बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पाण्डवखानीमा हावाहुरीले निम्त्यायो विपद्

पाण्डवखानीमा हावाहुरीले निम्त्यायो विपद्


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०८३, बुधबार

बागलुङ/असोज पहिलो साताको वर्षातपछि हावाहुरीले गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीका ८० बढी घरको छाना उडाएको छ । सयौं रोपनी खेतमा लगाएको अन्नबाली ढलेको छ ।

घरको छाना उडेकाहरुले अहिले पनि बनाउन सकेका छैनन् । अत्याधिक हावाले किसानहरु मारमा परेको वडा अध्यक्ष भक्तबहादुर काउचाले बताए । उनीहरुको राहतका लागि जिल्लास्थित विपद् व्यवस्थापन समितिमा जानकारी गराएका छन् ।

‘धेरै जनाको समस्या छ, तत्काल घर मर्मत गरेर बस्न पनि लाखौं खर्च लाग्ने भएको छ’ काउचाले भने, ‘अहिले त सबैलाई पाल दिएर छाना छोप्न लगाइएको छ ।’ विपद्मा परेकालाई छाना छाउने व्यवस्थापन गराउन पहल भएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बडिगाड र गलकोटका धेरै गाउँमा यस्तो समस्या आएको बताए । ती समस्याहरुको लागत सङ्कलन गरेर केही न केही सहयोग गर्नैपर्ने भएको आचार्यको भनाइ छ । हावाहुरीकै कारण विद्युतका पोल ढलेका छन् । पोल नभएकै कारण विद्युत सेवा पनि अबरुद्व छ । विद्युत नभएपछि पाण्डवखानीभरि इमेल र इन्टरनेट सेवा पनि प्रभावित भएको स्थानीय सुरेश छन्त्यालले बताए ।

हालसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत यहाँ पुगेको छैन । स्थानीय भोतेखोलाको विद्युत बालेका स्थानीयले समस्याबारे बताउन समेत नसकेका हुन् । विद्युत पोल उठाउन ढीला भएपछि जेनेरेटरबाट टेलिफोन टावरमा विद्युत लाइन प्रसारण गर्न पहल गरेपनि संभव भैनसकेको काउचाले जानकारी दिए ।

पाण्डवखानीमा झण्डै ३ सय बढी घर अहिले पनि अन्धकारमा छन् भने सञ्चार सेवाबाट बञ्चित छन् । यहाँ जाने सडक समेत निकै अप्ठ्यारो छ । गलकोट नगरपालिका वडा नं. ७ को मल्मदेखि झिर्का हुँदै पाण्डवखानी जाने सडक दुइ खण्डमा निर्माण गर्ने गरी गण्डकी प्रदेश सरकारले ठेक्का लगाउने भनेपनि चार वर्षदेखि यो सडक खण्ड अलपत्र छ ।

पहिलो खण्डमा केही काम भएको छ तर दोश्रो खण्डमा सडक चौडा पार्ने काम पनि भएको छैन । जसका कारण सडक जोखिम छ । दैनिक सवारी साधन आएको खण्डमा पाण्डवखानीका जनताले कृषि उत्पादनको बजारीकरण गर्ने सोच बनाएका छन् । पाण्डवखानीमा फापर, तरकारी, दूध र नगदेबालीहरु एत्पादन हुन्छ । तर सडक अभावमा किसानले चाहेर पनि उत्पादन बढाउन सकेका छैनन् । भएको उत्पादन पनि बजार पठाउन नसकेपछि उत्पादन बढाउन नसकेको काउचा बताउँछन् ।

पाण्डवखानीदेखि रमुवा, बडिगाड गाउँपालिका–८ को खोलाखर्क, रणसिंकिटेनी हुँदै भिमगिठे निस्कने सडक स्तरीय बनाउन सकेमा स्थानीयले ग्रामीण क्षेत्रमा पनि सहज यात्रा गर्ने, कृषि उत्पादनको बजारीकरण गर्ने र बसाइ सराइ रोक्न सकिने संभावना रहेको स्थानीय तिलक घर्तीमगर बताउँछन् । सडक सञ्जालको अभावमा रमुवाका बासिन्दाले स्वास्थ्य सेवा लिन गलकोट आउनु परे ६ सय बढी गाडी भाडा तिर्न बाध्य छन् भने चारदेखि ५ घण्टाको यात्रा गर्नुपर्ने अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->