पोखरा/पर्यटन राजधानी पोखराको लेकसाइडदेखि अर्काे पर्यटकीय गन्तव्य पञ्चासेसम्म नमुना सडक बन्ने भएको छ । पोखरा महानगरका वडा नम्बर ६, १८, २४ हुँदै वडा नम्बर २३ को पञ्चासेसम्मको बाँकी १३ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्न लागिएको हो ।
सो सडकसँगै पुडिटार–बिरौटा सडक खण्डअन्तर्गत खहरदेखि दोबिल्ला हुँदै तीनकुनेसम्मको ५ किलोमिटर सडक पनि स्तरोन्नति हुने भएको छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा अघि बढाइएका २ लेनका यी दुई आयोजनाको लागत डेढ अर्ब छ । पोखरा महानगरको सहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजनाले बिहीबार यी दुई सडक निर्माणका लागि टेन्डर आह्वान गरेको छ । यी दुवै सडकको गरी कुल लम्बाइ १८ किलोमिटर एक सय मिटर छ । यी सडकमा अस्फाल्ट कालोपत्र, नाला तथा पानी निकास, आवश्यक स्थानमा रिटेनिङ वाल, पैदल मार्ग, साइकल लेन, सडक बत्ती र सडक सुरक्षासम्बन्धी संरचनाहरू निर्माण गरिने छन् ।
यी आयोजनाले पोखराको सडक सञ्जाललाई व्यवस्थित र सुरक्षित बनाउनुका साथै स्थानीय बासिन्दाको आवागमन सहज हुने नगर प्रमुख धनराज आचार्य बताउँछन् । ‘यसका अतिरिक्त पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गलाई जोड्ने वैकल्पिक कनेक्टिङ मार्गका रूपमा समेत यो सडक प्रयोग हुनेछ,’ उनले भने ।
यो परियोजनाले पर्यटन प्रवद्र्धन, स्थानीय आर्थिक गतिविधिको विस्तार, रोजगारी सिर्जना तथा पोखराको समग्र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनको छ । लेकसाइडदेखि पञ्चासेसम्मको सडक सहज बनेपछि पञ्चासे क्षेत्रको मुहार फेरिने आशा पोखरा–२३ का वडाध्यक्ष रामकाजी गुरुङले व्यक्त गरे ।
आयोजनाका इन्जिनियर नवीन गौतमले दुवै सडकमा फुटट्याक र साइकल लेन बन्ने बताए । उनले भने, ‘दुवै सडक खण्ड दुई÷दुई लेनका अस्फाल्ट कालोपत्र हुनेछन् । फुटट्याक सबैतिर हुने भए पनि साइकल लेन भने सडक साँघुरो ठाउँमा सेयरिङ र खुला ठाउँमा छुट्टै बन्ने छ ।’





