शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

जलजलाका बाढीपीडितको बस्तीमै पुगेर पर्वत उद्योग वाणिज्य सङ्घद्वारा राहत वितरण

जलजलाका बाढीपीडितको बस्तीमै पुगेर पर्वत उद्योग वाणिज्य सङ्घद्वारा राहत वितरण


  • ढाेरपाटन संवाददाता
  • असोज ३० २०८३, शुक्रबार

पर्वत/गत असोज १० गते आएको बाढी तथा पहिरोबाट प्रभावित बनेका पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानका बासिन्दालाई पर्वत उद्योग वाणिज्य सङ्घले राहत वितरण गरेको छ ।

पीडितका लागि उपलब्ध गराइएको राहत वास्तविक प्रभावितको हातमै पु¥याउने र तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले सङ्घले प्रभावित बस्तीमै पुगेर राहत वितरण गरेको हो । सङ्घका अध्यक्ष ठाकुर बी. पौडेलको नेतृत्वमा गएको टोलीले जलजला गाउँपालिकाका बाँसखर्क, मिलन चोक, फर्से, लेकफाँट, शालिजा, तारे लगायतका स्थानमा पुगेर झन्डै ४० जना बाढीपहिरोपीडितलाई खाद्यान्न तथा अन्य राहत सामग्री वितरण गरेको छ ।

पीडितको अवस्थालाई नजिकबाट बुझ्दै उनीहरूकै घर तथा बस्तीमा पुगेर चामल, दाल, चाउचाउ लगायतका खाद्यान्न सामग्री वितरण गरिएको अध्यक्ष पौडेलले बताए । राहत सामग्रीमा नेपाल उद्योग वाणिज्य महासङ्घबाट प्राप्त विशेष राहत प्याकेटसमेत समावेश गरिएको थियो । राहत वितरणका क्रममा बाढीका कारण विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक जनजीवन प्रभावित भएका बस्ती तथा प्रहरी चौकीलाई लक्षित गरी पोर्टेबल सोलार प्यानलसमेत वितरण गरिएको छ । जलजलाको लेकफाँट, वारी बेनी र मिलनचोकमा रहेका प्रहरी चौकी तथा फर्सेका तीन जना बाढीपीडित व्यवसायीलाई सोलार प्यानल उपलब्ध गराइएको हो । विद्युत् सेवा प्रभावित हुँदा अँध्यारोमा बस्नुपर्ने र दैनिक कामकाजमा समस्या भइरहेका बेला नेपाल उद्योग वाणिज्य महासङ्घबाट प्राप्त सोलार सामग्री वितरण गरिएको हो ।

यसै गरी, सङ्घले आफ्ना सदस्य व्यवसायीको हितका लागि स्थापना गरेको व्यवसायी कल्याणकारी कोषबाट बाढीपीडित तीन जना व्यवसायीलाई आर्थिक सहयोग गरेको छ । सङ्घका सदस्यहरूले सदस्यता नवीकरणका क्रममा बुझाएको शुल्कबाट बचत गरी जम्मा गरिएको उक्त कोषबाट फर्सेका गीता सुवेदी, दधिलाल सुवेदी र इन्द्रबहादुर क्षेत्रीलाई प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको हो । अध्यक्ष पौडेल सहित वाणिज्य उपाध्यक्ष शिव शर्मा पौडेल, सदस्य मीनप्रसाद शर्मा र कार्यालय प्रमुख यज्ञप्रसाद शर्माले पीडितलाई राहत सामग्री तथा आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका थिए । सङ्घले खाद्यान्न, वैकल्पिक ऊर्जा र आर्थिक सहयोगमार्फत बाढीबाट प्रभावित सर्वसाधारण तथा व्यवसायीलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने प्रयास गरेको जनाएको छ ।

राहत प्राप्त गरेपछि फर्सेकी व्यवसायी गीता सुवेदीले बाढी आएको दिनदेखि नै अँध्यारोमा बस्नुपर्ने बाध्यता रहेको बताउँदै सोलार प्यानल प्राप्त भएपछि ठुलो राहत मिलेको प्रतिक्रिया दिइन् । सङ्घमा आबद्ध भएकै कारण व्यवसायी कल्याणकारी कोषबाट आर्थिक सहयोगसमेत प्राप्त भएकोमा उनले आभार व्यक्त गरिन् ।

यसैबिच, सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिका, पर्वतले पनि बाढीपहिरोपीडितलाई राहत वितरण गरेको छ । वैदेशिक सहयोगका रूपमा प्राप्त खाद्यान्न सामग्री नेपाल सरकारले सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेपछि पर्वतमा रहेको चण्डिका गणले करिब २० जना पीडितलाई उक्त राहत वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री, सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्री, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक विजय यादव, जलजला गाउँपालिकाका कर्मचारी राज आचार्य लगायत सहभागी टोली र उद्योग वाणिज्य सङ्घको टोलीले संयुक्त रूपमा राहत वितरण गरेका हुन् ।

बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका क्रममा जलजला गाउँपालिकाका विभिन्न स्थानमा भौतिक संरचना तथा कृषि क्षेत्रमा व्यापक क्षति पुगेको देखिएको छ । बेनी–मालढुंगा सडक खण्डअन्तर्गत कालीगण्डकी नदी किनारका क्षेत्रमा समेत पहिरो गएको छ भने ग्रामीण क्षेत्रका धेरै सडकमा पहिरो खस्दा आवागमन प्रभावित बनेको छ ।

बाँसखर्कका सुन्तला बगैँचादेखि लेकफाँटका धान खेतसम्म पहिरोले क्षति पु¥याएको छ । वर्षौँको मेहनत र लगानीमा निर्माण भएका कालोपत्रे सडक, ढलान तथा अन्य पूर्वाधारसमेत बाढी पहिरोका कारण क्षतिग्रस्त भएका छन् । कतिपय स्थानमा साना तथा ठुला पहिरो खस्दा सडकको संरचना बगाएको छ भने ग्रामीण बस्तीमा आवतजावत गर्नसमेत कठिनाइ भएको छ ।

बाढी पहिरोबाट मानवीय क्षति नभए पनि जलजलामा सडक, कृषि उत्पादन, निजी सम्पत्ति तथा अन्य भौतिक संरचनामा ठुलो क्षति पुगेको छ । यसले स्थानीय बासिन्दाको दैनिकी, कृषिमा आधारित जीविकोपार्जन र व्यवसाय सञ्चालनमा चुनौती थपेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->