मुस्ताङ/मुस्ताङको लोमान्थाङ—४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले भन्सार राजस्व संकलनमा नयाँ रेकर्ड कायम गरेको छ । कार्यालयले नेपाल—चीन निकासी तथा पैठारी वापत ३ महिनामा ८ अर्ब ३२ करोड ८३ लाख राजस्व संकलन गरेको हो ।
मुस्ताङ भन्सार कार्यालय प्रमुख विदुर चुडालले साउनदेखि असोज २७ गतेसम्म उक्त राजस्व संकलन भएको जानकारी दिए । गत वर्ष कार्यालयबाट निकासी तथा पैठारीवापत ६ अर्ब ९२ करोड राजस्व संकलन भएको थियो ।
कार्यालयले चालु वर्ष ९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । कार्यालयले तीन महिना नबित्दै ९३.५३ प्रतिशत राजश्व संकलन गर्न सफल भएको हो । लक्ष्य पूरा गर्न अब ६७ करोड १७ लाख अर्थात (७.४६) प्रतिशतमात्रै राजस्व संकलन गरे पुग्नेछ ।
तातोपानी नाका र रसुवागढी नाका पूर्ण रुपमा बन्द भएपछि यहाँको राजस्व बढेको हो । त्यहाँबाट हुने निकासी तथा पैठारी मार्ग कोरलानाका विकल्प बनेपछि यहाँको कोरला स्थित मुस्ताङ भन्सार कार्यालय राजश्व संकलनले नयाँ रेकर्ड कायम गरेको हो ।
यो अवधिमा १९ अर्ब ४० करोड ६७ लाखका मालवस्तु पैठारी भएका छन् । यसैगरी ३७ लाख ७८ लाखका मालवस्तु नेपालबाट चीनतर्फ निकासी भएको भन्सार प्रमुख चुडालले सुनाए ।
कोरलाबाट नेपाल भित्रिएका विभिन्न कम्पनीका ३ हजार ९ सय २६ वटा विद्युतीय सवारी साधन भन्सार जाँचपाँच भई गन्तव्यतर्फ प्रस्थान गरेका छन् । गत वर्ष यो नाकाबाट ३ हजार २ सय २३ वटा विद्युतीय सवारी (ईभी)गाडीको भन्सार जाँचपास भएको थियो ।
कोरलानाका २०८० साल कात्तिक २७ गते चीनले उपल्लो मुस्ताङको दुई गाउँपालिकाका नागरिकका लागि बाह्रै महिना खुला गरेको थियो ।
पछिल्लो समय कोरला नाकालाई तातोपानी र रसुवागढी नाकाको विकल्पमा प्रयोग गरिएपछि कोरला स्थित लोमान्थाङ—४, न्हेचुङमा रहेको भन्सार कार्यालय, क्वारेन्टाइन र पशु क्वारेन्टाइन चेकपोस्टलाई थप व्यवस्थित बनाइएको छ ।





