मैले जुनैबेला पनि छर्लङ्ग खुलेको धौलागिरी देखें भने तु फोटो खिचिहाल्छु । बिहान हेरेको धौलागिरी दिउँसो नौलो लाग्छ । आज हेरेको धौलागिरी भोलि उत्तिकै ताजा लाग्छ । प्रकृति कहिल्यै बासी लाग्दैनन् । प्रकृति जति हेर्दै गयो उति नयाँ र ताजा लाग्छ । जस्तो दैनिक सूर्योदय हुँदा पनि त्यस्तै ताजगी पाईन्छ;हिंजोको सूर्य भनिंदैन । त्यस्तै मेरो घर आँगनबाट जन्म देखिनै देख्दै आएको धौलागिरी देखेर म कहिल्यै अघाउँदिन ।
प्यारो पनि त्यत्तिकै प्यारो लाग्छ बागलुङ बजारबाट देखिने धौलागिरीको दृश्य ! र अन्य हिमालको तुलनामा धौलागिरीको आकृति कस्तो छ भने चित्रकारले आफ्नो कल्पनामा हिमालको चित्र कोर्दा जसरी वरिपरि पहाड बनाएर बीचमा हिमाल लेख्छ,त्यस्तै प्राकृतिको छ हाम्रो धौलागिरी ! म्याग्दीको नाममा रहेको धौलागिरी बागलुङेको शीरफूल जस्तो शीरैको गहना हो । बागलुङ बजारलाई थप शोभायमान यहि धौलागिरीले बनाएको छ । त्यसैले धौलागिरीको मनमोहक दृश्य संगसंगै नाम पनि उत्तिकै प्यारो लाग्छ !
तर तपसिलको प्रसंगमा मेरो प्यारो धौलागिरीलाई मन नपराएको भनेर कसैले नठानोस् भन्ने विनम्र अनुरोध छ ।
बागलुङमा धौलागिरीकै नामुद शैक्षिक संस्था थियो ‘महेन्द्र क्याम्पस, बागलुङ’ ! हामीले पढ्दा यो क्याम्पसमा आईए र बीएसम्म मानविकी संकाय (अर्थशास्त्र, इतिहास र नेपाली विषय) अन्तर्गतका विषय मात्र पढाई हुन्थ्यो । अनि दुई-दुई बर्षमा यी विषयका पढाई पुर्ण हुन्थे । दुई बर्षे शैक्षिक सत्र थियो । आईएमा भर्ना भएका विद्यार्थीहरु मुश्किलले बिएका क्लासमा पुग्न सफल हुन्थे ।
पढाउने गुरुहरु प्रत्येक विद्यार्थीसंग घुलमिल हुन्थे । खालि पिरियडका समयमा विद्यार्थी र गुरुहरु आपसमा अत्यन्त हार्दिकतापुर्वक कूर्चीमा बसेर खेलिने विभिन्न खेलहरु क्याम्पसको पटाहामा (क्यारमबोर्ड,चाईनिजचेकर आदी) खेल्थे । (पटाहा हेर्न भिडियो हेर्नुहोला ,अहिले पनि उहिलेको जस्तै बचाएर राखिएको रहेछ खुशि लाग्यो ) अर्थात महेन्द्र क्याम्पस बागलुङमा गुरु र विद्यार्थी बीच अत्यन्त सौहार्दपुर्ण र रमाईलो बाताबरणमा अध्ययन अध्यापन हुन्थ्यो ।
तर, आफ्नै बाबाआमाले भन्दा बढी मायाँगर्ने गुरुहरु परीक्षाको समयमा भने अर्कै ग्रहबाट झरेका (एलियन जस्ता) अनौठा र अचम्म लाग्ने अद्भुत खालका प्राणीजस्ता लाग्थे । क्याम्पसले परीक्षाको मर्यादा र अनुशासनमा एक रति पनि आँच पुर्याउन दिंदैन्थ्यो, क्याम्पसमा कसैलाई पनि अबाञ्छित कृयाक्लाप गर्न पटक्कै छुट् थिएन । परीक्षा हलभित्र गुरुहरु परीक्षार्थीसंग पुरै निर्मम र कठोर हुन्थे । एउटा छात्राले कुर्ता भित्रको सुरुवालमा डट्पेनले लेखेर ल्याएको चिटिङ परीक्षा निरिक्षक गुरुले भेटाएर तत्काल साँप्रो पखाल्न पानी धारामा पठाएको घटना त्यतिबेला निक्कै चर्चित बनेको थियो । अर्थात जति नरम लाग्थे उतिनै कठोर पनि थिए हाम्रा गुरुहरु !
