
म्याग्दी/असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पु¥याएको क्षतिको विवरण लिन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन धवलागिरि गाउँपालिकाको केन्द्र मुनातर्फ प्रस्थान गरेका छन् ।
भाडाको बोलेरो जिपमा दरबाङ हुँदै मुना जाँदै गरेका मन्त्री पुनले जिल्लाका सबै स्थानीय तहमा पुगेर विपद्बाट भएको क्षतिको जानकारी लिने बताए । मन्त्री पुनले स्थानीय तहका केन्द्रमा पुगेर जनप्रतिनिधि तथा सम्बन्धित अधिकारीहरूसँग क्षतिको विवरण लिने छन् । स्थलगत अनुगमन तथा विवरण सङ्कलनको जिम्मेवारी सम्बन्धित पालिकाकै हो उनीहरुले नै गर्छन् ।
“म पालिकाको केन्द्रमा पुग्छु, त्यहीँबाट जानकारी लिएर फर्कने हो । स्थलगत रूपमा पालिकाले नै अनुगमन र विवरण सङ्कलन गर्छ,” मन्त्री पुनले भने । समय अभावका कारण सबै प्रभावित क्षेत्रमा आफैँ पुगेर निरीक्षण गर्न सम्भव नहुने उल्लेख गर्दै उनले स्थानीय तहले प्रभावित क्षेत्रमा पुगेर वास्तविक क्षतिको विवरण सङ्कलन गरी आफूलाई बुझाउने बताए । सम्भव भएसम्म आफू पनि स्थलगत रूपमा प्रभावित क्षेत्र पुग्ने उनको भनाइ थियो ।
मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट धवलागिरितर्फ लागेका मन्त्री पुनले साढे १० बजे धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा र दिउँसो मालिका गाउँपालिकाको केन्द्र दरबाङमा भेटघाट गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि म्याग्दीका विभिन्न स्थानमा बाढीपहिरो जाँदा ७ जनाको मृत्युु हुनुका साथै २ जना बेपत्ता भएका थिए । त्यस्तै निजी आवास, सडक, खानेपानी, विद्युत्, सिँचाइ तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो । विपद्का कारण जिल्लाका विभिन्न सडक अवरुद्ध हुनुका साथै प्रभावित बस्तीका नागरिकसमेत जोखिममा परेका थिए ।
विपद्पछिको क्षतिको विवरण सङ्कलन, प्रभावित परिवारको अवस्था पहिचान तथा पुननिर्माण र पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने उद्देश्यले मन्त्री पुनले जिल्लाका स्थानीय तहसँग भेटघाट तथा छलफल गर्न लागेका हुन् ।





