बागलुङ/गलकोटमा राजनीति फरक–फरक होला, तर चाडपर्वमा सँगै बसेर शुभकामना साट्ने दृश्यले अर्कै सन्देश दिएको छ ।
असोज २९ गते दिउँसो गलकोट नगरपालिका ६ को मनसुन होटलको एउटा हलमा तीन फरक रंगका झण्डा बोक्ने दलहरु एउटै मञ्चमा बसे । राष्ट्रिय जनमोर्चा, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा कुर्सीहरु अलग थिएनन् ।
कार्यक्रमको अध्यक्षता गरिरहनुभएको थियो राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा नगर अध्यक्ष टंक केसीले । प्रमुख अतिथिको रुपमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य फमलाल निउरे पुगेका थिए । मञ्चमा मात्र होइन, हलमा बस्नेहरुमा पनि सबै दलका कार्यकर्ता र स्थानीय बासिन्दा मिसिएका थिए ।
स्वागत मन्तव्य राख्न उठेका नेकपा एमाले बागलुङका जिल्ला सचिवालय सदस्य डम्बरबहादुर श्रीसले चाडपर्वको कुरा गरे । उनले दसैं, तिहार, छठ र नेपाल संवत् जस्ता पर्वले मान्छेलाई जोड्ने काम गर्ने बताए । यस्ता पर्वले विचार फरक भए पनि मन मिलाउन सिकाउने उनको भनाइ थियो ।
त्यसपछि शुभकामना मन्तव्यको क्रम सुरु भयो । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ज्ञामनाथ गैरे अनिल, एमालेकी केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसे, जनमोर्चाका केन्द्रीय सदस्य बेदिलाल सापकोटा र नेपाली कम्युनिष्ट पार्टीकै अर्का केन्द्रीय सदस्य तिलक उप्रेतीले पालैपालो बोले । सबैको कुरामा एउटै भाव थियो, चाडपर्वले सामाजिक सद्भाव बढाउँछ र राजनीतिक दलहरुबीच सहकार्यको बाटो खोल्छ । अहिलेको समयमा यही एकता नै आवश्यकता हो भन्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रमको सञ्चालन नेपाली कम्युनिष्ट पार्टी गलकोट नगर अध्यक्ष गंगा भुजेलले गरेका थिए ।
तीन वामपन्थी दलले अलग–अलग कार्यक्रम गर्न सक्थे, तर सँगै गरेर उनीहरुले शुभकामना मात्र साटेनन्, गलकोटमा सहकार्यको नयाँ संस्कृति पनि देखाए । चाडपर्व सकिए पनि यो सँगै बस्ने अभ्यासले राजनीतिमा नयाँ आशा जगाएको छ ।





