आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

बाल सञ्जाल पर्वतको अध्यक्षमा पैयूँका न्यौपाने

बाल सञ्जाल पर्वतको अध्यक्षमा पैयूँका न्यौपाने


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८३, आइतबार

पर्वत/अघिल्लो कार्यसमितिको दुई बर्षे कार्यकाल पूरा भएपछि जिल्ला बाल सञ्जाल पर्वतको पुनर्गठन भएको छ ।

एकीकृत सेवा कार्यालय पर्वतको आयोजनामा शनिवार कुश्मामा भएको भेलाबाट ११ सदस्यीय नयाँ कार्यसमिति निर्माण भएको हो । जिल्लाका सात वटा स्थानीय तहहरूबाट प्रतिनिधिमूलक रूपमा सहभागी भएका ३५ जना बालबालिकाहरूको भेलाबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो ।

‘बालबालिकाको बाँच्न पाउने, संरक्षणको, विकास गर्न पाउने र सहभागिता अधिकार सुनिश्चितता’ भन्ने नाराका साथ नयाँ बनेको समितिको अध्यक्षमा पैयूँ गाउँपालिकाका दिप्सन न्यौपाने, उपाध्यक्षमा मोदी गाउँपालिकाकी सुदीशा लामिछाने, सचिवमा कुश्मा नगरपालिकाकी प्रितिमा जि.सी र सहसचिवमा जलजला गाउँपालिकाका अजय परियार चयन भएका छन् । यस्तै स्थानीय तहलाई प्रतिनिधित्व गर्दै रहने सदस्यहरूमा कुश्मा नगरपालिकाबाट कुशल पौडेल, फलेवास नगरपालिकाबाट कृषा तिवारी, महाशिला गाउँपालिकाबाट रोजन बि.क., बिहादी गाउँपालिकाबाट रामप्रसाद पराजुली, पैयूँ गाउँपालिकाबाट आइसी मल्ल, मोदी गाउँपालिकाबाट ललिता मल्ल र जलजला गाउँपालिकाबाट आयुष्मा दर्जी चयन भएका छन् ।

स्थानीय तहबाट जिल्ला कार्यसमितिमा प्रतिनिधित्व गर्ने सदस्यहरूबिच आपसी समझदारी नै प्रतिनिधित्व सुनिश्चित भएको भए पनि अध्यक्ष पदमा भने तीन जना अकांक्षी रहेका थिए । उनीहरूबिच गोला प्रथाको आपसी सहमति भएपछि गोला प्रथामार्फत अध्यक्ष पदमा न्यौपाने चयन भएका हुन् । नयाँ कार्यसमिति चयन भएका, निवर्तमान समितिमा रहेका तथा स्थानीय तहबाट प्रतिनिधित्व गरेका बालबालिकाहरूलाई समितिमा चयन भएको तथा सहभागिताको प्रमाण पत्र पनि सोही कार्यक्रममा वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला बाल अधिकार समितिका अध्यक्ष नवीन जि.सी.ले बालबालिकामा नेतृत्व सीपको विकासका लागि सञ्जालको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताए । यसमा आबद्ध बालबालिकाहरू स्वयंले धेरै कुराहरू सिक्न पाएको र आफूले जानेका कुराहरू अरूमा पनि फैलाएर जिम्मेवार नागरिकको रूपमा विकास हुँदै गरेको उनको भनाइ छ । आज नेतृत्व गर्न र इमानदारिताको पाठ सिकेको बालकले नै भोलिको समाजको जिम्मा पाउने भन्दै उनले आजैबाट बालबालिकाहरूमा अरूको बिचार सुन्न सक्ने क्षमता विकास हुनुपर्ने जि.सी.ले बताए ।

यस्तै एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले बाल अधिकारको पक्षमा बाल सञ्जालको भूमिकाको बारेमा बताउँदै उनीहरूको क्षमता विकासको पक्षकाबारेमा प्रस्ट पारे । आगामी दुई वर्षका लागि बनेको यो समितिले र कार्यालयले बालबालिकाहरूलाई नेतृत्व सीपको बारेमा सिकाउने बताए । बालबालिकालाई जिम्मेवार, रचनात्मक बनाउँदै उनीहरूमा अधिकारको खोजी र दायित्वको अभिभारा पूरा गर्नमा सञ्जालले सहयोग गर्ने उनको भनाइ छ ।

कार्यक्रममा प्रदेश बाल परिषद्का अध्यक्ष सन्दीप चापागाईँले जिल्ला बाल सञ्जालको गठन, बाल अधिकारी, कर्तव्य तथा बालबालिकाको क्षमता विकासको बारेमा अभिमुखीकरण गरेका थिए । कार्यक्रममा जिल्लाका सात वटै स्थानीय तहबाट महिला बालबालिका वा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेका कर्मचारीहरू स्थानीय तहका प्रतिनिधिमूलक बालबालिकाहरूको अभिभावकहरूको रूपमा सहभागी भएका थिए ।

नयाँ कार्यसमिति चयन भएसँगै २०८१ सालको भदौमा निर्जला खानालको नेतृत्वमा बनेको कार्यसमितिको जिम्मेवारी पूरा भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->