पोखरा/सामाजिक सञ्जाल टिकटकमा ५ सय रुपैयाँको कपडा किन्ने क्रममा ४ लाख रुपैयाँभन्दा बढी ठगी भएको छ । कास्कीकी एक महिलाले सन्ध्या कलेक्सन३५ नामक टिकटक आइडीमा महँगो कपडा ५ सय रुपैयाँमा देखेपछि अर्डर गरेकी थिइन् ।
त्यसरी सस्तोमा कपडा अर्डर गर्ने क्रममा उनको खातामा रहेको ४ लाख ४२ हजार गुमेको थियो । ती महिलालाई ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । उक्त आइडीमा विशेष गरी महिलाका कपडाहरु राखिएको छ । महँगा कुर्ता, साडी लगायतका कपडा अति नै सस्तोमा पाउने र नेपालभर डेलिभरी दिने भन्दै ह्वाट्सएपमार्फत कुरा गरी अर्डर गर्न लगाई ओटिपी मागेर ठगी भएको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वीरेन्द्रकुमार पासवानले ठगी अभिययोगमा पक्राउ पर्ने धनुषाका किशोर रहेको पुष्टि गरे । उनले १७ वर्षीय बालकले सन्ध्या कलेक्सन ३५ नामक टिकटकबाट ठगी गरेका हुन् । धनुषाको जनकनन्दिनी गाउँपालिका १ का ती किशोरको नाम सार्वजनिक गरिएको छैन ।
‘ओटिपी कोर्ड मागेर ठगी गरेको देखिन्छ । हामीले फरेन्सिक परीक्षणका लागि पठाएका छौं । अहिले एकै महिलाबाट चार लाख ४२ हजार रुपैयाँ ठगी भएको छ । अन्य पनि ठगिएको हुन सक्छ’, पासवानले भने, ‘उहाँले पाँच सय रुपैयाँको कपडा किन्नुभएको रहेछ ।’
ती बालकलाई कास्की प्रहरी र साइबर ब्युरो काठमाडौंको टोलीले धनुषाबाट पक्राउ गरेको हो । उनको साथबाट सामसुङको ट्याब एक थान, वाइफाइ राउटर र मोबाइल दुई थान बरामद भएका छन् । ती बालकले सिद्धार्थ बैंक, गरिमा बैंक र एनएमबी बैंकमार्फत् रकम लिने गरेका थिए भने इसेवामार्फत समेत ठगी गर्ने गरेको पाइएको छ । ‘यसमा कति जना ठगिनुभएको छ भन्ने अहिले नै यकिन भएको छैन । फरेन्सिक रिपोर्टबाट पनि केही कुरा खुल्न आउला । यो आइडीबाट कोही ठगिनु भएको छ प्रहरीको सम्पर्कमा आउनुहोला’, पासवानले भने ।





