पर्वत/जिल्लाको मोदी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका योजना, कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक प्रगति समीक्षा गरेको छ ।
विभिन्न शाखा, उपशाखा तथा इकाइबाट सम्पादन गरिएका कामको समीक्षा गर्दै कार्यक्रम सम्पन्न गरेको हो । वार्षिक प्रगति समीक्षा कार्यक्रममा गाउँपालिकाअन्तर्गतका विभिन्न शाखा तथा इकाइले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रगति, हासिल भएका उपलब्धि र सेवा प्रवाहको अवस्थाबारे छलफल गरिएको थियो । कार्यक्रममा सम्बन्धित शाखा तथा इकाइबाट सम्पादित कार्यहरूको मूल्याङ्कन गर्दै योजना कार्यान्वयनको अवस्था र सेवा प्रवाहको प्रभावकारिताबारे समीक्षा गरिएको थियो ।
समीक्षाका क्रममा गाउँपालिकाबाट सञ्चालित योजना तथा कार्यक्रम कार्यान्वयन गर्दा देखिएका समस्या, चुनौती र कमजोरीहरूको पहिचानसमेत गरिएको छ । साथै, आगामी दिनमा योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउने, नागरिकलाई प्रदान गरिने सेवाको गुणस्तर सुधार गर्ने र गाउँपालिकाको समग्र कार्यसम्पादनलाई परिणाममुखी बनाउने विषयमा छलफल भएको गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले बताए ।
स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणका योजना, सामाजिक तथा आर्थिक विकासका कार्यक्रम र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन नियमित समीक्षा तथा मूल्याङ्कन महत्त्वपूर्ण मानिन्छ । यसले भएका कामको अवस्था पहिचान गर्नुका साथै कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न र आगामी योजना निर्माणलाई थप व्यवस्थित बनाउन सहयोग पु¥याउँछ ।
मोदी गाउँपालिकाले आयोजना गरेको वार्षिक प्रगति समीक्षा कार्यक्रमले विगतका उपलब्धिको मूल्याङ्कन, कार्यसम्पादनमा देखिएका कमजोरीको पहिचान तथा आगामी कार्ययोजना निर्माणका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ । यसबाट गाउँपालिकाका योजना तथा कार्यक्रमलाई थप पारदर्शी, प्रभावकारी र नतिजामुखी बनाउन सहयोग पुग्ने छ ।





