बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरामा दिनमै बिक्छ लाख किलो मासु

पोखरामा दिनमै बिक्छ लाख किलो मासु

हिमाली भेडा, च्यांग्रादेखि खसीबोका, कुखुरा, राँगोभैंसी र बंगुरको गरी दसैं बेला पोखरामा दिनमै १ लाख किलोभन्दा बढी मासु बिक्छ ।


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०८३, बिहिबार

पोखरा/नेपालीको महान पर्व वडादसैं सुरु भइसकेको छ । अहिले दसैंको रौनक जारी हुँदा पोखरामा भने हिमाली क्षेत्रबाट भेडा र च्यांग्रा बिक्रीका लागि झरिसकिएको छ ।

चाड नजिकिएसँगै हिमाली भेडा, च्यांग्राको कारोबार बढेको छ । दसैंलाई लक्षित गरी मुस्ताङबाट म्याग्दी हुँदै पोखरा क्षेत्रको बजारमा बिक्रीका लागि हालसम्म १३ हजार भेडा–च्यांग्रा ल्याइएका छन् ।

मुस्ताङका स्थानीय खोरपालुवा भेडा, च्यांग्रासँगै हुम्ला, जुम्ला र डोल्पाबाट पनि भेडा–च्यांग्रा पोखरा ल्याइएका छन् ।

कास्कीमा अरु बेलासमेत दैनिक ४० हजार किलोभन्दा बढी मासु बिक्री हुँदै आइरहेको छ । दसैंमा एकै दिन यहाँ भेडा च्यांग्रासमेत खाने प्रचलन हुँदा एक लाख किलोभन्दा माथि मासु बिक्री हुने गरेको छ ।

अहिले पोखराको याम्दी क्षेत्रमा अस्थायी खोर बनाएर भेडा–च्यांग्रा बिक्रीका लागि राखिएका छन् । दसैं सुरु भएलगत्तै याम्दी क्षेत्रमा भेडा–च्यांग्राको मेला नै लाग्ने गर्छ । जहाँ किन्ने र अवलोकन गर्नेको व्यापक हुने गरेको छ । यस वर्ष मुस्ताङसहित हुम्ला र जुम्लाबाट आएका भेडा–च्यांग्रा तुलनात्मक रूपमा केही सहुलियत मूल्यमा बिक्री भइरहेका छन् ।

मुस्ताङका स्थानीय खोरपालुवा भेडा–च्यांग्राको मूल्यसमेत घट्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका प्रमुख गृष्म नेउपाने हालसम्म चीनसहित हुम्ला, जुम्ला र डोल्पाका १३ हजार भेडा–च्यांग्रा पोखरा ल्याइएको बताउँछन् । चीनबाट ८३९ वटा ल्याइएका छन् ।

‘भेडा–च्यांग्रा सोमबारसम्म हेर्दा १३ हजार जति आएका छन्, तीमध्ये पनि केही काठमाडौं लगिएको छ, कति लगियो भन्ने यकिन छैन,’ उनले भने, ‘समग्रमा दसैंको बेला यहाँ १५÷१६ हजार च्यांग्रा आउने देखिन्छ । पहिला मासुको खपत कति हुन्छ भन्ने पनि हामीसंग तथ्यांक हुन्थ्यो स्थानीय सरकार सञ्चालन ऐन आएपछि (संघीयतापछि) भने हामी कहाँ व्यवसाय दर्ता नहुँदा कति खपत हुन्छ भन्ने यकिन भन्न सकिएन ।’

२ सय २५ वटा भेडा, च्यांग्रा बिक्रीका लागि पोखरा ल्याएका व्यवसायी चन्द्रबहादुर रोकायले प्रतिगोटा ३५ हजारदेखि ४२ हजारसम्ममा बिक्री भइरहेको सुनाए । भेडा–च्यांग्रा बिक्रीका लागि याम्दी क्षेत्रमा बनाइएका अस्थायी खोरको व्यवस्थापन भने व्यवसायीका लागि चुनौती बनेको छ ।

रोकायका अनुसार एउटा खोर प्रयोग गरेबापत ३० हजार भाडा तिर्नुपरेको छ । तर, त्यहाँ शौचालय र पानीको समेत पर्याप्त व्यवस्था नभएको उनको गुनासो छ । हिमाली क्षेत्रमा प्राकृतिक चरनमा हुर्किएका भेडा–च्यांग्राको मासुप्रति उपभोक्ताको आकर्षण रहँदै आएको छ ।

हिमाली जडिबुटी यार्सागुम्बासहित विभिन्न वनस्पति खाएका कारण च्यांग्राको मासु स्वादिलो र स्वस्थ हुने विश्वास गरिन्छ । मासु व्यवसायी संघ कास्की अध्यक्ष चिनबहादुर गुरुङका अनुसार कास्कीमा चाडपर्वको समयमा एक लाख केजीभन्दा बढी मासु बिक्री हुन्छ । ‘यो नवमी, अष्टमीमा अझ बढी माग हुन्छ । विशेष गरी चाडपर्वमा कुखुराभन्दा खसी, बोका र अहिले च्यांग्रा नै बिक्ने हो । अबको समयमा एक लाख केजी बढी मासु जान्छ’, उनले भने, ‘४०–५० हजार केजी त सामान्य बेलामै जान्छ ।’

कास्की जिल्लामा एक हजारभन्दा बढी मासु व्यवसायी छन् । संघमा भने ६ सय व्यवसायीमात्रै आवद्ध छन् । यो संघमा भैंसीको मासु बेच्नेहरु आवद्ध छैनन् । पोखरामा च्याङ्ग्रा, भेडासँगै खसीबोका, कुखुरा र बंगुरको मासु पनि उल्लेख्य रुपमा बिक्री हुन्छ । दसैं, तिहारमा सबै खालको मासुको माग उच्च हुने गर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->