तस्बिर : उषा पौडेल
बागलुङ/साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले दशै, तिहार र छठ लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको १० दिनमा झण्डै २३ लाख रुपियाँको दैनिक उपभोग्य वस्तु बिक्री गरेको छ ।
गत असोज ५ गतेदेखि सञ्चालनमा आएको सुपथ मुल्य पसलबाट दश दिनभित्रै १८ हजार १ सय ४ किलो चिनी, १३ हजार ६ सय ४२ किलो नुन, ४ सय ८२ लीटर तेल, ७ सय २३ प्याकेट आँटा लगायत सामान बिक्री भएको हो ।
यो अवधिमा ४ हजार ३ सय जनाले सेवा पाइसकेको कर्पाेरेसनका प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिए । हरेक दिन ५ सय हाराहारीले सामान किनेर लगेको तथ्यांक छ । बजारभन्दा सस्तो मूल्यमा सामाग्री बिक्री गरिएकोले उपभोक्ताले सहज सेवा पाएका छन् ।
दशै, तिहार, छठ जस्ता चाडलाई लक्षित गरेर कर्पोरेसनले आम नागरिकलाई सस्तोमा सामग्री बिक्री गरेको हो । हरेक वर्ष यस्तै सेवा दिएको कर्पोरेसनले यो पटक तेल र आँटा पनि बिक्रीमा ल्याएको श्रेष्ठले बताए ।
बागलुङ बजारमा १ सय १५ रुपियाँ सम्ममा बिक्री भैरहेको चिनी कर्पोरेसनले १ सय रुपियाँमा दिएको छ । पछिल्लो समय सडक अवरुद्व भएको, मालढुंगाको पुल नबनेको जस्ता कारणले ढुवानीमा समस्या भैरहेको छ । तर कर्पोरेसनले बेनीबाट घुमाएर ल्याएर पनि सस्तो मूल्यमा सामान दिने श्रेष्ठले जानकारी दिनुभयो । चाडपर्वमा बजारमा कृतिम अभाव हुने, महंगी बढ्ने जस्तो समस्या समाधानमा यो विधि लगाइएको हो ।





