दसैं नेपाली समाजको सबैभन्दा ठुलो सांस्कृतिक पर्व मात्र होइन, हाम्रो पारिवारिक सम्बन्ध, सामाजिक एकता, धार्मिक आस्था र मानवीय मूल्यको जीवन्त प्रतिबिम्ब पनि हो। यो पर्वले वर्षौंदेखि टाढिएका परिवारका सदस्यलाई नजिक ल्याउँछ, ज्येष्ठ नागरिकको आशीर्वादलाई महत्त्व दिन्छ, नयाँ पुस्तालाई संस्कारसँग जोड्छ र समाजमा प्रेम, सद्भाव तथा सहअस्तित्वको भावना बलियो बनाउँछ तर दसैंको वास्तविक मूल्य महँगा लुगा, मिठा परिकार, दक्षिणा र भव्य भोजभतेरमा मात्र खोजियो भने हामीले यस पर्वको गहिरो सन्देश बुझ्न सक्दैनौं। दसैंको सार सम्बन्धमा आत्मीयता, व्यवहारमा सदाचार र समाजप्रति जिम्मेवारीबोधमा निहित छ। यस वर्ष दसैं मनाउँदै गर्दा हामी एउटा कठिन राष्ट्रिय परिस्थितिबाट गुज्रिरहेका छौँ। बाढीपहिरो र प्राकृतिक विपद्ले धेरै नेपालीको जीवन उजाडेको छ।
कतिपय परिवारले आफ्ना प्रियजन गुमाएका छन्, कतिपयको घरबास बगेको छ र धेरै नागरिकले आफ्नो जीविकोपार्जनको आधार गुमाएका छन्। अर्कातर्फ जेनजी आन्दोलनपछि देशले नयाँ राजनीतिक परिवर्तन, सुशासन, न्याय र समृद्धिको अपेक्षा गरिरहेको छ। यस्तो समयमा दसैंको सन्देशलाई केवल व्यक्तिगत खुसी र पारिवारिक उत्सवमा सीमित गर्नु हुँदैन। यसले हामीलाई दुःखमा परेका नागरिकप्रति संवेदनशील बन्न, सामाजिक उत्तरदायित्व निर्वाह गर्न र राष्ट्रको भविष्यप्रति साझा प्रतिबद्धता व्यक्त गर्न प्रेरित गर्नुपर्छ।
दसैं: परम्परा मात्र होइन, पुस्तालाई जोड्ने सेतु
नेपाली समाजमा दसैंको विशेष स्थान छ। वर्षभरि काम, अध्ययन, व्यवसाय र रोजगारीका कारण घरपरिवारबाट टाढा रहेका मानिसहरू यस पर्वमा आफ्नो जन्मथलो फर्कने प्रयास गर्छन्। घरको आँगनमा परिवारका सदस्य भेला हुनु, मान्यजनबाट टीका र जमरा ग्रहण गर्नु, आशीर्वाद लिनु र बाल्यकालका सम्झनाहरू साटासाट गर्नु दसैंका सुन्दर पक्ष हुन्।
आज वैदेशिक रोजगारी र बसाइँसराइका कारण धेरै नेपाली परिवार भौगोलिक रूपमा टाढिएका छन्। कतिपय अभिभावक सन्तानको प्रतीक्षामा छन्, कतिपय बालबालिका आफ्ना आमाबुबासँग दसैं मनाउन नपाउने अवस्थामा छन्। यस्तो परिवेशमा दसैंले पारिवारिक सम्बन्धको महत्त्व सम्झाउँछ।
सम्बन्धलाई जीवित राख्न महँगो उपहार आवश्यक पर्दैन, समय, माया, सम्मान र आत्मीयता पर्याप्त हुन्छन्। टीका लगाउनु एउटा सांस्कृतिक विधि हो तर त्यसको गहिरो अर्थ पुस्ताबिचको सम्बन्ध र आशीर्वादको निरन्तरता हो। ज्येष्ठ नागरिकको अनुभवलाई सम्मान गर्नु, बालबालिकाको भावनालाई बुझ्नु र परिवारका सबै सदस्यलाई समान आत्मीयता दिनु नै दसैंको संस्कार हो। परम्परा तबसम्म जीवन्त रहन्छ, जबसम्म त्यसले मानिसलाई मानिससँग जोडिरहन्छ।
शक्ति र सत्यको विजयसँग जोडिएको दसैं
