अपेक्षित नै थियो- गगनकुमार थापा नेपाली कांग्रेसको ‘सर्वशक्तिमान’ सभापति निर्वाचित हुने छन्। भए नै।
२०८३ पुसको विशेष महाधिवेशनको सूत्रधारका रूपमा उनी त्यो पदका हकदार थिए। यद्यपि निर्विकल्प भएनन्/बन्न दिइएन। प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्दा गगनको बाक्सामा ६ हजार ५८४ मत खस्यो। ९३.८८ प्रतिशत महाधिवेशन प्रतिनिधिको विश्वाससहित गगन अब प्रश्न गर्ने ठाउँबाट उत्तर दिने आसनमा पुगेका छन्।
यो टिप्पणी तयार गरिरहँदा पदाधिकारी र केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छैन। तर गगनको बिँडो थाम्न निर्विरोध वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्मा तम्तयार छन्। हालसम्म प्रदर्शित नैतिकताबाट स्खलित नभए गगनसँग सभापतिका रूपमा काम गर्ने दिन १ हजार ८२४ छन्। उप्रान्त उनी पनि बीपीदेखि शेरबहादुरसम्मको पूर्वसभापतिका रूपमा भित्तामा हुनेछन्। र, त्यो भित्तामा टाँसिँदा कति स्मरणीय र पुज्य होलान्, योचाहिँ यिनै १ हजार ८२४ दिनले निर्धारण गर्नेछन्।
दिनगन्तीको हतारो नगरौँ
गगन अक्सर बालकांग्रेसका रूपमा सुरु भएको आफ्नो राजनीतिक यात्रा, नेपाल विद्यार्थी संघमा क्रियाशील हुँदाको समय अनि पार्टीको मूलधार समातेपछिका क्षण स्मरण गरिरहन्छन्। हो, गगनले सभापतिसम्म आइपुग्न राजीतिक यात्रामा ३५ वर्ष बिताएका छन्।
बालकांग्रेसलाई बिर्सिदिऊँ। २०५३ मा त्रिचन्द्र स्ववियुको सचिव र २०५५ मा सभापति भएपछि उनको सार्वजनिक परिचय निर्माण भयो। २०५७ मा नेविसंघ उपसभापति र २०५९ मा महामन्त्री हुँदा उनले आफूलाई तिखारे।
सत्ताको उन्मादमा मस्त रहेको उनकै पार्टी कांग्रेस- आलोचनाका लागि आलोचना गर्ने प्रतिपक्ष अनि सत्ता नै अन्तिम लक्ष्य हो भन्ने दलहरूको चरित्रका कारण नेपालको राजनीतिले उबडखाबड बाटो समातिसकेको थियो। विस्मृतियोग्य त्यो समयमा गगनले आफ्नै पार्टीका सन्तनेता किसुनजी गलहत्याइएको, पार्टी विभाजन भएको तथा निरंकुशताले टाउको उठाएको नजिकबाट देखे। गगन विद्यार्थीका रूपमा सडकमा थिए। राजा वीरेन्द्र शाहको वंशनाशपछि सिंहासनमा आसीन ज्ञानेन्द्रले सत्ता कब्जा गरिदिए। दलहरूले विरोध त गरे तर तिनका नेताप्रति आम नागरिकमा वितृष्णा थियो। त्यसैले जनसमर्थन पाएनन्।
नेपाल विद्यार्थी संघका महामन्त्रीकै रूपमा गगनले चाहिँ शाही ‘कु’को विरोध मात्र गरेको होइन, एक कदम अगाडि बढेर गणतन्त्रको वकालत पनि गरे। माउ पार्टी कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र नेताहरूले गणतन्त्रको ‘ग’ पनि उच्चारण गर्न नसकेको त्यो बेला गगनको पार्टीभित्रै चर्को विरोध भयो। यतिसम्म कि गिरिजा स्वयंले नरहरि आचार्य र गगनहरू दरबारीया भएको आरोप लगाए। पार्टीका नेताहरू घरभित्रै थिए, गगनहरू भने गणतन्त्रको नारा लगाउँदै सडकमा ओर्ले।
