शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

प्यारो मालढुङ्गालाई कहिले सञ्चो होला !

प्यारो मालढुङ्गालाई कहिले सञ्चो होला !

मालढुंगा बागलुङेको मुटु हो । यो नभए हाम्रो जीवन छैन भन्दा पनि हुन्छ ।


  • कृष्णराज शर्मा
  • असोज २३ २०८३, शुक्रबार

पञ्चायतको समय थियो; उमेरले म पनि सानै थिएँ । पढ्ने त स्कुलमा मात्रै हो भन्ने समय थियो । घरमा त घरकै काममा सघाउनु पथ्र्याे । खेल्न त आँखा छलेरमात्र खेल्नुपर्छ भन्ने समय थियो । त्यस्तो परिवेशको समयमा पनि अरुले सुन्दै गरेको रेडियोको समाचार दौडदै पुगेर सुन्न भ्याउँथें । एक प्रकारले ‘समाचार सुन्ने गर्नुपर्छ’ भन्ने वातावरणमा हुर्कने अवसर मलाई मिल्यो । त्यति बेला प्रत्येक दिन रेडियो नेपालले दिनभरिका देश, विदेशका घटनालाई साँझ ७ बजेको समाचारमा ‘अब सुन्नुस् पूरा समाचार’ भने पनि संक्षिप्तमा अपुरो समाचार सुनाउँथ्यो । प्राइम टाइमको पूरै समाचार पनि जम्मा १०÷१२ मिनेटको मात्रै हुन्थ्यो ।

२०३० सालको एक साँझको कुरा हो, रेडियो नेपालले अत्यन्त सुखद र संक्षिप्त समाचार सुनायो । समाचार थियो–चीन सरकारको सहयोगमा ४०७ किलोमिटर लामो पोखरा सुर्खेत राजमार्ग निर्माण गर्न श्री ५ को सरकार र चीन सरकारकाबीच सम्झौता सम्पन्न भएको छ । यो समाचार सुनेर रेडियोको वरिपरी भएका स्रोताहरु ताली बजाउँदै खुसीले उफ्रे, चिच्याए ।
राजाको सक्रिय शासन थियो । यति बेला नहुने कुरा बोलिदैनथ्यो, बोलेको कुरा तोकिएको समयमै पूरा हुन्थ्यो । स्याङ्जाको पुतलीखेत र नौडाँडा पुगेर मान्छेलाई भरिया बनाएर र खच्चड, गधा जस्ता पशुलाई भारी बोकाएर अग्ला पहाडबाट गुज्रंदै र खोलानाला तर्दै नून, तेल लगायतका खाद्यान्न आपूर्ति गर्न बागलुङेलाई कम्ता सास्ती थिएन ।

पोखरा, काठमाडौं उपचार गर्न लैजाने क्रममा कति बिरामी बाटोमै अकाल मृत्यु वरण गर्न विवश हुन्थे । पैदल यात्राका क्रममा कति यात्रु चोर, डाँकाबाट लुटिन्थे र मारिन्थे । बाटो नहुँदाको अवस्थामा आवतजावत गर्दा अनगिन्ती कठिनाई यस क्षेत्रका जनताले झेलेका थिए । त्यसैले पनि घोषित बाटो बनेमा ती दुःखका दिन स्वतः हट्ने भए भनेर यस क्षेत्रका जनता बाटो बन्ने कुराले मात्रै पनि हर्षविभोर बनेका थिए ।

त्यो बाटो पर्वत, बागलुङ छिचोल्दै रुकुम भएर सुर्खेत पुग्थ्यो । अझै खुुसी लाग्ने कुरा त के थियो भने अन्य राष्ट्रले भन्दा चीनले हात हालेको काम भरपर्दो मानिन्थ्यो र चीनले मोटरबाटो बनाउँदा छिटो, छरिटो र बलियो बनाउँछ अनि तोकिएकै समयमा काम सम्पन्न गर्छ भन्ने विश्वास गरिन्थ्यो ।