दसैंको धार्मिक तथा सांस्कृतिक महत्त्व असत्यमाथि सत्यको विजय र अन्यायमाथि न्यायको विजयसँग जोडिएको छ। देवी दुर्गाको आराधनाले शक्ति, साहस र आत्मविश्वासको सन्देश दिन्छ तर शक्तिको वास्तविक अर्थ अरूमाथि प्रभुत्व जमाउनु होइन, अन्यायविरुद्ध उभिनु, कमजोरको पक्षमा आवाज उठाउनु र आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नु हो। आज हाम्रो समाजमा यस सन्देशको महत्त्व अझ बढेको छ। भ्रष्टाचार, विभेद, हिंसा, बेरोजगारी र अवसरको असमानताले नागरिकको विश्वास कमजोर बनाउँदा दसैंको आदर्शले हामीलाई आत्मसमीक्षा गर्न प्रेरित गर्नुपर्छ।
हामीले पूजा गर्ने देवीको शक्ति हाम्रो व्यवहारमा पनि देखिनुपर्छ। महिलाको सम्मान, बालबालिकाको सुरक्षा, पीडितको न्याय र कमजोर वर्गको अधिकारको संरक्षणमा हाम्रो प्रतिवद्धता प्रकट हुनुपर्छ। दसैंले हामीलाई बाहिरी शत्रुमाथि विजय प्राप्त गर्ने कल्पना मात्र होइन, आफ्नै अहंकार, लोभ, घृणा, अन्याय र स्वार्थमाथि विजय प्राप्त गर्न पनि सिकाउँछ। अरूलाई क्षमा गर्न सक्नु, गल्ती स्वीकार गर्न सक्नु र गलत परम्परा सुधार्न सक्नु पनि नैतिक साहसका रूप हुन्।
विपद्को पीडाबिच दसैंको मानवीय सन्देश
यस वर्षको दसैंमा हाम्रो खुसीसँगै देशका दुःखी नागरिकको पीडा पनि जोडिएको छ। प्राकृतिक विपद्ले प्रभावित परिवारका लागि पर्वको रौनकभन्दा जीवन पुनः निर्माण गर्ने चिन्ता ठुलो हुन सक्छ। कसैलाई घर बनाउने चिन्ता छ, कसैलाई परिवारको उपचार खर्च जुटाउने बाध्यता छ, कसैलाई गुमेको व्यवसाय फेरि सुरु गर्ने चुनौती छ। यस्तो अवस्थामा उनीहरूलाई केवल सहानुभूति व्यक्त गरेर हाम्रो जिम्मेवारी पूरा हुँदैन। दसैंको वास्तविक धर्म अरूको दुःख महसुस गर्नु र सम्भव भएसम्म सहयोग गर्नु हो।
आफ्नो सामर्थ्य अनुसार खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामग्री वा आर्थिक सहयोग उपलब्ध गराउनु, प्रभावित परिवारका बालबालिकालाई पढाइमा साथ दिनु र जीविकोपार्जन गुमाएका व्यक्तिलाई रोजगारीको अवसर दिनु मानवीयताको व्यावहारिक अभिव्यक्ति हो तर सहयोग गर्दा पीडितको आत्मसम्मानलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ।
विपद्मा परेका नागरिक दयाका पात्र मात्र होइनन्, उनीहरू अधिकार भएका नागरिक हुन्। उनीहरूलाई सुरक्षित आवास, शिक्षा, स्वास्थ्य, रोजगारी र सम्मानपूर्वक जीवन पुनः सुरु गर्ने अवसर प्राप्त हुनु आवश्यक छ। त्यसैले राहतसँगै पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिनु राज्य र समाज दुवैको दायित्व हो। हाम्रो घरमा दसैंको टीका लगाइरहँदा कुनै परिवारमा त्यो टीका लगाइदिने प्रिय हात सधैंका लागि हराएको हुन सक्छ। हाम्रो घरमा मिठा परिकार पाकिरहँदा कसैको चुलो बल्न कठिन भइरहेको हुन सक्छ। यही यथार्थ सम्झनु नै दसैंलाई संवेदनशील र अर्थपूर्ण बनाउने पहिलो कदम हो।
नयाँ पुस्ताको सपना र राष्ट्रको जिम्मेवारी
