उनले गाउँका केटाहरुलाई जम्मा गरी नुलेस्थित आफ्नै गोठमा सामान्य लेखपढको व्यवस्था मिलाएका थिए । पछि बोबाङका स्थानीयले हाल ज्ञानोदय मावि रहेको स्थानमा झारा गरी सामान्य छाप्रो निमार्ण गरे । उक्त छाप्रो वि.स. २०१४ सालमा ज्ञानोदय प्राथमिक विद्यालयमा परिणत भयो । अनि विधिवत रुपले अध्यापन कार्य सुचारु भयो ।
घम बहादुर उमेरले ८१ वर्ष । अधिकांश समय ढोरपाटनको पाखाथरमा बस्छन् । हिउँदको समय हिउँदको समय पर्ने भएकाले केही दिन बोबाङ झर्छन् । बिहान सबेरै घरमा पालेको घोडा जंगल लैजान्छन् । पनातिसँग रमाउँछन् । आफन्तहरुसँग गफ गर्दै गरेको भेटिन्छन् । इष्टमित्र आफन्तहरुसँग भेटघाट गर्दै गफगाफ गर्नु उनको दैनिकी हो । उनको बाल्यकाल त्यति सहज थिएन । सजिलै स्कुल टेक्न पाएका होइनन् । पारिवारिक पेशा कृषि अनि पशुपालन थियो । बुवा गंगविर भण्डारीले भँैसी र गाई पालेर जीविका चलाउँथे । उनी माथिको दाईले स्कुल पढ्थे । दाइको पाटीमा अक्षर चिन्ने मौका पाए । पाटीमै खरीले क ख लेख्न सिके । दाइले पढाइमा मन नगरेपछि बुवा गंगविरले उनलाई १६ वर्षको उमेरमा विद्यालय भर्ना गरिदिए । त्यसपछि दाई गाई गोठाला भए ।
उनी भन्छन्, “गोठालो लागि वर्षात्मा बुकी मुर्चुला, ढोर अनि हिउँदमा बोबाङ गर्नुपथ्यो । ३५ वटासम्म गाईको गोठाला गरे । दाइले पढाई लेखाइमा रुचि नदेखाएपछि मैले मौका पाएको हुँ । दाईले पढेको भए मैले गोठालो जिन्दजी बिताउँदो रैछु ।” विद्यालय गएको केही दिनमा परीक्षा भयो । घरमै दाइसँग पढ्न लेख्न जानेकाले परीक्षामा राम्रो गरे । मास्टर होमबहादुरले ३ कक्षामा राखिदिए । जेठमा आन्तरिक परिक्षा गरेपछि ४ कक्षामा गए । उमेर छिप्पिएकाले राम्रो गर्नुपर्छ भन्ने लागेको थियो । दियाँलो, भाँङको बाप्ला, मकैको डाँठ बालेर कडा मेहनत गरेर पढे । असार र साउनमा दुई महिना वर्षे बिदा हुन्थ्यो । बिदाको समयमा उनी ढोरपाटनको भोटे स्कुलमा गई पढे ।
भोटे स्कुलमा हिउँदमा बिदा हुन्थ्यो । वर्षात्मा पढाई । काठमाण्डांैबाट आएका योग्य शिक्षकहरुले पढाउने भएकाले टाढाटाढाका विद्यार्थी समेत आउँथे । दुई महिनापछि परीक्षा दिए । उनी पाँच कक्षामा गए । तर बोबाङका हेड मास्टर होमबहादुर अदैले आफ्नो विद्यार्थीले भोटे स्कुलमा पढ्न नपाउने भनेपछि उनी बोबाङ झरी चार कक्षामा पढ्न थाले ।
