शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

राजमार्ग खुले, ग्रामीण सडक सकसपूर्ण

राजमार्ग खुले, ग्रामीण सडक सकसपूर्ण

ताराखोलाका वडा वडाका सडकहरु भत्केर जोखिमका बनेका छन् । यात्रीहरुले ढुक्कका साथ यात्रा गर्न सकिने अवस्था छैन ।


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०८३, शुक्रबार

बागलुङ/बाढी र पहिरोले अवरुद्व भएका बागलुङको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएका छन् । तर ग्रामीण क्षेत्रका सडक सहज नबन्दा स्थानीयले सास्ती खेपिरहेका छन् ।

सडकहरु चिरा पर्ने, भाँसिने र पहिरोले जोखिमयुक्त भएपछि यात्रा कठिन भएको स्थानीयले बताएका छन् । गलकोटदेखि ताराखोला जाने सडक अस्थायी रुपमा ट्रयाक खोलेर सञ्चालनमा ल्याएपनि जोखिम कायमै छ । दरमखोलाको पानीले भत्केको सडक पुर्ण रुपमा सञ्चालन गर्न र दिगो बनाउन करोडौं खर्च गर्नुपर्ने अवस्था छ भने पहरा फोडेर मात्र दिगो सडक बनाउन सकिने अवस्था छ ।

विष्फोटक पदार्थ नै प्रयोग गर्नुपर्ने भएपछि सेनाको टोलीले समेत अनुगमन गरेर हिउँदमा मात्रै गर्न सकिने संभावना रहेको सुझाएको छ । ताराखोलाका वडा वडाका सडकहरु भत्केर जोखिमका बनेका छन् । यात्रीहरुले ढुक्कका साथ यात्रा गर्न सकिने अवस्था छैन ।

वडा नं. १ मा कालोपत्र गरिएको सडकको दुइवटा घुम्ती नै पहिरो खसेको छ । उक्त सडक तत्काल खुलाउन नसकिने वडा अध्यक्ष यामबहादुर रोकाले बताए । उक्त स्थानमा नापजाँच गर्न गएका प्राविधिकले पनि समस्या पर्ने भएकोले तत्काल काम थाल्न नसकी फर्केको बताए । ‘अहिले त संभव छैन, पछि पनि कसरी सडक खोल्ने भन्ने अन्यौल छ’ रोकाले भने, ‘यो सडक खोल्न सकिएन भने पालिका जाने मुख्य बाटो नै अवरुद्व हुन्छ ।’ यो सडक बग्दा पैदल यात्रीले पनि सास्ती खेपेको उनले बताए ।

ताराखोला मात्र होइन, काठेखोला गाउँपालिकाका वडा नं. ४ तंग्राम जाने सडक गत असारमा कालोपत्र गरिएको थियो । वर्षात्ले ठाउँठाउँमा भाँसिएको छ । कतिपय स्थानमा पहिरो खसेको छ भने कालोपत्र समेत बगेको छ । समयले साथ नदिएर खर्चमात्रै भएको स्थानीयले गुनासो गरे । ‘पालिकाले काम त गरेको हो, तर समय यस्तै परिदियो, हाम्रो लगानी खेर गएको छ’ स्थानीय विष्णु आलेले भने, ‘अर्को वर्ष काम गर्न पाएको भए फरक पथ्र्यो की ?’ जोखिमकै बेलामा लगानी गर्दा फेरी उत्तिकै खर्च लाग्ने भएको उनले बताए ।

गलकोट नगरभित्रको मध्यपहाडी लोकमार्ग समेत ठाउँठाउँमा क्षतविक्षत भएको छ । निसीखोला गाउँपालिकामा त बाढीले सडक नै बगाएको छ । कतिपय स्थानमा अत्याधिक जोखिम बनेको छ । तत्काल मर्मत कार्य गर्न करोडौं लाग्ने भएपछि स्थानीय तहले बनाउन त सक्ने भएन । प्रदेश र संघिय सरकारले पनि कहिले बजेट पठाएर काम गर्ने भन्ने अन्यौल छ । लोकमार्ग नै बगेपछि अहिले अस्थायी ट्रयाक खोलेर सवारी भने चलेका छन् । नगर अस्पताल समेतमा क्षति पुगेको छ । उक्त स्थानमा जाने सडक आधा भाँसिएर एकतर्फी बनेको छ । जोखिम समेत भएको छ ।

जैमिनी नगरपालिकामा पनि सडकहरु बिग्रेका छन् । वडा नं. ७ को जैदीमा जाने सडकमा खसेका पहिरो पन्छाउन निकै कठिन भएको उपप्रमुख हरिहर शर्माले बताए । पालिकाले डोजर पठाएपनि एस्काभेटर चाहिने भन्दै काम रोकिएको छ । ‘चाडपर्वमा जसरी पनि बाटो खोल्ने हो’ शर्माले भने, ‘खर्च भने धेरै आउने भयो ।’ बस्ती बस्तीमा सडकहरु भाँसिएको, पहिरो खसेको र बनाएको बाटो बगेकोले यात्रीले पनि समस्या भोगेको उनले बताए ।

तमानखोला, बडिगाड र बागलुङ नगरभित्रकै कतिपय सडकमा अहिले पनि सवारी गुडाउन कठिन भएको छ । कालीगण्डकीको कटानले निरयघाटस्थित मानवसेवा आश्रम र वृद्दाश्रम जाने सडक समेत चिराचिरा परेको छ । सडकको धेरै भाग भाँसिएर कालीगण्डकीमा खसेको छ । विश्व बैंकको सहयोगमा नगरपालिकाले गतवर्ष मात्र कालोपत्र गरेको यो सडक भत्केपछि तत्काल मर्मत गर्न नगरपालिकामा बजेट अभाव छ । चिरिएको सडक मर्मत भन्दा पनि पुननिर्माण गर्नुपर्ने भएपछि लागतको खोजी गरेर मात्र काम गर्न सकिने प्राविधिकले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->