मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

अन्नपूर्ण गाउँपालिकालाई विपद्मा १ करोड

अन्नपूर्ण गाउँपालिकालाई विपद्मा १ करोड

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले मनसुनजन्य विपद्को घडीमा साथ दिने सबैप्रति आभार प्रकट गर्दै उनीहरूको योगदानले क्षतिग्रस्त सडक तथा पूर्वाधार पुनर्निर्माण कार्यलाई महत्वपूर्ण सहयोग पुगेको बताए ।


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०८३, मंगलबार

पोखरा/मनसुनजन्य घटनाबात प्रभावित कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् कोषको खर्च विवरण सार्वजानिक गरेको छ । कार्यक्रममा सहयोग गर्नेहरुलाई सम्मानसमेत गरियो ।

गाउँपालिकाले विपद्पछि पुनःनिर्माणका लागि आर्थिक, भौतिक र नैतिक सहयोग गर्नेहरुलाई सम्मान गरेको हो । पालिकाले नयाँपुल वीरेठाँटी घान्द्रुक सडक विपद् पुनर्निर्माणका लागि सहयोगको अपिल गरेको थियो । गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले मनसुनजन्य विपद्को घडीमा साथ दिने सबैप्रति आभार प्रकट गर्दै उनीहरूको योगदानले क्षतिग्रस्त सडक तथा पूर्वाधार पुनर्निर्माण कार्यलाई महत्वपूर्ण सहयोग पुगेको बताए ।

गएको साउनमा मोदी खोलामा आएको बाढीले वीरेठाँटी क्षेत्रमा करिब एक सय मिटर कालोपत्र सडक कटान गर्दा वीरेठाँटी घान्द्रुक सडक अवरुद्ध बनेको थियो । क्षतिपछि गाउँपालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरी सहयोग आह्वान गरेको थियो । मनसुन सुरु भएसँगै असारमा त्यति क्षति नपुगेको अन्नपूर्ण गाउँपालिकामा साउनको अन्तिम साता भने ठूलो क्षति भएको थियो ।

साउन २८ र २९ गते अविरल वर्षापछि मोदी खोलामा बाढी आउँदा त्यसले अकल्पनिय क्षति पुगेको थियो । मोदी र त्यसका सहायक खोलामा आएको बाढीलेसडक तथा पुल, पदमार्ग तथा पर्यटकीय संरचना नष्ट गरेको थियो । सो बाढीले नयाँपुल वीरेठाँटी घान्दु्रक सडक पूर्ण रुपमा अवरुद्ध बनाएको थियो । बाढीबाट पालिकाको वडा नम्बर ५, ६, ८, ९, १०, ११ बढी प्रभावित भएका थिए ।

प्रमखु प्रशासकीय अधिकृत चिरञ्जीवी बराल पालिकालाई १ करोड ४ लाख ८५ हजार ४९८ रुपैयाँ आर्थिक सहयोग भए पनि ३५ लाख रुपैयाँ खातामा आउन बाँकी रहेको जानकारी दिए । सहयोगपछि पालिकाको विपद् राहत कोषमा ६९ लाख ८५ हजार चार सय ९८ रुपैयाँ जम्मा भएको छ भने ३५ लाख रुपैयाँ कास्कीका अन्य तीन पालिका र एक्यापबाट आउने प्रतिबद्धता छ ।

‘कुल संकलित रकम ६९ लाख ८५ हजार रुपैयाँ हो । रुपा, मादी र माछापुच्छे«ले ५÷५ लाख र एक्यापले २० लाख रुपैयाँ दिने प्रतिबद्धता गर्नुभएको छ, जुन आउन बाँकी छ’, प्रमुख प्रशासकीय बरालले भने, ‘हामीले रकम कति उठ्यो, कामको प्रगति कति भयो भन्ने सार्वजानिक पनि गरेका छौं ।’

पुनर्निर्माणमा हालसम्म ६६ लाख ६५ हजार ५ सय ४३ रुपैयाँ खर्च भएको छ । पालिकाले ५० करोडभन्दा माथिको क्षति भएको अनुमान गरेको छ । अहिले अस्थायी रुपमा सडक सञ्जाल जोडिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->