बागलुङ/सशस्त्र प्रहरी बलले पश्चिम बागलुङको पहिरो प्रभावित क्षेत्र तमानखोला गाउँपालिकाका पीडित परिवारलाई राहत वितरण गरेको छ ।
तमानखोला गाउँपालिकाका १५ पीडित घरपरिवारलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट विपद् प्रभावितका लागि प्राप्त १८ प्रकारका खाद्य सामग्रीहरु समावेश गरिएको १५ कार्टुन राहत सामग्री बुधबार वितरण गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वाटर बागलुङबाट गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक पदम सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले विपद् प्रभावित क्षेत्रमा पुगेर पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेको हो ।
तमानखोलाका अध्यक्ष जोकलाल बुढा, वडा अध्यक्षद्वय झकबहादुर बुढा र छ प्रसाद श्रीपालीको उपस्थितीमा वडा नं. ३ का ६ र वडा नं. ४ का ९ घरपरिवारलाई राहत वितरण गरिएको थियो । राहतबाट दुवै वडाका १५ घरपरिवार लाभान्वित भएको प्रहरी नायव उपरिक्षक पदम सिंह भण्डारीले जानकारी दिए ।
प्रधान कार्यालयबाट प्राप्त राहत सामग्रीमहरुा चामल, पिठो, चिनी, कालो चिया, खजुर, पास्ता, खुबानीबाट बनेको खाद्य पदार्थ, मसला, चिकेन नुडल सुप, पाम तेल, ओलिभ तेल, नुन, टोमाटो पास्ता, मह, चना, फाभा, ताहिना र हेजलनट क्रिमलगायतका १८ प्रकारका खाद्य सामग्री समावेश थिए ।
विपद् प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गरिएको कार्यले प्रभावित परिवारलाई आवश्यक खाद्य सामग्री उपलब्ध गराउन सहयोग पुगेको सिंहले बताए । विपद्का बेला पीडित नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले सशस्त्र प्रहरी बलले मानवीय सेवाको कार्यलाई प्राथमिकताका साथ अघि बढाएको सिंहको भनाई थियो ।