‘अब राजतन्त्र र गणतन्त्र सँगै रहन सक्दैन’ भन्ने उद्घोष गरे। परिणाम स्वाभाविक थियो- उनले राजद्रोहको मुद्दा खेपे। गगनको राजनीतिक उचाइ झन् बढ्दै गयो।
गिरिजाबाबुलाई गगनको ‘चुरीफुरी’ पाच्य भएन। गगनहरूलाई साइड लगाउन उनले गुरु घिमिरे सभापति र गगन महामन्त्री भएको नेपाल विद्यार्थी संघको कार्यसमिति नै विघटन गरिदिए। अनि केशव सिंहलाई सभापति तोक्दै पोखरामा अधिवेशन गर्ने जिम्मा दिए। गगन हिरासतमै थिए, यता पोखरामा उनैलाई सभापति बनाउने माहोल सुरु भइसकेको थियो। गिरिजाप्रसाद कोइराला नेपाल विद्यार्थी संघको अधिवेशन उद्घाटन गर्न पोखरा आए। चिप्लेढुंगामा आयोजित उद्घाटन समारोहमा उनले गणतन्त्रबारे केही बोलेनन्।
संयोग कस्तो भने सभापति कोइराला उद्घाटन सकेर काठमाडौँ जान पोखरा एयरपोर्ट पुग्दा गगन हिरासतबाट छुटेर पोखरा आउँदै थिए। पोखरा विमानस्थलमा उनीहरूको भेट भयो, तर गिरिजाबाबुको सदाशयता गगनले पाएनन्। उनी सोझै अधिवेशनस्थल पोखरा सभागृह गए। मञ्च हैन, बाहिर बसेर दमदार भाषण गरे। संस्थापनविरोधी गगनविरुद्ध आक्रमणकै प्रयास भयो। महाधिवेशन भाँडियो । पछि कांग्रेसले महेन्द्र शर्मालाई नेविसंघको सभापति बनायो। पद नभए पनि गगन शाही शासनविरुद्ध गर्जिरहे।
मातृ पार्टी नेपाली कांग्रेसले आफ्नो विधानबाट संवैधानिक राजतन्त्र झिकैकै थिएन। नरहरि आचार्य र गगन थापाहरूले भने गणतन्त्रको नारा उचालिरहे। शाही शासन झन् निरकुंश बन्दै जाँदा गणतन्त्रका पक्षमा जनमत बढ्दै थियो।
अन्ततः २०६२ भदौ १४ कांग्रेस सभापति कोइरालाले भने, ‘अब कांग्रेस पनि काँचुली फेर्न बाध्य भयो, राजाले काँचुली फेरेर निरंकुश राजतन्त्रको कवच भिरे। राजाले आफ्नो प्रतिबद्धता फेरेपछि हामीलाई पनि हाम्रो प्रतिबद्धता फेर्ने अधिकार छ।’
पार्टीको ११औँ महाधिवेशन उद्घाटनमा कोइरालाले खुब ताली पाए। गगनहरूको नारा पार्टीले अनुमोदन गर्यो। २०६२ भदौ १४-१७ गते काठमाडौँमा भएको कांग्रेसको एघारौँ महाधिवेशनले विधानबाट‘संवैधानिक राजतन्त्र’ हटाउने निर्णय गर्यो। पार्टीले आफ्नो एजेन्डा स्वीकार्दा पनि गगनले नेपाल विद्यार्थी संघको सभापति बन्ने अवसर भने पाएनन्।
