पर्वत/नेपालीका प्रमुख चाडपर्व दसैं, तिहार तथा छठ नजिकिएसँगै पर्वतमा बजारमा हुने कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत र एकीकृत सेवा कार्यालय पर्वतले संयुक्त रुपमा जिल्ला विभिन्न स्थानका होटेल तथा किराना पसलमा अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा २० हजार ५ सय ५० का म्याद गुर्जेका र अखाद्य वस्तुलाई नष्ट गरियो । अनुगमनको क्रममा होटल, रेस्टुरेन्ट, किराना पसल, मिठाई पसल सञ्चालकले पालना गर्नुपर्ने नियम उल्लेख गरिएको सचेतना सामग्रीसमेत वितरण गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको मूल्य, होटल तथा खाद्य व्यवसायको सरसफाइ, खाद्यवस्तुमा अखाद्य रङको प्रयोग, व्यवसाय दर्ता तथा नवीकरण र म्याद गुज्रिएका सामग्रीको बिक्री हेरिएको जनाए । एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख जीवन पौडेलले होटल तथा मिठाइपसलमा सरसफाइको कमी रहेको, खाद्यवस्तुमा अखाद्य रङ प्रयोग गरिएको तथा चाउमिन र मम उत्पादन गर्ने उद्योगले आवश्यक लेबलिङ र प्याकेजिङ नगरी सामग्री बिक्रीका लागि राखेको पाइएको जानकारी दिए ।
टोलीले केही होटलबाट अखाद्य रङका बट्टा नियन्त्रणमा लिई नष्ट गरेको छ । आवश्यक लेबलिङ तथा प्याकेजिङ नगरी बिक्रीका लागि राखिएका चाउमिन र मम तथा उपभोग्य मिति समाप्त भएका सामग्रीसमेत बरामद गरी नष्ट गरिएको कार्यालय प्रमुख पौडेलले बताए ।
जिल्ला बजार अनुगमन समितिले निर्धारण गरेको वार्षिक कार्यतालिकाअनुसार नियमित अनुगमनलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।गुणस्तर सुधार तथा नापतौल कार्यालय पोखराका प्राविधिकसमेत सहभागी अनुगमन टोलीले व्यवसायीलाई आवश्यक सुझाव तथा निर्देशन दिएको छ । सुधार गर्न दिइएको निर्देशन पालना नगरेको पाइएमा उपभोक्ता संरक्षणसम्बन्धी कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।





