पोखरा/वडा प्रहरी कार्यालय बगरअन्तर्गत पोखरा–१, सिमपानीस्थित जौबारीमा नवनिर्मित प्रहरी बिटको पक्की भवन हस्तान्तरण गरिएको छ । घटस्थापनाको अवसरमा आइतबार आयोजितसमारोहमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखप्रहरी उपरीक्षक नवीन कार्कीले भवन उद्घाटन गरे ।
जेनजी प्रदर्शनका क्रममा तत्कालीन संरचनामा क्षति पुगेको र सडक विस्तारका क्रममा स्थानान्तरण गर्नुपर्ने भएकाले स्थानीय समुदायको सक्रियतामा यो पक्की भवन निर्माण गरिएको हो । गत माघ २३ गते शिलान्यास भई सुरु भएको निर्माण कार्य सम्पन्न भएसँगै उक्त भवनबाट प्रहरी सेवा नियमित रूपमा सञ्चालन भइसकेको छ ।
कार्यक्रममा कास्कीका प्रहरी प्रमुखप्रहरी उपरीक्षक कार्कीले चुनौतीपूर्ण परिस्थितिमा पनि नागरिकको साथ र सहयोगकै कारण प्रहरी पुनः उभिन सफल भएको बताए । प्रदर्शनका क्रममा उच्छृंखल तत्वहरूले क्षति पु¥याए पनि स्थानीयको सहकार्यले सुरक्षा व्यवस्था थप सुदृढ बनेको उनको भनाइ छ ।
जौबारी प्रहरी बिट निर्माण समिति संयोजक इन्जिनियर प्रवीण सुवेदीले स्थानीयको आर्थिक, भौतिक तथा श्रमदानका कारण भवन निर्माण सफल भएको बताए । बिटस्थापनाले यस क्षेत्रमा सुरक्षाको अनुभूति गराउनुका साथै समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास उनले व्यक्त गरे ।
समितिकी कोषाध्यक्ष राधा बराल (अधिकारी) ले १६ लाख ७३ हजार ३ सय २८ रुपैयाँ आम्दानी भएकोमा १५ लाख ९५ हजार ७१५ रुपैयाँ खर्च भई ७७ हजार ६१३ रुपैयाँ बचत भएको जानकारी दिइन् । कार्यक्रममा पोखरा वडा नं. १८ का अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले युवाको नेतृत्व र नागरिकको सहयोगबाटै समाज सुरक्षाको जग बलियो हुने बताउँदै प्रहरीको साथमा सधैँ समुदाय रहने प्रतिबद्धता जनाए ।





