पोखरा / विशेष महाविधेशनमार्फत संस्थापन बनेको गगन थापा नेतृत्वको नेपाली कांग्रेस अहिले १५औँ महाधिवेशनको माचोमा छ। नेतृत्वबाट किनारीकृत शेरबहादुर देउवाचाहिँ एउटा सानो समूहसहित विशेष महाविधेशन अवैध करार गर्दै अदालतको आदेश पर्खिरहेका छन् र मंसिरमा नियमित १५औँ महाविधेशन गर्दै छन्।
हिजो देउवाको साथमा रहेकाहरू अहिले ‘बदलिएको कांग्रेस’मा छन् र महाधिवेशनमार्फत आफ्नो पद, भूमिका र भविष्य बदल्ने दाउ हेरिरहेका छन्।
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस, अबको विकल्प’नारासहित काठमाडौँको खुलामञ्चमा आयोजित १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु हुँदा सभापति गगन विशेष महाधिवेशनका बेला आफूलाई साथ दिने र अन्य समूह छाड्दै मूल प्रवाहमा सामेल हुने नेताहरूको व्यवस्थापन गर्नुपर्ने चुनौतीले थिचिएका छन्।
यही चुनौती चिर्न उनले केन्द्रीय कार्यसमितिमा पदाधिकारी संख्या बढाएका छन्। यसअघि १७ पदाधिकारी रहेको कांग्रेसमा अब यो संख्या २४ पुर्याएको हो। नयाँ व्यवस्थाअनुसार कांग्रेसमा अब एक सभापति, एक वरिष्ठ उपसभापति, तीन उपसभापति, तीन महामन्त्री, १४ सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन्। कोषाध्यक्ष र तीन सहमहामन्त्री भने मनोनयन गरिनेछ।
यसबिच वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र काठमाडौँ उपत्यकाका तर्फबाट केन्द्रीय सदस्यमा प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भइसकाे छन्।
अब सभापतिबाहेक अन्य पदमा कडा प्रतिस्पर्धा हुने निश्चितजस्तै छ। प्रतिस्पर्धामा उत्रिएकाहरूले ‘सर्वशक्तिमान’ देखिएका सभापति गगनको साथ खोज्नु अस्वाभाविक होइन।
यसै क्रममा गगनको आड नपाउने भएपछि मीनेन्द्र रिजाल र देवराज चालिसेले उपसभापति पदको प्रतिस्पर्धाबाट बाहिरिसकेका छन्।
योसँगै उपसभापतिसहित अन्य पदाधिकारीमा गगनको रोजाइमा को को छन् त भन्ने चर्चा चुलिएको छ। भलै, उनले आफ्नो कुनै गुट नरहेको घोषणा गरेका किन नहुन्।
१४औँ महाधिवेशनमा देउवा पक्षधर विजयकुमार गच्छदारलाई २ मतले हराउँदै उपसभापति बनेका धनराज गुरुङ यसपटक पनि सोही पदको प्रतिस्पर्धामा छन्। १४औँमा पूर्णबहादुर खड्काले २ हजार १२१ मत पाउँदा गुरुङले १ हजार ९०८ मत ल्याएका थिए भने देउवाले च्यापेका गच्छदारको १ हजार ९०६ मत पाएका थिए।
तत्कालीन शेखर कोइराला-गगन थापा समूहमा रहेका गुरुङ विशेष महाविधेशनमा भने सहभागी थिएनन्। तर नेपाली कांग्रेसले १५औँ महाविधेशनअन्तर्गत वडा तहबाट निर्वाचन प्रक्रिया सुरु गरेपछि चाहिँ उनी स्याङ्जा आएर यसमा सामेल भएका हुन्। महाविधेशनमा सहभागी हुँदै उनले पुनः उपसभापति पदमा उम्मेदवारी दिएका हुन्।
गोपालमानले जहाँ टेके, धनराज त्यहीँ पुगे
