बागलुङ (खर्वाङ)/नेपाली सुगम तथा लोकपप सङ्गीतको क्षेत्रमा ‘सान्नानी’ले छुट्टै स्थान बनाएको छ । पछिल्लो समय सिक्वेल हराउँदै गएको लोकपप क्षेत्रमा सान्नानीले भने आफ्नो छुट्टै पकड बनाएको छ । गायक तथा सङ्गीतकार हरि गिरी विमर्शी र मोडल विष्णु गिरी ‘अफ्रिका’को सहकार्य रहदै आएको सान्नानी गीतका पछिल्ला तिन गीत शृङ्खलाले दर्शक तथा श्रोताको व्यापक मन जित्न सफल भएको छ ।
वैदेशिक रोजगारीका सिलसिलामा अफ्रिकामा रहेका बागलुङ बडिगाड–२ राक्सेका विष्णु गिरीले विदेशमै गीतको छायाङ्कन गर्ने गरेका छन् । विदेशमा रहेर पनि नेपाली कला, सङ्गीत र संस्कृतिको प्रवद्र्धनमा सक्रिय गिरीले भिडियोमा अफ्रिकी कलाकारहरूलाई नेपाली धुनमा नचाउने गरेका हुन ।
केही दिन अघिमात्रै नेपाल आएका उनले बुधबार ‘सान्नानी ४’ नौ डाँडा काटेर युट्युबमार्फत सार्वजनिक गरेका छन् । हरि गिरी विमर्शीको शब्द संगीत रहेको गीतमा हरि गिरी विमर्शी र अञ्जिता विश्वकर्माको स्वर रहेको छ भने भिडियोमा अनुष्का घर्ती क्षेत्री र विष्णु गिरीको मुख्य भुमिकासहित अफ्रिकी कलाकारहरू पनि छन् ।
सान्नानीका अन्य तीन भागमा जस्तै यसमा पनि नेपाली संस्कृति र विदेशी कलाकारहरूको रोचक अभिनयको समिश्रणले भिडियोलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको छ ।
यसअघि युट्युबमा सार्वजनिक भएको ‘सान्नानी’ को पहिलो भागलाई हालसम्म ३ करोड २४ लाखभन्दा बढी पटक हेरिएको छ । सोही निर्माण टोलीको ‘सान्नानी २’ (स्याना) लाई ७५ लाखभन्दा बढी पटक युट्युबमा जोखिदा ‘सान्नानी ३’ (हुँदै हुन्न) लाई ५० लाखभन्दा बढी पटक हेरिएको छ ।
नेपाली मौलिकता, हास्यरस, प्रेम र वैदेशिक जीवनको परिवेशलाई समेटेर तयार पारिएको ‘सान्नानी’ गीत शृङ्खलाले सामाजिक सञ्जालमा पनि उतिकै माया पाउने गरेको छ । नेपाली र विदेशी कलाकारको सहकार्य तथा मनोरञ्जनात्मक प्रस्तुतिका कारण यो गीत शृङ्खला पछिल्लो समयको चर्चित र स्मरणीय लोकपप सिर्जनाका रूपमा स्थापित हुँदै गएको छ ।