घम बहादुर भन्छन्, “भोटे स्कुल तिब्बतीयन (भोटे) हरुको लागि खोलिएको थियो । बोबाङको स्कुलमा भन्दा विद्यार्थी धेरै हुन्थे ।” बोबाङमा होम बहादुरबाहेक प्युठानका दान बहादुर केसी र अमराईबाट आएका चन्द्रबहादुर बलामीले पढाएको उनलाई सम्झना छ । ५ कक्षा पास भएपछि ६ पढ्न भुजि मावि अधिकारीचौर गए । स्कुल सञ्चालन सँगै भएपनि भुजि माविले आठ सम्मको मान्यता पाएको थियो । बोबाङले भनेपछि मान्यता पाएको हो । उनीसँग पढ्न उनको एक जना छिमेकी गएका थिए । छिमेकी एक हप्तापछि घर फर्किए । घम बहादुरले मेहनतसाथ छात्रबासमा बसी ३ वर्ष पढे । वि.सं. २०२६ सालको पुस महिनामा २४ वर्षको उमेरमा उनले ८ कक्षा उत्तिर्ण गरे । ‘‘म सहित अन्य १४ जना थिए । कतिले मास्तरी गरे । धेरैजसो बितिसके । एकजना नाथुरीका यमलाल कँडेल जिउँदै छन् । उनले जागिर खाएनन् भैंसी पालि बसे । उनी र म मात्रै छौं हाम्रो व्याजी’’ अधिकारीचौर पढ्दाका दिनहरु स्मरण गर्छन् घम बहादुरले ।
८ कक्षा उत्र्तिण गरेपछि उनका गुरु होमबहादुर अदैले सोही वर्ष क ख ग सिकेको विद्यालय ज्ञानोदय मावि बोबाङमा शिक्षक नियुक्त गरिदिए । तलब थियो प्रतिमहिना रु. ६० । स्थानीयले चन्दा उठाएर तलब खुवाउँथे । उनले १३ वर्षसम्म मासिक ६० रुपैयाँमा पढाए । वि.सं. २०३९ मा तत्कालिन श्री ५ सरकारले अस्थायी शिक्षकलाई स्थायी गर्ने नीति लियो । सरकारले शिक्षकहरुलाई रेडियो वितरण ग¥यो । सरकारको उद्देश्य शिक्षक उत्पादन गर्नु थियो । रेडियो सुनेर पढ्ने काम गरे । बागलुङ गई परीक्षामा पास भएपछि स्थायी भए । स्थायी भएपछि तलब ६० बाट बढेर १६० भयो । स्थायी भएपछि भूजी महावीर प्रावि चौरमा दुई महिना पढाए । घरपाई नपर्ने भएकाले पुनः बोवाङ सरुवा भए । लामो समय ज्ञानोदय माविको नेतृत्व गरे । निकै कठिनाइको सामना गर्दै एस.एल.सी.सम्म पु¥याए । दुई व्याच एस.एल.सी. ग्रुपलाई पढाए । वि.स. २०५९ फागुन अन्तमा स्वैच्छिक अवकाश लिई विद्यालयवाट बिदा भए । अहिले १२ कक्षासम्म पढाई हुन्छ । वलाङको छाप्रोबाट सुरु भएको विद्यालय ढुङ्गाको छानो हुँदै बडेमानको पक्की भवनमा परिणत भैसकेको छ । छाप्रोबाट बडेमानको पक्कि भवन बन्नमा घम बहादुरको अतुलनीय योयदान छ । उनले हजारौं विद्यार्थीलाई ज्ञानको ज्योति छरे । कैयन राष्ट्रसेवक कर्मचारी, शिक्षक उत्पादन गरे ।