नेपालीमा चीन सरकारप्रति त्यो पुरानो विश्वास अझै पनि उस्तै छ । दुर्भाग्य, बाटोको कुरा सपना जस्तै भयो । कामअघि बढेन । पछि बुझ्दै जाँदा बाटो नबन्नुको प्रमुख कारण हाम्रै छिमेकी देश भारत रहेछ भन्ने सुनियो ।

हामी अभागी नेपालीलाई भीख मागेर जीविका चलाउन पनि ‘दादा’हरुले दुःख दिन्छन् भन्ने बलियो प्रमाण हो यो । समय क्रममा थाहा भयो–भारतले आफ्नो सुरक्षामा खतरा देखेर अवरोध सिर्जना गरेको रहेछ । जसले गर्दा बाटो निर्माणको काम पूरै रोकियो । त्यसको सट्टा पुनः चीनले पोखरा जोमसोम राजमार्ग बनाईदिने कुरा उठ्यो तर यहाँ पनि भारतको सुरक्षामा आँच पुग्ने भन्दै बाटो बन्न भारतले दिएन ।

पछिल्लो पटक ७२ किलोमिटर लामो पोखरा बागलुङ राजमार्ग बनाउने कुरामा बल्ल भारतको पनि ‘इन्ट्रेष्ट’ मिलेपश्चात २०४५ सालदेखि चीन सरकारद्वारा पोखरा बागलुङ राजमार्ग निर्माण थालनी भयो । आखिर चिनिया पक्षले तीव्र गतिमा बाटो निर्माण गर्दै चार वर्षमै २०४९ सालमा धौलागिरी अञ्चलको सदरमुकाम बागलुङ बजारमा मोटरबाटो पु¥यायो । यसले आपूर्ति व्यवस्थामा पाशविक जीवन जिउन विवश यस क्षेत्रका जनतामा खुसीको सीमा रहेन ।

तत्पश्चात आजसम्म मोटरबाटो जे–जस्तो छ, हाम्रोसामु छर्लंगै छ । पोखरा–बागलुङ मोटरबाटो बनेको ३४ वर्षपछि असोज १० गते रातिको भीषण वर्षाले यो बाटोको सर्वाधिक बलियो र महत्वपूर्ण बागलुङ पर्वत जोड्ने मालढुंगाको पुल अवरुद्ध बनेको छ । यसले बागलुङ बजारबासीमा झस्को उत्पन्न गरेको छ । झट्ट हेर्दा पुलको मुख्य संरचनामा खासै क्षति भए जस्तो नलागे पनि बाढीको वेगले पुलको मुख्य आधार भागमा गम्भीर क्षति पुगेको सहजै अनुमान गर्न सकिन्छ ।

मालढुंगा बागलुङेको मुटु हो । यो नभए हाम्रो जीवन छैन भन्दा पनि हुन्छ । गम्भीर चोट पुगेको यो मालढुंगाको हामीलाई औधी माया लाग्छ । यसको उपचार छिट्टै होस् र हाम्रो सेवामा मालढुंगा पुल पूर्ववत् बनोस् भन्ने कामना गर्दछु ।

मालढुंगाको पुल अवरुद्ध भएपछि यसबारे चर्चा जारी छ । उत्सुकतापूर्वक मान्छेहरुले यो ‘मालढुंगा’ नाम रहनुको रहस्य पनि खोजीनीति गर्न थालेका छन् । कालो ढुंगो, सेतो ढुंगो, दर्शन ढुंगो, जब्रो ढुंगो, खस्रो ढुंगो, चिप्लो ढुंगो जस्ता अनेकन विशेषण सुनेकाहरु कहिल्यै नसुनेको यो ‘मालढुंगो’ सुनेर छक्क पर्छन् । के हो मालढुंगो’ भनेको ?