विद्यार्थी सिर्जनशील बनोस् यदि सिर्जनशील बन्न सक्दैन भने बरु विद्यार्थीले कण्ठस्थ गरेर प्रश्नका उत्तर लेखुन तर चीट नचोरून् भन्ने समग्र गुरुहरुको एकमत थियो । परीक्षाको समयमा जानेका नजानेका कसैका मुख हेरेर कसैले कृपा दृष्टि पाउँदैन्थ्यो । चिटिङ गर्न प्रोत्साहन गर्नु भनेको त्यो विद्यार्थीको पढाई मात्र होईन विद्यार्थीको जिन्दगीनै बर्बाद हुनु हो, साथै देशले एक असल नागरिक बन्नबाट बञ्चित हुनु हो र राष्ट्रलाई धोखा पुरै धोखा दिनु हो भन्ने सबै गुरुहरुको पवित्र विचार हामीले पटक-पटक सुन्न पाउँथ्यौं । त्यसैले त अधिराज्यभरिका मै हुँ भन्ने क्याम्पसहरु मध्ये महेन्द्र क्याम्पस बागलुङको सर्टिफिकेटको तौल सबैलाई भारी पर्थ्यो ।

तत्कालिन महेन्द्र बहुमुखी क्याम्पस बागलुङ । तस्वीरः कृष्णराज शर्मा
राजधानीका सुविधा सम्पन्न क्याम्पसमा हासिल गर्ने सर्टिफिकेट भन्दा कम गह्रुङ्गो यहाँको सर्टिफिकेटलाई मानिन्नथ्यो । त्यस्तो उत्कृष्ठ यहि महेन्द्र क्याम्पस पछि विस्तारै मानविकी बाहेक कानुन लगायत अन्य विषयहरुमा पनि अध्यापन हुन थालेपछि क्याम्पसको स्तरोन्नति हुँदै ‘महेन्द्र बहुमुखि क्याम्पस, बागलुङ’ बन्न पुग्यो ।
समयक्रममा यति अब्बलता कायम गरेको क्याम्पसको नाम भने कसैको व्यक्तिगत लहडका भरमा जबर्जस्ति महेन्द्र हटाएर धौलागिरी बहुमुखि क्याम्पस बागलुङ बनाईयो । विगतको तुलनामा अध्ययन अध्यापनका कुरा राम्रै होलान या नहोलान त्यता नजाऔं । यहाँ त्यहि पुरानो महेन्द्र बहुमुखि क्याम्पसलाई किन नाम फेर्नु परेको होला भन्ने जिज्ञासा जागेर आएको छ ।
एकदमै ठिकठाकैसंग चल्दै चलाउँदै आएको उत्कृष्ठ संस्थाको नामसंग किन आहारिस गरियो भन्ने आम जनचासो पनि बढ्दै गएको छ । के नाम नबदलेको भए मध्यपहाडी राजमार्गलाई क्याम्पसको बीचबाट चीर्दै र छिचोल्दै लैजान नमिल्ने थियो र ? बढ्दो जनसंख्याको चापसंगै विद्यार्थीको पनि चाप थेगिनसक्नु भएको समयमा नयाँ जग्गा खोजेर नयाँ क्याम्पस निर्माण गर्दै ईच्छित नाम राखेको भए कसलाई आपत्ति हुन्थ्यो र ? तर कुन दु:खले शुरुमा महेन्द्र कलेजको नाम हुँदै महेन्द्र क्याम्पस बनेको यो क्याम्पस माथि किन कसले चढाईं गर्यो नाम मेटाईयो ?

