बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

राजदूतमा प्रस्तावित सुनार र खरेल अस्वीकृत, १० जना अनुमोदित

राजदूतमा प्रस्तावित सुनार र खरेल अस्वीकृत, १० जना अनुमोदित

समितिबाट भारत, चीन, अमेरिका र बेलायतसहित १० देशका प्रस्तावित राजदूतहरूको नाम सर्वसम्मत अनुमोदन भएको हो।


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०८३, बुधबार
संसदीय सुनुवाइ समिति बैठकमा साउदी अरबका लागि प्रस्तावित राजदूत सुनार

काठमाडौं / साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ।

बुधबार बसेको समिति बैठकले नैतिक आचरणलगायत जर्मनीबाट डिपोर्ट गरिएको प्रश्न उठेपछि सुनारको नाम अस्वीकृत गरेको हो। सुनुवाइपछि सभापति बोधनारायण श्रेष्ठले गिरीको नाम अस्वीकृत भएको घोषणा गरेका छन्।

सुनारमाथि महिला हिंसा, धम्की तथा पूर्वप्रेम सम्बन्धमा रहेकी महिलालाई दुःख दिएको आरोपसहित दुईवटा उजुरी परेको थिए। सुनारको सुनुवाइका क्रममा सांसदहरूले उनको नैतिक चरित्र र राजदूत पदका लागि उपयुक्ततामाथि प्रश्न उठाएका थिए।

सांसद वर्षमान पुनले उनलाई नाम फिर्ता लिन सुझाव दिएका थिए। एमाले सांसद पद्मा अर्याल, प्रेम दंगाल, पुनम अग्रवाल र दीपक बोहरालगायतले पनि सुनारमाथि उठेका प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखेका थिए।

सुनारले भने आफूमाथि लागेको महिला हिंसाको आरोप अस्वीकार गर्दै सम्बन्धित महिलासँग १३ वर्षअघि प्रेम सम्बन्ध रहेको र पछि सम्बन्ध बिग्रिएपछि फोनमा भनाभन भएको बताएका थिए। जर्मनीमा अनुवादकका रूपमा जाँदा ओभरस्टे भएर डिपोर्ट भएको भन्ने आरोप पनि अस्वीकार गरेका थिए।

कुनै हिंसा नगरेको र राजदूतका लागि सिफारिस भएको नाम फिर्ता नलिने अडान राखेका सुनुवार संसदीय समितिबाट अस्वीकृत भएका छन्। योसँगै गिरिको राजदूत नियुक्तको प्रक्रियमा ब्रेक लागेको छ।

त्यस्तै, मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम पनि अस्वीकृत भएको छ। प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र विभिन्न व्यक्तिसँगको लेनदेनसम्बन्धी गम्भीर आरोप उठेका थिए।

संसदीय सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले उनीमाथि प्रश्न उठाएपछि उनको सुनुवाइ रोकिएको थियो।

खरेलमाथि झापाका स्थानीयसँग अनुदान उपलब्ध गराइदिने भन्दै पैसा लिएको र राजदूतमा सिफारिस भएपछि रकम फिर्ता गर्न थालेको आरोप छ।

संसदीय सुनुवाइ समिति बैठकमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेल

त्यस्तै, म्यानपावर व्यवसायीसँग राजदूत बनेपछि काम गरिदिने आश्वासनमा रकम लिएको र व्यवसायीसँग सम्बन्धित गाडी प्रयोग गरेको भन्ने आरोप पनि उजुरीमा उल्लेख गरिएको छ।

उजुरीमा म्यानपावर व्यवसायी विजय मिश्रको एड्भेन्चर ओभरसिजसँग करिब दुई करोड रुपैयाँको कथित लेनदेन तथा बा २० च ५३९ नम्बरको टोयोटा आरएभी-४ गाडी प्रयोग गरेको विषयसमेत उठाइएको छ।

योग महासंघ नेपालमा महासचिवका रूपमा काम गर्दा आर्थिक दायित्व र बक्यौतासम्बन्धी अनियमितता भएको तथा पोखरामा सार्वजनिक वन क्षेत्रको जग्गा मिलाइदिने भन्दै ठूलो रकम लिएको आरोप पनि उनीमाथि छ।

जनकपुर क्षेत्रमा जग्गासम्बन्धी अनियमितताको आरोपसमेत उजुरीमा समेटिएको छ। उजुरीकर्ताले खरेलको पछिल्लो तीन महिनाको फोन कल र सन्देशसमेत अनुसन्धान गर्न माग गरेका छन्। खरेलले आफूमाथि सांसदले उठाएका आरोप अस्वीकार गरेका थिए।

आर्थिक लेनदेन र म्यानपावर व्यवसायीसँगको सम्बन्धका विषयले राजदूतको कूटनीतिक जिम्मेवारी र सम्भावित स्वार्थको द्वन्द्वबारे प्रश्न उठाएपछि खरेलको नाममा अस्वीकृत भएको छ।

त्यसैगरी, संसदीय सुनुवाइ समितिले जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको नाममा तत्काल कुनै निर्णय लिएको छैन। उनको अनुमोदनबारे निर्णय लिन बाँकी रहेको समितिले जनाएको छ।

सिफारिस गरिएका अन्य १० जनाको नाम भने समितिले अनुमोदन गरेको छ। समितिबाट भारत, चीन, अमेरिका र बेलायतसहित १० देशका प्रस्तावित राजदूतहरूको नाम सर्वसम्मत अनुमोदन भएको हो।

अनुमोदित हुनेहरूमा भारतका निम्ति डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका निम्ति सरू जोशी रहेका छन्।

त्यसैगरी इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, ओमानका निम्ति डा. पदमाक्षी राणा, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ र श्रीलंकाका लागि डा. मंचलाकुमारी झाको नाम पनि समितिबाट अनुमोदन भएको छ।

गत असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले १३ देशका लागि आवासीय राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका १० जनालाई अब राष्ट्रपतिले औपचारिक रूपमा राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->