शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मधेस प्रदेश सरकारबाट किन बाहिरियो एमाले ?

मधेस प्रदेश सरकारबाट किन बाहिरियो एमाले ?

सरकार गठन गर्ने बेलामा १५ बुँदे सहमति भएको र सहमतिअनुसार मुख्यमन्त्रीले काम नगरेको भनाई


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०८३, शुक्रबार

काठमाडौं / नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री रहेकाहरूले शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएका हुन् ।

एमालेका मन्त्रीहरूले प्रदेशप्रमुख डा. सुरेन्द्र लाभलाई समेत प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।

मधेस सरकारबाट एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन् ।

मधेस प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन् । गठबन्धनमा नेपाली कम्युनिस्ट पार्टी समेत रहेको छ ।

सरकार गठन गर्ने बेलामा १५ बुँदे सहमति भएको र सहमतिअनुसार मुख्यमन्त्रीले काम नगरेको र चालु आर्थिक वर्षमा पनि बजेटमा पनि नेपाली कांग्रेसले मनोमानी ढंगले योजना राख्दा सहमति कायम रहन नसकेको एमालेका मधेस प्रदेश प्रमुख सचेतक हरिनारायण महतोले बताए ।

नयाँ सरकार कसरी बन्ने भन्नेबारेमा थप छलफल गरी अघि बढ्ने उनको भनाइ छ । ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके कुनै एक दलसँग सहकार्य गरेर सरकार बनाउने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->