बागलुङ (खर्वाङ)/बडिगाड–१०को सिर्जनशील आधारभूत स्कुलमा गएको वर्षसम्म कक्षा ३ सम्म पढाइ हुन्थ्यो । यसपालि कक्षा १ को मात्रै पढाइ भएको छ । त्यो कक्षा १ मा पनि ३ जनामात्रै विद्यार्थी छन् ।
कार्यालय सहयोगीको भरमा ३ विद्यार्थीको पढाइ चलेको छ । नजिकै अरु स्कुल नभएकाले एक जनामात्र विद्यार्थी भए पनि स्कुल बन्द गर्न मिल्ने अवस्था छैन । विसं. २०८१ मा स्कुल छेउमा पहिरो गयो । पहिरोमा परी ११ जनाले ज्यान गुमाए । आरुपाटा, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायतका बस्तीका बासिन्दा विस्थापित भए ।
सिर्जनशील स्कुलका पूर्वशिक्षक सन्त रास्कोटीयस वर्षको असारपछि विद्यालयको शौचालय एक मिटरभन्दा बढी भाँस्सिएको बताउँछन् । ‘विद्यालयमा २ जना शिक्षकको दरबन्दी हो । विद्यार्थी कम भएपछि एउटा दरबन्दी काटियो,’ रास्कोटीले भने, ‘एक जना शिक्षक काजमा चिसापानी स्कुलमा हुनुहुन्छ ।’ पहिरोकै डरले वरपरका स्थानीय बसाइसर्दा विद्यार्थी नै नहुने अवस्था आएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अनुसूची १ अनुसार बागलुङ पहाडी जिल्ला हो । शिक्षा नियमावली, २०५९ ले तोके अनुसार पहाडी क्षेत्रका विद्यालयमा १ शिक्षक बराबर ४५ जना विद्यार्थी हुनुपर्छ । जिल्लाको बडिगाड गाउँपालिकामा भने १ शिक्षक बराबर औसत २१ जनामात्र विद्यार्थी छन् ।
महालेखाको प्रतिवेदनले बडिगाडका ११ विद्यालयमा एक शिक्षक बराबर १० जनाभन्दाकम विद्यार्थी भएको औंल्याएको छ । न्यून विद्यार्थी भएका विद्यालयमा पनि दरबन्दीका शिक्षक छन् । विद्यालय मर्जको अवधारणामा पालिका जान नसक्दा यहाँ प्रतिविद्यार्थी वार्षिक लागत ३२ हजार ७ सय ७०पुगेको छ ।
महालेखाले सिर्जनशीलसहित, सिद्धवारी प्रावि रणसिंह, लौँगा मावि जलजला, शिवालय प्रावि रणसिंह, देउराली प्रावि ग्वालिचौर, सिद्ध प्रावि जलजला, सुरकुडी प्रावि भीमगिठे, माइस्थान प्रावि भीमगिठे, किटेनी प्रावि सिसाखानी, तीनचुले प्रावि रणसिंह र माइस्थान प्रावि दगामा एक जना शिक्षक बराबर १० विद्यार्थी नभएको उल्लेख गरेको छ ।पालिकाभरका ६३ सामुदायिक विद्यालयमा ९ हजार ४७ विद्यार्थी पढाउन ४ सय २९ दरबन्दी छ । बडिगाडमा ३ सय ३४ स्थायी र ९४ राहत तथा करारका शिक्षक कार्यरत छन् ।
बडिगाडका शिक्षा अधिकृत कुलराज घिमिरेपालिकाले शिक्षक दरबन्दी मिलनकालागि काम भइरहेको बताउँछन् ।‘मावि सञ्चालनमा रहेको केही विद्यालयमा मावि दरबन्दी नै छैन । जिल्ला स्तरीय छलफलबाट पनि जिल्लाभर एकै किसिमको दरबन्दी मिलान गर्ने सहमति भएको छ,’ उनले भने,‘अब यहाँ पनि विद्यार्थीको टाउको गनेर विद्यालय अनुगमन गरी थप प्रक्रिया अघि बढाउने गरी काम हुँदैछ ।’
यता, खार माविका प्रध्यानाध्यापक यज्ञ घिमिरे पर्याप्त स्थायी शिक्षक दरबन्दी नहुँदा समस्या हुने गरेको बताउँछन् । बजार क्षेत्रका विद्यालयमा खासै विद्यार्थीको समस्या छैन । अंग्रेजी माध्यमका कक्षा सञ्चालन गर्दा बजार झरेका केही अभिभावक ठूला सहर पस्नबाट रोक्न सकिएको उनले जनाए ।
‘विद्यार्थी संख्या बजार क्षेत्रका विद्यालयमासमस्याको विषय होइन । तर स्थायी शिक्षकको समस्या पालिकाभर छ,’ घिमिरेले भने,‘गाउँपालिकाबाट शिक्षक पदपूर्तिको पहल भएपनि अस्थायी शिक्षककाकारण शिक्षक स्थायी नहुँदा पठनपाठनमा समेत असर पर्ने गरेको छ ।’
खार मावि जस्तै, लौंगा मावि जलजला, भानु मावि बडिगाड १० निगलपानीसहित आधारभूत तहका विद्यालय स्थायी प्रावि दरबन्दीकै भरमा चलेको गाउँपालिकाका शिक्षा अधिकृत कुलराज घिमिरे स्वीकार्छन् ।स्थायी दरबन्दीका शिक्षक पर्याप्त नहुँदाको असर पालिकाको एसइई नतिजामा देखिने गरेको छ ।
२०८१ को एसइईमा पालिकाभरका ७७ विद्यार्थीले मात्र उच्च जिपिए ल्याएका छन् । तीमध्ये७० सामुदायिक विद्यालयका विद्यार्थी हुन् भने ७ संस्थागत विद्यालयका विद्यार्थी । २०८२ सालको एसइई नतिजामा पनि पालिकाले खासै राम्रो परिणाम हाँसिल गर्न सकेन । ४ सय २२ विद्यार्थी परीक्षामा सहभागी भएकोमा आधा ५०.२३ प्रतिशत अर्थात २ सय १५ जनामात्रउत्तीर्ण भएका थिए ।
पालिकाकासामुदायिक विद्यालयमा विद्यार्थी संख्याभन्दा बढी शिक्षक हुँदासमेत गुणस्तर खस्कदो छ । विद्यार्थी कम भएका विद्यालयहरु गाभ्ने तयारी पनि भएको छ । तर स्थानीयले दुःखले स्थापना गरेको स्कुल गाभ्न चाहेका छैनन् ।
पालिकाको भौगौलिक बनावट ठूलो र जटिल भएकालेपनि बडिगाडमा सजिलै विद्यालय मर्ज गर्न कठिन परेको छ । २०८२ मा ८ हजार ७७८ विद्यार्थी रहेको बडिगाडमा यो शैक्षिक सत्रमा ८ हजार ३ सय ७५ विद्यार्थी छन् ।