जेनजी आन्दोलनपछि नेपाली समाजमा परिवर्तन, सुशासन र जवाफदेहिताको विषय थप गम्भीरतासाथ उठेको छ। नयाँ पुस्ताले आफ्नो भविष्यप्रति निश्चितता, रोजगारीको अवसर, न्यायपूर्ण समाज र भ्रष्टाचारमुक्त सार्वजनिक प्रशासनको अपेक्षा गरेको छ। उनीहरूको आकांक्षालाई केवल राजनीतिक असन्तुष्टिका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यसभित्र सम्मानपूर्वक बाँच्न पाउने, आफ्नै देशमा भविष्य निर्माण गर्न सक्ने र राज्यका निर्णयमा आफ्नो आवाज सुनिने चाहना पनि जोडिएको छ।
दसैंले नयाँ पुस्तालाई संस्कार र परम्परासँग जोड्छ भने वर्तमान राजनीतिक परिवर्तनले उनीहरूको भविष्य निर्माण गर्ने जिम्मेवारी सम्झाउँछ। यी दुई पक्षबिच विरोधाभास होइन, सहकार्य हुनुपर्छ। संस्कृति जोगाउँदै समाज सुधार्न सकिन्छ, परम्पराको सम्मान गर्दै नयाँ विचारलाई स्थान दिन सकिन्छ र ज्येष्ठ पुस्ताको अनुभवलाई युवाको सिर्जनशीलतासँग जोडेर देशलाई अगाडि बढाउन सकिन्छ।
नयाँ सरकारले जनताको आशालाई व्यवहारमा रूपान्तरण गर्नुपर्छ। सुशासन, पारदर्शिता, न्याय र आर्थिक अवसरलाई प्राथमिकता दिनुपर्छ। युवालाई सिप, रोजगारी र उद्यमशीलताको अवसर दिनुपर्छ। महिलालाई आर्थिक रूपमा सक्षम बन्न आवश्यक वातावरण निर्माण गर्नुपर्छ। किसान, श्रमिक, साना व्यवसायी र विपद् प्रभावित नागरिकका समस्यालाई नीतिगत प्राथमिकतामा राख्नुपर्छ।
राजनीतिक परिवर्तनको वास्तविक सफलता नागरिकको जीवनमा आउने सकारात्मक परिवर्तनबाट मापन हुन्छ। दसैंको शुभकामनासँगै हामीले देशमा यस्तो वातावरण निर्माण होस् भन्ने कामना गर्नुपर्छ, जहाँ कुनै युवा अवसरको अभावमा आफ्नो सपना त्याग्न बाध्य नहोस्, कुनै महिला विभेदका कारण पछि नपरोस् र कुनै नागरिक आधारभूत सेवाबाट वञ्चित नहोस्।
महिला सम्मान र सामाजिक समानताको पर्व
दसैंमा देवी दुर्गाको पूजा गरिन्छ। शक्तिको प्रतीकका रूपमा महिलालाई सम्मान गर्ने हाम्रो सांस्कृतिक परम्परा छ तर देवीको पूजा र वास्तविक जीवनमा महिलालाई दिइने सम्मानबिच दुरी रहनु हुँदैन। महिलालाई शिक्षा, स्वास्थ्य, सम्पत्तिमा अधिकार, रोजगारी, उद्यमशीलता र नेतृत्वमा समान अवसर उपलब्ध गराउनु आवश्यक छ।
घरपरिवारको हेरचाहदेखि कृषि, व्यवसाय र सामाजिक सेवासम्म महिलाले ठुलो योगदान पुर्याउँदै आएका छन्। उनीहरूको श्रम र क्षमतालाई सम्मान नगरी समृद्ध समाज निर्माण सम्भव हुँदैन। छोरीलाई शिक्षा र सिपमा लगानी गर्ने, महिलाको निर्णय गर्ने अधिकार स्वीकार गर्ने र हिंसा तथा विभेदविरुद्ध उभिने संस्कार विकास गर्नु नै दसैंको शक्तिसम्बन्धी सन्देशलाई व्यवहारमा उतार्नु हो।
त्यसैगरी चाडपर्वले परिवारका सबै सदस्यबिच समानता र सम्मानको भावना बलियो बनाउनुपर्छ। पर्व मनाउने जिम्मेवारी महिलामाथि मात्र थोपर्ने होइन, घरको काम र हेरचाहमा सबैले सहभागिता जनाउनुपर्छ। साँचो पारिवारिक सुख आपसी सहयोग र समान सम्मानबाट प्राप्त हुन्छ।