उनी भन्छन्, “मैले पढाएका विद्यार्थीहरुले धेरैले आ–आफ्नो क्षेत्रमा प्रगति गरेका छन् । राम्रो गर्नेमा अधिकांश मैले जस्तै शिक्षक बनेर पढाएका छन् । देशविदेशमा नाम दाम कमाएकाहरु पनि धेरै छन् । निजामतीमा भने कमै छन् । समाजसेवामा लागेर वडा अध्यक्ष भएकाहरु छन् । ढोरपाटन नगरपालिकाको वर्तमान अध्यक्षहरु धन बहादुर अदै, खिम बहादुर घर्ती, निवर्तमान अध्यक्ष दिपक थापा र हरी घर्तीमगरलाई मैले नै स्कुलमा पढाएको हुँ ।”
बुढ्यौलीले छोएसँगै उनको स्मरणशक्ति कमजोर हुँदै गएको छ । उनी बल गरेर सम्झने कोसिस गर्छन्, केही बेर रोकिएपछि “अहिलेको कार्यबहाक मेयर कल्यान पनि मेरै चेला हुन् । सुरक्षातर्फ करबहादुर घर्ती मगर सशस्त्र प्रहरीको प्रहरी नायव उपरीक्षक भएका छन् भन्ने सुन्छु । एकपटक काठमाण्डौंमा भेटेको थिए ।” उनले पढाएका चेलाहरुको उन्नति देख्दा उनी हर्षविभोर हुन्छन् । आफ्नो ठाउँका राष्ट्रिय स्तरको नेता नहुँदा विकासमा पछि परिएको महसुस गर्छन् ।
“विकास नभएको भने होईन । अरु ठाउँको तुलनामा हामी पछि छौं । हाम्रो ठाउँ पछि हुनु भनेको हाम्रा भावी सन्ततिले दुःख पाउनु हो ।” उनी भन्छन् । गाईभैसी, भेडाबाख्रा चरन क्षेत्र ढोरपाटनका पछिल्लो समयको चहलपहल उनलाई अनौठो लाग्छ । भन्छन्, “मैले थाहा पाउँदा ढोरमा एउटा पनि ढुङ्गाको घर थिएन । काठले छाएका धुपीले बारेको साना गोठहरु मात्रै थिए । हेर्दाहेर्दै ढोर त बजार बन्न थाल्यो ।”
बागलुङ बजारमा मोटरगाडी देखेका उनी गाउँगाउमा मोटरगाडी गुडेको देख्दा दङ्ग हुन्छन् । तलब लिनलाई सदरमुकाम बाग्लुङ आउजाउ पाँच दिन लगाएका उनी अहिले घरमै सुरक्षा भत्ता र पेन्सनबापत प्राप्त हुने रकम बुझ्छन् । छोराहरुले काठमाण्डौं बडेमानको घर बनाएका छन् । उनलाई काठमाण्डांै बिरानो ठाउँ जस्तो लाग्छ । चिनेजानेका कोही हुँदैनन् । छरछिमेकीे तथा आफन्तसँग भेटघाट गर्न नपाउँदा उनलाई छटपटी हुन्छ । त्यसैले काठमाण्डौं बस्न रुचाउँदैनन् ।
उमेरले आठ दशक नाघेपनि उनलाई कुनै दीर्घरोगले छोएको छैन् । जरो आएको बेला सितामोल बाहेक कुनै ओखती सेवन गर्दैनन् । जाँगर चलेको बेला पैदल ढोर–औल गर्छन् । भन्छन्, “पैदल यात्रा गर्दा पुराना दिनहरुको याद आउँछ । गत फागुनको चुनाव बेला हिंडेरै बोबाङबाट पाँच घण्टामा ढोरपाटन पुगे ।”
जीवनका अमूल्य ३३ वर्ष उनले शिक्षण पेसामा समर्पित गरे । विगत र वर्तमानलाई दाज्दै घम बहादुर भण्डारी भन्छन्, “कुनै बेला मासिक ६० रुपैयाँ तलबले जीवन गुजारियो । अहिले मासिक २० हजार ८०० रुपैयाँ रुपैयाँ पेन्सन आउँछ तर खर्च गर्ने ठाउँ नै छैन । के मा खर्च गर्नु र ! सबै समयको खेल न रहेछ ।”




