पोखरा/कास्कीको तेस्रो ठूलो ताल रुपातालबाट माछा बेचेर डेढ करोड आम्दानी भएको छ । रुपाताल संरक्षणसँगै माछापालन गरी आयआर्जन गर्दै आएको रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्था लिमिटेडको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम यस्तो जानकारी दिइएको हो ।
२०५८ सालमा ३६ जनाको सक्रियतामा स्थापना भएको यो संस्थाले रुपाताल जलाधार क्षेत्रभित्रका परिवारलाई ‘एक घर, एक परिवार सेयर सदस्य’ बनाउँदै समान सेयर, समान मुनाफाको नीति अघि बढाएको छ। आर्थिक वर्ष २०८२/८३ सम्म संस्थामा १ हजार ५३ जना सेयर सदस्य ।
यो सहकारीमा अहिले ६ करोड ७० लाख ४७ हजार ७ सय ८ रुपैयाँ सेयर पुँजी छ । सहकारीले चालु वर्ष विभिन्न जातका माछा बिक्रीबाट १ करोड ४० हजार रुपैयाँ आम्दानी भएको जनाएको छ ।
सहकारीको २५औं वार्षिक साधारणसभाका वक्ताहरूले रुपातालकाप्राकृतिक सम्पदा, जैविक विविधता तथा सिमसार क्षेत्रको संरक्षणसँगै दिगो उत्पादनमा जोड दिएका छन् । कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले प्राकृतिक स्रोत, साधनको संरक्षणमा स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहने बताए ।
अध्यक्ष ओझाले सरकारी तथा स्थानीय तहबीच समन्वय गरी पर्यटन, धार्मिक विकास र आयआर्जनका गतिविधि बढाउनुपर्नेमा जोड दिए । उनले रुपाताल क्षेत्रलाई वन, जंगल, खोला, खोल्सा, धार्मिक तथा पर्यटकीय क्षेत्र, हिमाली दृश्यावलोकन, जंगली धान, कमल, चराको वासस्थान तथा स्थानीय माछाको प्रजनन क्षेत्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।
संस्थाका अध्यक्ष रामबहादुर थापाले ताल संरक्षणका लागि विभिन्न स्थानमा जाली भर्ने, जलकुम्भी हटाउने, सिमसार क्षेत्र संरक्षण गर्ने तथा सिसिटिभी जडान गर्ने काम गरिएको जानकारी दिए। विभिन्न जात र साइजका ३५ लाख ६७ हजार बराबरका माछाका भुरा तालमा छाडिएको छ ।
जैविक विविधता, स्थानीय वनस्पति तथा जीवजन्तुको संरक्षण गर्दै आगामी चैत १ गते रजत जयन्ती मनाउने तयारी भइरहेको उनले खुलाए । संस्थाका सचिव वीरेन्द्र ढकालले प्रस्तुत गरेको प्रतिवेदनमारुपाताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना उल्लेख छ ।
ताल संरक्षण तथा व्यवस्थापन, मत्स्य संग्रहालय तथा जैविक विविधता सूचना केन्द्र, आयआर्जन तथा वैकल्पिक रोजगारी, जलवायु परिवर्तन, वातावरणीय सेवा भुक्तानी, अर्गानिक तथा प्राकृतिक कृषि प्रवद्र्धन, माछाको ब्रान्डिङ तथा बजारीकरण र स्थानीय सीपमा आधारित मोतीपालन कार्यक्रम सञ्चालन गर्ने योजना संस्थाले अघि सारेको छ ।
कार्यक्रममा पोखरा ३२ का अध्यक्ष अक्कलबहादुर कार्की, संस्थाका सल्लाहकार टीकाराम पगेनी, निवर्तमान अध्यक्ष शिवराज अधिकारी, सेयर सदस्य सीता अधिकारी, पूर्वअध्यक्ष कुलप्रसाद अधिकारी, उपाध्यक्ष ढकबहादुर थापा, व्यवस्थापक सबिन सुयेल तथा वडा नं. ३१ का वडा सदस्य देवेन्द्र अधिकारीलगायतले बोलेका थिए ।
रूपाताललाई गण्डकीकै आकर्षक गन्तव्यका रूपमा यसलाई विकास गरिँदै छ । यही उद्देश्यका साथ यहाँ रूपाताल एकीकृत संरक्षण विकास परियोजना सञ्चालनमा छ । तालको माथिल्लो भागमा गेग्य्रान आउन नदिन सिल्ड ट्याप वेड बार, तटबन्ध निर्माण र तालको बिचमा मन्दिर बनाइँदै छ ।
तालको पोखरातिरको क्षेत्रमा ६.९ किमी फुट ट्र्याक बनाउने योजना छ । परियोजनापूरा गर्न ४ अर्ब ५१ करोड ६६ लाख रुपियाँ लाग्ने अनुमान छ । रूपामा छ मिटर अग्लो ५९० लामो माटोको बाँध र ४५ मिटरको स्पिल वे बनेपछि तालको क्षेत्रफल ६२२ हेक्टरबाट ६८२ हेक्टर पुग्ने अनुमान छ ।