धनराज स्याङ्जामा जन्मे अनि उच्च शिक्षाका लागि पोखराको पृथ्वीनारायण कलेज भर्ना भए। २०४५ सालको स्ववियु चुनावमा उनी नेपाल विद्यार्थी संघका तर्फबाट सभापतिको प्रत्यासी बने। त्यो चुनावमा उनी अखिलका उम्मेदवार भलक सुवेदीसँग हारे। झलक अहिलेका चर्चित राजनीतिक विश्लेषक हुन्। झलक एमालेबाट बहिर्गमन भए पनि धनराजले भने राजनीतिक यात्रा जारी राखे। २०५३ सालमा उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति बने। तरुण दलको महासचिव हुँदै २०६४ सालमा उनी संविधानसभा सदस्य मनोननय भए। २०७० मा संविधानसभाको सदस्य पदमा दोहोरिएका धनराज सार्वजनिक लेखा समितिमा रहँदा भ्रष्टाचारविरुद्ध निर्मम सुनिए।
कांग्रेसको १२औँ महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्य बनेका उनी १३औँ महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्य त छानिए तर राजनीतिक यात्रामा उनीमाथि पनि निर्मम प्रहार भयो। २०७४ सालको आम निर्वाचनमा उनलाई प्रत्यक्ष चुनाव लड्ने त परको कुरा, समानुपातिकको सूचीमा पनि राखिएन। त्यो बेला स्याङ्जा कांग्रेसमा अहिले यो संसारमा नरहेका गोपालमान श्रेष्ठको दबदबा थियो।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि २०७५ मंसिरको उननिर्वाचनमा धनराजले कास्की क्षेत्र नम्बर २ बाट चुनाव लड्ने चाहना व्यक्त गरे। तर, उनलाई टिकट दिइएन। तत्कालीन सभापति शेरबहादुर देउवाले पाका नेता खेमराज पौडेललाई टिकट दिए। कांग्रेसको १४औँ महाधिवेशन क्रममा संस्थापनइतर समूहबाट उनलाई गण्डकी प्रदेशको सभापति पदमा ‘अफर’ गरिएको थियो। तर धनराजले ‘रिस्क’ मोल्न चाहेनन्। धनराजले छाड्दा कास्कीका पुराना नेता शुक्रराज शर्माले सभापति हुने अवसर पाए। कांग्रेसको १४औँ महाधिवेशनमा उनलाई परीक्षण हुने अवसर जुर्यो।
संस्थापन इतर समूहबाट रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बनेका भए सायद धनराजको पोल्टामा उपसभापति पद पर्दैनथ्यो। तर रामचन्द्र पछि हटेपछि सभापति लड्न तम्सिएका डा शेखर कोइराला समूहबाट उनी उपसभापतिमा तम्सिए। मत उनका पक्षमा आयो। २०७९ को चुनावमा उनै धनराजले स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टिकट पाए र एमाले नेता पद्मा अर्याललाई हराउँदै सांसद बने। अनि २०८० सालमा प्रचण्ड नेतृत्वको सरकारमा कानुनमन्त्री पनि बन्ने अवसर पाए।
१४औँ महाधिवेशनमा डा शेखर पक्षमा रहेका धनराज १५औँबाट शेखरलाई नै सभापति बनाउने अभियानमा थिए। तर विशेष महाधिवेशनका पक्षमा नखुलेपछि शेखर पछाडि परे। शेखर र धनराज दुवै विशेष महाविधेशनमा गएनन्। बरु शेरबहादुर देउवाले प्रजातान्त्रिक कांग्रेस गठन गर्दा नै उपसभापति बनेर साथ दिएका स्याङ्जाका पाका नेता गोपालमान श्रेष्ठले जेनजी आन्दोलनपछि देउवाको साथ छाडे र विशेष महाधिवेशनमा सक्रियतापूर्वक सहभागी भई आफूलाई पुस्तान्तरणका पक्षमा उभ्याए।
गोपालमानले पाइला टेकेको विशेष महाधिवेशनले तय गरेको १५औँ महाधिवेशन प्रक्रियामा अन्तिम समयमा सामेल भएका धनराज चन्द्र भण्डारी, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, मधु आचार्य, दीपक गिरी, प्राडा चन्द्रमोहन यादवहरूसँग प्रतिस्पर्धा गर्दै छन्। निष्ठा धनराजको शक्ति हो। भ्रष्टाचारप्रति निर्मम अभिव्यक्ति दिने गुरुङ सदाचारी नेताका रूपमा चिनिन्छन्। एकपटक श्रीमतीको लेनदेन प्रकरणको विवादमा मुछिए पनि गुरुङका छोरा धनराजलाई धेरैले हक्की र निष्कलंक नेता नै मान्छन्।
