बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङ बजारमा चहलपहल

बागलुङ बजारमा चहलपहल

बाढीले क्षति गरेको मालढुंगाको पुल सञ्चालनमा आएपछि बजारमा दसैंको छनक देखिएको छ


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०८३, बिहिबार

बागलुङ/बागलुङ बजारमा मंगलबार पृथक रौनक देखियो । बजारमा च्याङ्ग्रा यत्रतत्र देखिन्थे, गाडीको लाम थियो, किनमेल गर्नेहरुको पनि घुइँचो भयो । यसअघिका शनिबार र आइतबारको बिदामा समेत करिब सुनसान रहेको बजार मालढुंगाको पुल सञ्चालनमा बनेपछि लयमा फर्किएको हो ।

मालढुंगा पुल खुलेलगत्तै बजारमा पर्यटक बढेका छन् भने चाडपर्व लक्षित किनमेल पनि देखिएको छ । कालीगण्डकीको बाढीले मालढुंगाको पुलमा क्षति पुगेपछि २ सातासम्म यातायात ठप्प थियो । यो पुल बन्द हुँदा जिल्ला प्रवेश गर्ने मात्र नभई मध्यपहाडी लोकमार्ग भएर पश्चिम जाने सवारीसमेत अलपत्र थिए ।

सोमबार दिउँसो सडक खुलेपछि सयौं गाडी भित्रिएका छन् । सोमबारै लामो दूरीका रात्री तथा दिवासेवाका बससमेत चल्न थालेका छन् । किनमेलका लागि मानिस आउन थालेको स्थानीय व्यवसायी घनश्याम शर्माले बताए । लामो समयसम्म खाली भएका पसलमा किनमेल गर्नेको भीड लागेको छ ।

फेन्सी व्यवसायी उमेश गौतमले पुल सञ्चालनमा आएपछि थप सामान झिकाउन सहज भएको बताउँछन् । पुल बन्द हुँदा कतिपय व्वसायीले सामान झिकाएकै थिएनन् । बागलुङ उद्योग बाणिज्य संघका महासचिव ईन्द्रमणि पौडेलले मानिसको आवतजावत नै बढेपछि व्यवसायमा पनि सहयोग पुग्ने बताए ।

‘दसंै पनि आइसक्यो, यातायात पनि खुल्यो, अब मानिस खुसी भएर बजारमा किनमेलमा निस्केका छन्’, उनले भने, ‘सामान सुपथ मूल्यमा उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरेका छौं ।’ यातायात नचल्दा अत्यावश्यक सामानसमेत बजारमा महंगिएको उपभोक्ताको गुनासो थियो ।

सडक अवरुद्द भएकै कारण साल्ट ट्रेडिङ कर्पोरेसनले तोकेको सामान दिन सकेको थिएन । सुपथ मूल्य पसलमार्फत प्रति व्यक्ति ५ केजी चिनी दिने भने पनि आयात गर्ने बाटो अभावमा ३ केजीमात्र दिएको थियो । बजारमा १ सय २० पर्ने चिनी कर्पोरेसनले १ सय रुपैयाँमा उपलब्ध गराएको थियो । त्यसबाहेक खाने तेल, आँटा, नून लगायतका सामग्रीसमेत सस्तो दरमा दिने योजना भएर पनि सामाग्री सकिएपछि समस्या परेको थियो ।

बेनीदेखि घुमाएर वा फलेवास हुँदै जैमिनीको बाटो ल्याउँदा सामाग्रीमा मूल्य बढेको थियो । एलपी ग्याँससमेत एक सयदेखि एकसय ५० रुपैयाँसम्म महंगो पर्ने गरेकोमा मालढुंगाको पुल सञ्चालनमा आएपछि बजारमा सहज भइसकेको छ ।

मालढुंगाको पुलबाट अझै निर्वाध रुपमा दोहोरो सवारी चल्ने अवस्था छैन । दुवै तर्फको सुरक्षाका लागि काम भइरहेको छ । माटोले पुरिएको सडकमा ग्राभेल बिच्छ्याइँदै छ । दुवैतर्फ ग्याबिन जालीहरु बुनेर ढुंगा भर्ने काम अझै सकिएको छैन । सोमबारदेखि सडक डिभिजन कार्यालय पोखराले पैदलयात्री र सवारी चल्ने गरी सडक खुलाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->