हाँस्दै ठट्टा पनि गर्छन्–राजखान्की(माल) आकारको पनि यो ढुंगा छैन । अनि कसरी मालढुंगाको नाम दिए होलान ! साँच्चै कसरी रहन गयो होला यसको नाम ? अहिले सबैले जिज्ञासापूर्वक मालढुंगाको नामाकरण कसरी भयो भनेर स्थानीय र सरोकारवालाले अभिरुचि लिएको देखेर सबै हैरान छन् ।

स्थानीयले मालढुंगाको नाम पहिल्यै दिइरहेका रहेछन् । तर नाम छायाँमा परेछ । कालीगण्डकीको बीचमा एउटा ठूलो ढुंगो रहेछ । स्थानीयले वर्षादको समयमा भेलले बगाएर ल्याएका दाउरा यताउता फ्याँक्ने यही ठूलो ढुंगाको कारणले रहेछ । यो ढुंगाले जताजता दाउरा पठाउँथ्यो, उतै–उतै दाउरा छोप्नेहरु मालामाल हुँदा रहेछन् । भेलको गति र ढुंगाको बलियो उपस्थितिले कहिले बागलुङ किनारतिर त कहिले पर्वत किनारतिर दाउरा हुत्तिने रहेछन् । बागलुङतिर हुत्तिँदा बागलुङे मालामाल, पर्वततिर हुत्तिँदा पर्वते मालामाल !

मालामाल बनाउने यही ढुंगालाई दाउरा छोप्नेहरुले मालढुंगा भन्न थाले छन् । यही बलियो मालढुंगामा चिनिया इन्जिनियरहरुले पुलका लागि फलामका भाटाहरु बिच्छ्याएर बागलुङ आउने अस्थायी पुल बनाएपछि सबैले ‘मालढुंगाको पुल’ भन्न थाले । पछि पल्तिर बन्दै गरेको पक्की पुलको नाम पनि ‘मालढुंगाको पुल’ भनियो ।

अहिले मालढुंगा भनिने यो ठाउँलाई पहिले खुँदुर्के भनिन्थ्यो । कालीगण्डकी र काँठेखोलाको संगमस्थल उत्तरतर्फको आसपासको पूरै क्षेत्रलाई खुँदुर्के भनिन्थ्यो । हिँउदमा वनभात खानेहरु खुँदुर्केको समथर भागमा लगभग सबै शनिबार पुगेका हुन्थे । अर्थात्, खुँदुर्के राम्रो पिकनिक स्पट पनि थियो ।

बाटोका संरचना बनेपछि खुदुर्के त्यसै–त्यसै बिलायो । त्यही मालढुंगाको नामले यो ठाउँ चम्क्यो । कालान्तरमा अहिलेको प्रख्यात मालढुंगा बन्यो । अन्तमा, हामीलाई संसारसँग जोडिन सहज बनाएको पोखरा–बागलुङ राजमार्ग (पछि आएर मध्यपहाडी राजमार्गमा घुसाइएको ) र मालढुंगाको पुल बागलुङेका लागि अत्यन्त महत्वको र प्रिय छ । शीघ्रातिशीघ्र पूर्ववत् रुपमा यो सञ्चालनमा आओस् । अहिलेलाई चाडबाडका कारण तत्काल हतारमा आवागमन सहज बनाउने जुक्ति लगाए पनि पछि यसको दीर्घकालीन उपचार नगर्ने हो भने भविष्यमा बागलुङेका झन दुःखका दिन नआउलान भन्न सकिन्न ।

अबको समयमा पनि बागलुङ प्रवेशका लागि यही एउटा मात्र पुलको भर पर्नु पटक्कै बुद्धिमानी हुने छैन । वैकल्पिक रुपमा निरहे र फर्सेमा पनि मोटरेबल पुल निर्माण गर्नु पर्दछ । उसो त यो पुलले महाकाली अञ्चलको झुलाघाटसम्म सम्बन्ध राख्ने भएकाले मालढुंगाको पुलको महत्व अझ बढेको छ । यस्तो महत्वको पुलको विकल्पका बारेमा आजैदेखि यहाँका नेता, प्रशासक र सरोकारवाला सबैले विशेष ध्यान दिनै पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->