कराते खेलाडी पाण्डेको अर्को अक्कल
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका गोर्खाका सुरेन्द्रराज पाण्डे केन्द्रीय संसद्को सदस्य बन्न चाहन्थे। तर २०७९ को चुनावमा तारतम्य मिलेन। तत्कालीन कांग्रेस-माओवादीसहितको गठबन्धनका तर्फबाट गोर्खा २ मा प्रचण्ड उठे। डा बाबुराम भट्टराईले भारी मतान्तरले जितिरहेको यो क्षेत्र प्रचण्डको भागमा परेपछि एकल सिफारिस भएका पाण्डे पछि हट्न बाध्य भए।
गोर्खा १ को टिकट कांग्रेसकै राजेन्द्र बजगाईंको हातमा पर्यो। राष्ट्रियसभामा दलको नेता भइसकेका सुरेन्द्रले अन्ततः प्रदेश रोजे। गोर्खा क्षेत्र नम्बर २ बाट चुनाव जितेलगत्तै उनी कांग्रेस संसदीय दलको नेता चुनिए। प्रदेशसभामा २८ सिट जितेको कांग्रेसभित्र उनी सभापति शेरबहादुर देउवा समूहको प्रतिनिधि थिए।
संसद्मा देउवा समूहको बहुमत थिएन तर पाण्डेले बहुमत सिद्ध गरे। माओवादी अध्यक्ष प्रचण्डले काँध फेरेर एमाले बोकेसँगै गठबन्धनबाट मुख्यमन्त्री बन्ने उनको चाहना भने रोकियो। तर उनै प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा पुनः कांग्रेससँग सहकार्य गरेपछि पाण्डे मुख्यमन्त्री हुने बाटो खुल्यो। सुरेन्द्र मुख्यमन्त्री बने, मुख्यमन्त्रीबाट हटे अनि फेरि मुख्यमन्त्री बने। मुख्यमन्त्रीका रूपमा उनी कति सफल छन् भन्ने बेग्लै कुरा हो तर वाकपटुताका धनी सुरेन्द्रलाई यो पदले अर्को उचाइ पक्कै दियो।
अमृत साइन्स क्याम्पस र त्रिचन्द्र क्याम्पसबाट राजनीति जीवन उज्याएका अनि २०४१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका पाण्डे बालकृष्ण खाँणसँग निकट थिए। २०४४ सालमा नेविसंघको सभापति रहेका खाँण २०५४ सालमा तरुण दलको अध्यक्ष बने भने पाण्डे २०५१ सालमा तरुण दलको महामन्त्री बने। कांग्रेसभित्र ‘सभापति देउवाका दाहिने हात’ मानिने खाँणसँगको निकटता देउवासँगकै निकटता मानिन्थ्यो। खाँण भुटानी शरणार्थी काण्डमा जोडिएपछि चाहिँ पाण्डेले उपसभापति पूर्णबहादुर खड्कासँग नजिकको सम्बन्ध बनाए।
उनी मुख्यमन्त्री रहँदै गर्दा जेनजी आन्दोलन भयो। केन्द्रमा केपी ओली सत्ता छाड्न बाध्य भए भने देउवा प्रधानमन्त्री हुने पालो पनि आन्दोलनले खाइदियो। जेनजी आन्दोलनपछि कांग्रेसभित्र विशेष महाविधेशनको माग र नेतृत्व परिवर्तनको मुद्दा जोडतोडले उठ्यो। तत्कालीन महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले त्यो मुद्दा मुखरित गर्दा पाण्डे कांग्रेसको कार्यसम्पादन समिति सदस्य थिए।
उनीसमेत रहेको कार्यसम्पादन समितिले दुवै महामन्त्रीलाई कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्यो। तर गगन–विश्वप्रकाशको रथ रोकिएन। २०८३ पुसमा विशेष महाधिवेशन भइछाड्यो। विशेष महाधिवेशनको विपक्षमा रहेका पाण्डेलाई दलको नेताबाट हटाउने प्रयत्न पनि गरियो। तर सफल भएन।