नेविसंघको चितवन अधिवेशनमा उनले प्रदीप पौडेललाई सघाउने निर्णय गरे। गणतन्त्रपछि उनी पार्टीको मूलधारको राजनीतिमा होमिए। काठमाडौँ क्षेत्र नम्बर ४ को सभापति बने। त्यो बेलासम्म उनी गिरिजाबाबुका लागि आवश्यक भइसकेका थिए। गिरिजाबाबुले नै उनलाई २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारमा राखे। ‘स्टार प्रचारक’का रूपमा देश दौडाहामा पठाए। गगन त्यसबेला सबैभन्दा बढी भाषण गर्न निम्त्याइएका नेतामा दर्ज भए।
गगन त्यसयता दुवै कार्यलका संविधानसभा सदस्य र दुई कार्यकाल सांसद बने। प्रचण्ड नेतृत्व सरकारमा स्वास्थ्यमन्त्री बनेका उनले राजकीय पदप्रति अन्याय गरेनन्। सुधारका केही स्मरणयोग्य कामको थालनी गर्दै आफूलाई औसतभन्दा माथि नै राखे।
नेपाली कांग्रसको १३औँ महाधिवेशनमै महामन्त्रीका उम्मेदवार बने। तर बीपीपुत्र डा. शशांक कोइरालासामु उनको केही लागेन। १४औँमा भने सर्वाधिक मतसहित विजयी बने। उनलाई विश्वप्रकाश शर्माले पच्छ्याए। संस्थापनइतर समूहबाट निर्वाचित गगन र विश्वप्रकाश कांग्रेस बदल्ने विषयमा एकै ठाउँमा उभिने अवस्था सिर्जना भयो। गगन–विश्वहरूले पार्टीभित्र पुस्तान्तरणको नारा उरालिरहे। सभापति शेरबहादुर देउवालाई दबाब दिइरहे।
देउवाको अकर्मण्यता
कांग्रेसको विधानअनुसार शेरबहादुर देउवा फेरि सभापति हुने बाटो बन्द भइसहेको थियो। उनी पाँचपटक प्रधानमन्त्री र दुई कार्लकाल पार्टी सभापति भइसकेका थिए। तर पनि उनमा सत्ताप्रतिको लोभ घटेन। बढ्दो उमेर, परिवार र गुटको घेराबन्दी अनि छैटौँपटक प्रधानमन्त्री हुने ‘अतृप्त सत्तामोह’ले ग्रस्त हुँदा देउवाको पुरानो विरासत स्खलित भयो। डडेल्धुराबाट बडो संघर्षले उदाएका देउवा कार्यकर्ता पंक्ति र आम नागरिकको पहुँचबाहिर भए। उनीसम्म भुइँतहको कुरा पुग्दैनथ्यो वा पुगे पनि उनी त्यसलाई ‘बाल’ दिँदैनथे। २०८२ को असारमा एमाले अध्यक्ष केपी ओलीसँग भएको सत्ता साझेदारीको ‘दहीचिउरे सहमति’को मातमा रहेकै बेला देशमा जेनजी आन्दोलन भयो। भदौ २३ र २४ को हुरीले ओलीलाई सत्ताच्युत गरायो भने देउवामाथि निर्मम आक्रमण भयो। घर पनि जलाइयो।
त्यसो त भदौ २४ को विध्वंशबाट गगन पनि अछुतो रहन सकेनन्। तर उनले पार्टीमा उठाएको पुस्तान्तरण नाराको सार्थकता बढ्न थाल्यो। त्यसको माग भयो। देउवासँग समयको पदचाप सुन्ने सामर्थ्य हुन्थ्यो भने तत्काल महाधिवेशन आह्वान गर्न सक्थे। तर पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवादी दिँदै उपचारका लागि सिंगापुर उडे। पार्टीभित्र विशेष महाधिवेशन माग गर्ने गगन–विश्वप्रकाशहरूको ‘तेजोबध’ गर्न उतैबाट निर्देशन दिए। देउवा चुके अनि उनकै पछि लाग्दा पूर्णबहादुरको निष्ठामा प्रश्न खडा भयो। विशेष महाविधेशन रोकिएन, गगन सभापति चुनिए। कांग्रेसको नेतृत्व बदलियो।
कांग्रेस बदलियो त ?