उत्सवमा संयम, सम्बन्धमा आत्मीयता
समयसँगै चाडपर्व मनाउने शैलीमा परिवर्तन आएको छ। उपभोग, प्रदर्शन र प्रतिस्पर्धाले कहिलेकाहीं पर्वको मौलिक भावनालाई ओझेलमा पार्ने गरेका छन्। महँगा लुगा, ठुला भोजभतेर र अनावश्यक खर्चलाई प्रतिष्ठाको विषय बनाउँदा आर्थिक रूपमा कमजोर परिवारमा समेत सामाजिक दबाब सिर्जना हुन सक्छ।
दसैंको खुसी आर्थिक हैसियतसँग तुलना गरिनुहुँदैन। ऋण लिएर देखावटी खर्च गर्नु, परिवारको क्षमताभन्दा बाहिर गएर पर्व मनाउनु वा अरूको जीवनशैलीसँग आफ्नो खुसी तुलना गर्नु आवश्यक छैन। सादगी, आत्मीयता र आपसी सम्मानमा मनाइएको दसैं पनि उत्तिकै सुन्दर हुन्छ। चाडपर्वमा स्थानीय उत्पादन प्रयोग गर्ने, स्वदेशी उद्यमलाई प्रोत्साहन गर्ने र साना व्यवसायीको बजार विस्तारमा सहयोग गर्ने अभ्यासले अर्थतन्त्रमा समेत सकारात्मक योगदान पु¥याउन सक्छ। दसैंको किनमेल र उपभोगलाई स्थानीय उत्पादन तथा रोजगारीसँग जोड्न सके उत्सवले सामाजिक र आर्थिक दुवै मूल्य सिर्जना गर्छ।
दसैंको सार: आफू खुसी हुनु मात्र होइन, अरूलाई पनि खुसी बनाउन सक्नु
दसैंको वास्तविक मूल्य यसको धार्मिक विधि, पारिवारिक भेटघाट र सांस्कृतिक परम्परामा मात्र सीमित छैन। यसको गहिरो अर्थ मानवीय सम्बन्धलाई बलियो बनाउनु, समाजमा सद्भाव कायम राख्नु र अरूको पीडाप्रति संवेदनशील बन्नु हो। हाम्रो संस्कृतिले हामीलाई परिवारसँग जोड्छ। अब यही संस्कारले समाजका दुःखी, विपन्न र विपद् प्रभावित नागरिकसँग पनि जोड्न सक्नुपर्छ। यस वर्षको दसैंलाई हामी सबैले एउटा साझा संकल्पको अवसर बनाऔं। आफ्नो खुसीमा अरूको पीडा सम्झौं, आफ्नो सामर्थ्य अनुसार सहयोग गरौं, सामाजिक विभेद र अन्यायविरुद्ध आवाज उठाऔं र नयाँ पुस्ताले देखेको न्यायपूर्ण तथा समृद्ध नेपालको सपना साकार पार्न आआफ्नो ठाउँबाट योगदान दिऔं। बाढीपहिरोबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्छु।
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बडादसैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु। यो दसैंले हाम्रो परिवारमा आत्मीयता, समाजमा सद्भाव, राज्यमा सुशासन र राष्ट्रमा समृद्धिको नयाँ आशा जगाओस्। हाम्रा परम्पराहरू मानवताको आधार बनून्, हाम्रा संस्कारले समानता र न्यायलाई बलियो बनाऊन् र हाम्रो उत्सवले दुःखमा परेका नागरिकको जीवनमा पनि आशाको उज्यालो पुर्याओस्। दसैंको वास्तविक विजय टीकाको रङमा मात्र होइन, हाम्रो व्यवहारमा देखिने सत्य, न्याय, करुणा र मानवतामा छ। हाम्रो खुसी सबैको खुसी बनोस्, हाम्रो समृद्धि सबैको अवसर बनोस् र हाम्रो एकताले समुन्नत नेपालको आधार निर्माण गरोस्।
ज्ञवाली सामाजिक तथा आर्थिक अभियन्ता साथै लेखक हुन्।