अग्लो कदका पाण्डे पूर्वकराँते खेलाडी तथा नेपाल कराँते महासंघका पूर्वअध्यक्ष पनि हुन्। मार्सल आर्टमा शत्रुविरुद्ध प्रहारसँगै आफ्नो बचाउ गर्ने कला पनि सिकाइन्छ। बाठा सुरेन्द्रले गगन पक्षधर भनेर चिनिने व्यक्तिलाई नै हातमा लिए। गगन कांग्रेसको सभापति बनेपछि भने गण्डकीका मुख्यमन्त्री पाण्डेले कित्ता फेरे। गगन थापा एक औपचारिक कार्यक्रममा पोखरा आउँदा उनी फूल बोकेर एयरपोर्ट पुगे। गगनसँग उनलाई नजिक्याउने कामचाहिँ गोर्खाकै अर्का सांसद नन्दप्रसाद न्यापानेलगायतले गरिदिए। नन्दप्रसादले त्यसको बदलामा मन्त्री पद पाए।
तीन कार्यकाल केन्द्रीय सदस्य भइसकेका पाण्डे १४औँ महाधिवेशनमा नै पदाधिकारीको आकांक्षी थिए। उनले देउवा समूहसँग उपसभापति पद मागेका थिए तर पाएनन्। नपाएपछि केन्द्रीय सदस्यमा चित्त बुझाएका पाण्डे अहिले १५औँमा भने खुलातर्फ उपसभापतिको उम्मेदवार बनेका छन्।
पाण्डेले लामो समय पार्टीमा काम गरेको अनुभव, सहकर्मीहरूको साथ तथा युवा पुस्ताको ऊर्जा र आकांक्षालाई जोड्दै एकताबद्ध, सुदृढ र समयानुकूल नेपाली कांग्रेस निर्माण गर्ने संकल्पसहित उम्मेदवारी दिएको बताएका छन्।
‘अबको यात्रा मेरो मात्र होइन, हामी सबै कांग्रेसजनको साझा यात्रा हो,’ पाण्डेले भनेका छन्।
पद खोज्दै गोविन्द ‘गुरु’
कांग्रेसका वर्तमान सभापति गगन थापा र वरिष्ठ उपाध्यक्षमा निर्विरोध बनेका विश्वप्रकाश शर्मा विद्यार्थी राजनीतिमा उदाउँदै गर्दा तनहुँका गोविन्द भट्टराई नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति बनिसकेका थिए। २०५३ देखि २०५७ सालसम्म नेपाल विद्यार्थी संघको सभापति हुँदा उनले संगठनलाई चुस्त बनाए।
कांग्रेस आन्तरिक कलहमा फसेका बेला भएको स्ववियु निर्वाचनमा देशभरका ८० प्रतिशत क्याम्पसमा नेविसंघको झण्डा फहराउने सफलता पाएका भट्टराई २०६२/००६३ को जनआन्दोलनपछि शान्ति तथा पुनर्निर्माणमन्त्री पनि भए। तनहुँको व्यास नगरपालिका-११, रामथुम्कीमा जन्मेका भट्टराई मन्त्री त बने तर जिल्लामा उनी ठुला नेताको चेपुवाबाट मुक्त हुन सकेनन्। हालका राष्ट्रपति रामचन्द्र पौडेल र तत्कालीन कांग्रेसका सहमहामन्त्री गोविन्दराज जोशीबिचको आन्तरिक प्रतिस्पर्धालाई नजिकबाट देखेका उनले सधैँ गुटमुक्त संगठनको वकालत गरे पनि सफल भएनन्।
रामचन्द्र र गोविन्दराज पालैपालो मन्त्री हुँदा गोविन्द चाहिँ गाउँगाउँमा खानेपानी पुर्याउने योजनामा काममा लागे। अर्थशास्त्रका विद्यार्थी गोविन्दले तनहुँबाटै चुनाव लड्ने मौका पाउन भने लामो समय कुर्नपर्यो। २०७९ मा तनहुँ १ बाट प्रतिनिधिसभा चुनाव जितेका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि बल्ल उनको पालो आयो। उपनिर्वाचनमा टिकट पाएका उनको प्रतिस्पर्धा कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका डा स्वर्णिम वाग्लेसँग भयो। त्यो चुनावमा स्वर्णिमले बाजी मारे।