विशेष महाधिवेशनबाट सभापति चुनिएलगत्तै गगन ‘बदल्यौँ कांग्रेस : बदल्छौँ देश’को नारासहित प्रतिनिधिसभाको निर्वाचन (२०८२ फागुन २१) मा होमिए। हतार हतार हिजो संस्थापन समूहमा रहेका र विशेष महाधिवेशनमा सहभागी नभएकाहरूलाई पनि टिकट दिएर उनले आफूलाई शक्तिशाली देखाए।
जेनजी आन्दोलनपछि देशको मुड बदलिएको थियो। जनताले परिवर्तन चाहेका थिए। नेतृत्व बदलिए पनि, केन्द्रीय सत्ताको कुर्सीमा नभए पनि कांग्रेस सत्तामै रहेको जनताको बुझाइ थियो। जनताले प्रदेश र स्थानीय तहमा रहेका कांग्रेसीको अनुहार हेरे। ती अनुहार बेदाग थिएनन्। सभापति चुनिएसँगै काठमाडौँ-४ छाडेर सर्लाही-४ झरेका गगनलाई मतदाताले पत्याएनन्। ‘चुपचाप, घण्टी छाप’ गरिदिए।
हो, नेतृत्वमा गगन आए पनि जनताको नजरमा कांग्रेस बदलिएको छैन। सभापतिका रूपमा गगनको पहिलो चुनौती नै यही छ। लाग्छ- गगनले त्यो महसुस गरेका छन्। उनले १५औँ महाधिवेशनको उद्घाटन सत्रमा दिएको मन्तव्यले त्यही संकेत गर्छ। गगनले भनेका छन्, ‘कांग्रेसको फलानो पदमा छु भनेर चिनिनुभन्दा पनि समाजको अरू कुनै क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलिरहेको र ऊ कांग्रेस पनि छ भन्ने होस्।’
कांग्रेसको इतिहास गर्विलो छ। २००७ सालदेखि हरेक परिवर्तनको मुख्य वाहक बनेको कांग्रेसले त्यसको ब्याज खाइरहेको कुरा पनि उत्तिकै सत्य हो। तर, अहिले ‘हिजो कांग्रेसले यस्तो गरेको थियो, त्यसैले कांग्रेसलाई भोट देऊ’ भन्ने आग्रहको कुनै अर्थ छैन। यो कुरा
गगन स्वयंले स्वीकारेका छन्। ‘इतिहास गौरवशाली छ तर इतिहासले शक्ति दिँदैन, शिक्षा दिन्छ’, गगनले भनेका छन्, ‘इतिहासले दिने शिक्षालाई वर्तमानको कर्ममा लगायौँ र त्यसबाट प्रेरित भएर आफ्नो कर्मलाई चलायौँ भने बल्ल त्यसले शक्ति दिन्छ।’
समयको वेग बुझ्न नसक्दाको परिणति कस्तो हुन्छ भन्ने प्रश्नको उत्तर खोज्न टाढा जानै पर्दैन। कांग्रेसभन्दा जेठो प्रजापरिषद् र भारतको कंग्रेस आई हेरे पुग्छ।
नि:सन्देह कांग्रेस बीपी वा गिरिजाबाबुकै कार्यकालका जस्ता कार्यकर्ता भएको पार्टी छैन/रहेन। सभापतिका रूपमा गगनको पहिलो कार्यभार नै पार्टीलाई बिचौलियामा रुपान्तरित भएका कार्यकर्ताबाट मुक्त गराउनु रहेको छ। कांग्रेसको विशेष महाधिवेशनले पार्टीमा ‘ल्याटरल इन्ट्री’ अर्थात् समाजमा विशिष्टता प्राप्त गरेका व्यक्तिलाई सोझै सदस्यता दिने नीति तय त गरेको छ। तर पार्टीभित्र जमेको ठुलो शक्तिलाई हटाएर निष्कलंक त्यस्ता व्यक्ति ल्याउन सजिलो छैन। सबैलाई समेट्ने र मिलाउने नाममा गगनले १५औँ महाधिवेशनकै क्रममा ‘गलत प्रवृत्ति’सँग सम्झौता गरिसकेका छन्। त्यसैले कथं त्यस्ता निष्कलंक व्यक्ति आइहाले पनि अहिलेकै संरचनामा उनीहरूले उचित भूमिका प्राप्त गर्छन् भन्ने ग्यारेन्टी छैन। समाजको ठुलो वर्ग यतिबेला नयाँ अर्थात् सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पक्षमा छन्।
