बागलुङ/बागलुङका सञ्चारकर्मीले पटक पटक कालीगण्डकी दोहनको समाचार लेखे । ठेकेदारहरुले त्यसको प्रतिवाद गरे । संरक्षणकर्मीहरु नदी बचाउमा लागे । नाफा गर्नेहरु नदीको बालुवा बेच्न लागे ।
त्यतिमात्र होइन, कालीगण्डकी नदी धार्मिक र सांस्कृतिक महत्वको भएकोले संरक्षण गर्नुपर्छ भन्दा निर्माण सामाग्री अभाव भयो भन्दै अफवाहहरु फैलाइन्थ्यो । त्यसो त नदीबाट निर्माण सामाग्री पनि निकालेर बजारमा सहज आपुर्ति गर्नैपर्छ ।
तर पछिल्लो समय नदी दोहन बढी थियो । नदीको धार परिवर्तन गरी सामान निकाल्ने गरिएको थियो । नदीमै ठुला खाडल बनाएको त अनुगमनमा भेटिन्थ्यो । असोज ११ गतेको बाढीले नदी दोहनको परिणाम आसपासमा क्षति गरेको छ । मालढुंगा पुल बग्नुदेखि लस्तीको बस्ती बग्नु र सहश्रधाराको सडक बगाउनुमा पनि त्यसको परिणाम लुकेको छ ।
५० वर्षदेखि बसेका बस्तीमा यसअघिको बाढीले क्षति नगरेको, अहिले भने गर्नुमा नदीको धार परिवर्तन प्रमुख कारण भएको स्थानीय नै बताउँछन् । कालीगण्डकी नदीको मालढुंगा पुलमा पनि गतवर्ष नै पर्खाल भत्केको थियो । मर्मत भएन । यो वर्ष पनि असारमा केही स्थानमा पहिरो खस्यो । वास्ता नभएपछि असोजमा पुल बगायो । नदी आफ्नो गतिमा हिंड्न पाउन्जेल आसपासका बस्ती र पुलमा कहिल्यै पनि क्षति नभएको स्थानीयले बताए । लस्तीका भरत आचार्यले यसअघि यस्तो बाढी आएर पनि बस्तीमा नपसकेको, अहिले बस्तीतर्फ मोडिएको बताए ।
धार परिवर्तन गर्ने र नदीमै खाल्डाखुल्डी पार्ने कामले जमिन र बस्ती बग्ने गरी क्षति भएको संरक्षणकर्मीहरु बताउँछन् । जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले पनि नदीको दोहनले अहिलेको क्षति निम्तेकोमा आंशिक सत्यता भएको बताए । जिल्लाको समीक्षा बैठकमा पनि उनले यो धारणा राखेका थिए ।
जथाभावी दोहन गर्नेलाई समितिकै सिफारिसमा स्थानीय तहले जरिवाना समेत गराएको थियो । असोज ११ गतेको बाढीले पर्वतको लस्तीका २५ घर तथा बागलुङको कालाखोलामा पनि घरगोठ बगेका छन् । नियरघाटको पक्की सडक, लस्तीको झोलुङ्गे पुल र पर्वत सहश्रधाराको पोखरा–बागलुङ सडक समेत बगेको थियो ।
मालढुंगा पुलको पुर्वी खण्ड बग्दा १६ दिनको प्रयास र २ करोड लगानीबाट मात्र पुल सञ्चालनमा आएको छ । पुलको सबै काम गर्न अझै समय लाग्ने डिभिजन सडक कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताए ।
नदीमा एस्काभेटर लगाएर दोहन गर्ने, प्रतिबन्ध लगाएको असार, साउन र भदौमा पनि नदीजन्य पदार्थ निकाल्ने, पानीको धार परिवर्तन गरेर दोहन गर्ने कार्यले अहिलेको संकट आएको संरक्षणकर्मी बताउँछन् । लस्ती, सहश्रधारा, बागलुङको गलुवा र कालाखोलामा भैरहेको नदी दोहनले आसपासमा क्षति गरेको देखिएको हो । जुन स्थानमा नदीको धार परिवर्तन गरी दोहन भएको छ, त्यसको अर्को दिशामा सडक र बस्ती बगेको छ ।
सहश्रधारामा बगेको सडकसँगै विद्युतका पोल, टेलिकमको फाइबर समेत बग्दा बागलुङमा तीन सातादेखि विद्युत अनियमित छ । इन्टरनेट सेवामा समस्या आइरहेको छ । हरेक दिन मर्मतको लागि विद्युत र इन्टरनेट काट्नुपर्ने बाध्यता आएपछि सेवाग्राहीलाई सास्ती छ ।
संरक्षणकर्मी आरके अदिप्त गिरीले कालीगण्डकी नदी दोहनको परिणाम पुल, बस्ती र सडकमा क्षति पुगेको सामाजिक संजालमा लेखेका छन् । ‘हिजो के कति लाभले कालीगण्डकी नदी ठेक्कामा लगायौं, अब हिसाब खोज्ने पुस्ताको जन्म भैसकेको छ’ उनले भनेका छन्, ‘अब नदी स्वयंले अधिकार खोजी रहेको छ ।’ अब पनि कालीगण्डकी नदी ठेक्का लगाउने अधिकार ठेकेदारहरुलाई नभएको उनको भनाई छ ।
स्थानीय सुर्दशन सापकोटाले पर्वतको फोर्सेमा भएको दोहनको नतिजा अहिले पुल र बस्तीमा देखिएको बताए । मालढुंगाको पुल नजिकै पनि एक्साभेटर लगाएर बालुवा झिक्ने गरिएको थियो । अहिले नदी गहिरिएर पुलको पुर्वी खण्डमा सोहोरिएपछि यो घटना भएको थियो । ‘यो विपत्ति मात्र थिएन, वर्षौदेखि कालीगण्डकीको छातिमा निर्धक्क चलेका डोजर, एस्काभेटर र दोहनको नतिजा आज हाम्रा अगाडि छ’ सापकोटाले भने, ‘नदीको प्राकृतिक बहाव र धार परिवर्तन हुने गरी गरिएको उत्खनन्ले जोखिम निम्त्याएको छ ।’ यो दोहन विरुद्व बोल्ने सिमित व्यक्तिबाट आम नागरिकहरु जुरमुराउनुपर्ने उनले सुझाए ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले विपद्मा सबै मिलेर काम गर्ने र जोखिम न्युनिकरण गर्ने बताए । त्यस बाहेकका अन्य कारणबारे खोजी गरेर भविष्यमा यस्ता समस्या नआउने गरी स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकन गरी नदीजन्य सामाग्री उत्खनन्को व्यवस्थापनमा लाग्नुपर्ने बताए ।