गोविन्दलाई कांग्रेसले २०८२ को फागुन २१ को चुनावमा पनि त्यही क्षेत्र सुम्प्यो। यो पालि पनि उनी अभागी साबित भए। रास्वपाका उपसभापति स्वर्णिमसँग उनी दोस्रोपटक हारे। जनतासँग भिजेका भए पनि पुराना नेताहरूको रिसको भुंग्रोमा परेका गोविन्द कांग्रेसको आन्तरिक राजनीतिमा चाहिँ उपसभापतिको दाबेदार बनेका छन्।
चुनाव नफाप्ने र यसअघि सभापति शेरबहादुर देउवाबाट केन्द्रीय सदस्य मनोनीत भट्टराई चेलाहरू सभापति भइसक्दा उपसभापति हुने दौडमा छन्। खुलातर्फ उपसभापतिको उम्मेदवार बनेका भट्टराईले कांग्रेसलाई गुटमुक्त बनाउने तथा लोकरिझ्याइँवादबाट पर राख्ने संकल्प लिएका छन्।
जीवनको स्वाभाविक यात्रा
नेपाली कांग्रेसको १४औँ महाधिवेशन संस्थापन इतरका लागि अस्तित्व रक्षाको लडाइँ थियो। त्यस मोर्चाका कमान्डर डा शेखर कोइरालालाई कास्कीका जीवन परियारले काँध थापिरहेका थिए। बलियो संस्थापनसँग लड्न सजिलो थिएन तर जीवनले कमान्डरको आग्रह स्वीकारे। १२औँ महाधिवेशनमै केन्द्रीय सदस्य चुनिएका र १३औँमा खुला प्रतिस्पर्धामार्फत आफूलाई साबित गरेका जीवनमा हिम्मत थियो।
उनी दलिततर्फ सहमहामन्त्री पदमा संस्थापनका मानबहादुर विकसँग भिड्न तयार भए। संविधानसभा सदस्य तथा दलित संघको महासचिव र दलित आयोगको सदस्य रहँदा सम्बन्ध छँदै थियो। बौद्धिक व्यक्तित्व, विनयशील स्वभाव र कार्यकर्ताको मन जित्नसक्ने क्षमताका कारण जीवन २ हजार २१२ मत प्राप्त गर्दै सहमहामन्त्री चुनिए। मानबहादुर २ हजार १७५ मत ल्याउँदै हारे। झिनो मतान्तरले विजयी बनेका जीवनले त्यसपछि आफूलाई झन् तिखारे।
नेपालको संविधानका मस्यौदाकार जीवन २०७४ सालमा प्रदेशसभाको प्रतिस्पर्धामा होमिए पनि सफल भएनन्। तर २०७९ मा उनी समानुपातिक कोटाबाट संघीय संसद् छिरे। समाजशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर उनै जीवनले आफूलाई कांग्रेसको विशेष महाधिवेशन स्वीकार्ने अगुवा नेताका रूपमा पनि दर्ज गराए।
खासमा उनी यो महाधिवेशनमा महामन्त्री बन्न चाहन्थे। २००९ सालमा कांग्रेसको महामन्त्री रहेका धनमानसिंह परियारलाई पच्छ्याउन खोजेका जीवनले महामन्त्री पदमा आकांक्षी धेरै भएपछि उपसभापतिमा इच्छा देखाएका हुन्।
‘नेपाली कांग्रेसको संस्थापक रहुनुभएका देवव्रत परियार, सुवर्ण शमशेर नेतृत्वको कांग्रेसमा रहेका आरबी गहतरात र महामन्त्री रहनुभएका धनमानसिंह परियारलाई सम्झेर मात्र हैन, कांग्रेसको चरित्र नै समावेशी छ भन्ने प्रमाणित गर्न पनि म उपसभापतिको आकांक्षी हुँ’, उनले भने, ‘यसो भनिरहँदा मेरो निरन्तरको क्रियाशीलता र सहमहामन्त्रीको अनुभव सदुपयोग गर्न पनि अर्को पद आवश्यक परेको हो।’
जेनजी आन्दोलनपछि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले भोगेको असफलता एवं दलित र भुइँमान्छेसँग चुँडिएको सम्बन्ध जोड्न पनि आफू उपसभापतिको उम्मेदवार बनेको उनको भनाइ छ। जीवन मैदानमा एक्लै छैनन्। उनीसँगै उद्योगपति विनोद चौधरीदेखि मुस्लिम समुदायका लोकप्रिय नेता फरमुल्लाह मन्सुर, मधेसमा गर्जिने रञ्जित कर्ण र आफूलाई महिला मात्र नभएर पूर्वको भरपर्दो कांग्रेसी साबित गर्न सीता गुरुङ पनि प्रतिस्पर्धामा छन्।