कांग्रेसीजन स्वयंको मुखमा ‘घण्टी कांग्रेस’ भन्ने थेगो झुन्डिएको छ। रास्वपा सभापति रवि लामिछानेले कांग्रेसको १५औँ महाधिवेशन समारोहमै ‘यहाँ उपस्थित कतिले अघिल्लो चुनावमा घण्टीमा भोट हाल्नुभएको थियो होला’ त्यसै भनेका होइनन्। कति क्रियाशील सदस्य छन् होइन कि कति बफादार सिपाही छन् भन्ने कुराले पार्टीको शक्ति मापन हुन्छ भन्ने वास्तविकता गगनले बुझ्नैपर्छ। बफादार सिपाही तयार पार्न अनुशासन त चाहिन्छ नै, साथै पार्टीको आर्थिक र सामाजिक नीति बुझाउन सक्नुपर्छ। महाधिवेशनले पारित गरेका नीति सुनाउँदै जनताको मन जित्नुपर्छ। गगनले पार्टीमा हिजो रहेका १० लाख पुराना कार्यकर्ता फर्काउने वाचा गरेका छन्।
तर, उता हिजोको संस्थापन अर्थात् आजको इतर देउवा समूह नियमित भन्दै आगामी मंसिरमा १५औँ महाधिवेशन गर्ने तयारीमा छ। अदालत गुहारेको यो समूह आफैँले वैधानिकता पाउने आशामा मात्र होइन, कार्यकर्ता चोर्ने ध्याउन्नमा पनि देखिन्छ। अदालतले चारतारे झण्डा र रुख चुनाव चिह्न कसको हुन्छ भन्ने निरुपण गर्ला नै। तर अहिले देउवा समूहले गरेका गतिविधि निस्तेज पार्नु पनि गगनका निम्ति चुनौती बनेको छ।
आउँदो चुनाव र सत्ता
प्रदेश र स्थानीय चुनाव नजिकिँदै छन्। सत्तारूढ दल रास्वपाले तयारी थालिसकेको छ। सत्तामा रहेको रास्वपाप्रतिको भरोसा नटुटेको वर्तमान अवस्थामा कांग्रेसको पहिलो प्रतिस्पर्धी रास्वपा नै हो। अघि नै भनियो- जनताले कांग्रेसी अनुहारलाई मन पराएका छैनन्। प्रदेश र स्थानीय तहमा उनै पुराना अनुहार दोहोरिए वा जनताले ठिक नठानेका पात्र उम्मेदवार बने भने कांग्रेसको बचेखुचेको सत्ता पनि गुम्नेछ।
कांग्रेस तत्काल राज्य सत्तामा पुग्ने सम्भावना कम छ। बरु बाँकी सत्ता पनि गुमाउँदा कांग्रेस जनतासँग कसरी जोडिएला भन्ने प्रश्न टड्कारो बनेको छ। कांग्रेसीहरूमा जनतासँग जोडिनुपर्छ भन्ने भावना कमजोर हुँदै गएको छ। पालिका र वडागत रूपले पनि सत्तामा नहुँदा कांग्रेस झन् कमजोर हुने सम्भावनालाई पनि गगनले बेलैमा मनन गर्नुपर्छ। अर्थात् आउँदो चुनाव उनका निम्ति अर्को परीक्षा हुने निश्चित छ। गगनले तत्काल सत्तामोह देखाएका छैनन् तर राजनीतिक दलको अभीष्ट सत्ता नै हो र हुनुपर्छ। गगन स्वयंले त्यसलाई नकारेका छैनन्। वर्तमान सत्ताको विकल्प बन्ने उद्घोष गरेका छन्।
‘यतिबेला देशमा आवश्यकता र अवस्थाको बिचमा पुल चाहिएको छ, त्यो पुलको काम कसले गर्छ? अब नेपाली कांग्रेसले गर्छ’, गगनले भनेका छन्, ‘डेमोक्रेसी र डेलिभरी, स्वतन्त्रता र समृद्धि, अनुभव र ऊर्जाका बिचमा पुलको काम कांग्रेसले गर्छ।’
प्रतिपक्षको परीक्षा
गगनको यही भनाइबाट प्रतिपक्षको परीक्षा पनि सुरु हुन्छ। वर्तमान प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संसद्प्रति उतिसारो उत्तरदायी देखिएका छैनन्। जेनजी आन्दोलनको राप र तापले जाज्वल्यमान बालेनले संसद्लाई हैन, फेसबुकलाई अभिव्यक्तिको माध्यम बनाएका छन्। संवैधानिक अंगहरूमा दबाब सिर्जना गरेका छन्। अनि अध्यादेशमार्फत शासन गर्न उद्यत देखिएका छन्।
संसदीय मूल्य र मान्यताप्रतिको उदासीनता र सुरक्षा अंगप्रति बढ्दो भरोसाले केही प्रश्न जन्माएका छन्। प्रमुख प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले प्रधानमन्त्रीको कदममा आपत्ति जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेङ्बेको भूमिकामा हालसम्म असन्तुष्टि जनाउनुपर्ने कारण छैन। तर आउँदा दिन सजिला छैनन्।
झन्डै दुईतिहाइ बहुमतको सरकार प्रजातन्त्र र संसदीय मान्यताविपरीत जान खोज्दा सचेत गराउने तथा आवश्यक परे सदन अनि सडकमा सशक्त प्रतिरोध गर्ने सामर्थ्य पनि कांग्रेससँग हुनैपर्छ। संसद्मा नरहे पनि सभापतिका रूपमा गगन यो कार्यमा खरो उत्रन जरुरी छ। यसो भनिरहँदा संविधान संशोधनलगायत मुद्दामा आम सहमति जुटाउने र रचनात्मक कार्यमा सहयोग गर्ने जिम्मेवारी पनि गगनकै हो। नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चासोबाट टाढा छैन, कांग्रेस स्वयंले पनि बेलाबेला यस्ता शक्तिकेन्द्रसँग सहकार्य गरेको इतिहास छ। ती शक्तिकेन्द्रसामु सत्ताका लागि गिडगिडाहट कम्तीमा गगनका निम्ति सुहाउँदैन। राष्ट्रका निम्ति त त्यो घातक छँदै छ।
गगन नेतृत्वको कांग्रेसले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएको छ। हिजो बोझिलो संगठनको खिलापमा रहेका गगनले ‘बाध्यता र लालसा’का कारण यो निर्णय गरेको प्रस्ट छ। यो संरचनालाई ‘गफ गर्ने थलो’ बनाउने कि नयाँ विचारको उद्गमस्थल, गगनकै निर्णयमा निर्भर छ। सुरुमै भनियो- गगनसँग प्रश्न गर्ने र त्यसको समाधान खोज्ने सामर्थ्य छ।
सत्तामा नभएकाले उनीसँग कार्यकर्तासँग जोडिन कसैले रोक्ने छैन। सांसद नभएकाले उनी मेची–महाकाली अभियान गर्न फुक्काफाल छन्। तर, समयको गति बढो वेगवान छ। बदल्नुपर्ने र गर्नुपर्ने काम धेरै छन्। पाँच वर्षपछि विश्वप्रकाशलाई सभापति पद छाड्नु छ। देश बदल्न प्रधानमन्त्रीको कुर्सीमा पुग्नु छ। त्यसका निम्ति असान्दर्भिक हुनै आँटेको कांग्रेस बलियो बनाउनु छ। त्यसैले सत्ताविहीन सभापति गगनसँग समय पनि कम छ।