लेखक कृष्णराज शर्मा
दु:खका साथ प्रश्न उठाउन मान्छेले छाडेका छैनन् ! कसैले धनको बलमा अग्रजहरुले आटोपिठो खाएर मुष्ठीदान जुटाएर निर्माण गरेका शैक्षिक संस्थाहरुलाई करोडका करोड बिटा देखाएर आफ्ना पुर्खाको नाम लेखाउँछन ! कसैले क्षणिक राजनीतिक शक्ति र पदको आडमा सग्लो इतिहास बोकेका शैक्षिक संस्थाहरुका नाम सफाया गराउँछन् ! हाय समय ! के देख्नु पर्दैछ हिंजोको आजै ? यस्तो लाग्छ, यिनीहरुको समय र तागत पानीको फोका झैं नफुटेका भए कतै थोरै क्षेत्रफलको सानो टुक्रा जग्गा लिएर एउटा पन्ध्रतले अग्लो विल्डिङमा अहिलेको क्याम्पसलाई स्थानान्तण र व्यवस्थापन गर्दै क्याम्पसको ८४ (चौरासी) रोपनी क्षेत्रफल पुरै बेचेर होटल,रिसोर्ट र डान्सबार खोल्न पछि पर्दैन्थे ।
धन्न समयले पल्टा खायो र हो,नत्र महेन्द्रको नाम मेट्नेहरुले आजसम्म यो क्याम्पसको बिक्रिबट्टा पनि गरिसक्ने थिए । हाम्रा सर्टिफिकेटमा बकाईदा लेखिएका ‘महेन्द्र मल्टीपल क्याम्पस, बागलुङ’ लेखिएको छ । (हेर्नुहोस फोटो ) यदि मेरो सर्टिफिकेटमा लेखिए अनुसार मैले पढेको क्याम्पस बागलुङमा खोज्न जाने हो भने अहिले बागलुङमा त्यो क्याम्पस कहिं कतै पाईंदैन ।

मेरो मात्र होईन हज्जारौं म जस्ता विद्यार्थीका हातमा मेरा जस्तै थुप्रै प्रमाण-पत्रहरु सुरक्षित छन । उनीहरुले पनि आफुँले पढेको क्याम्पस खोज्ज थाले भने भेटाउने छैनन् । धौलागिरी क्याम्पसमा पुर्व विद्यार्थीहरुलाई पुनर्मिलनको लागि क्याम्पस वा क्याम्पस संबद्ध कसैले आह्वान गरेभने पुरानो नाम महेन्द्र क्याम्पसका विद्यार्थीहरुले भाग लेलान कि के गर्लान ? राजाहरुका नामसंग दुश्मनि साँध्नेहरुले अरु यस्तै नामहरु किन हटाउन सकेनन् र बागलुङको क्याम्पसको मात्र नाम किन हटाए ?
राजाहरुका नाममा खुलेका त्रिभुवन विश्वविद्यालयको नाम परिवर्तन हुन परेन, महेन्द्र संस्कृत विश्वविद्यालयको नाम फेरिएन, पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको नाम यथावत छ, पृथ्वीराजमार्ग छँदैछ तर, बागलुङको महेन्द्र क्याम्पसको नाम मात्र किन फेरियो ? यो प्रश्न स्थानीयले उठाउन थालेका छन् ।

हालको धौलागिरी बहुमुखी क्याम्पस बागलुङ । तस्वीरः कृष्णराज शर्मा
अन्तमा, यस सन्दर्भमा अहिलेको सरकारले पुराना ऐतिहासिक नामहरु पुन:स्थापित गर्न थालेको सुन्नमा आएको छ । बदलिएको मेची-महाकाली राजमार्ग पुर्ववत रुपमा महेन्द्र राजमार्ग बनाए जस्तै बागलुङको धौलागिरी बहुमुखि क्याम्पसको नाम पनि पुर्ववत महेन्द्र बहुमुखि क्याम्पस लेखाउन र लागिपर्न सरकार, सरोकारवाला र प्रश्नकर्ताहरु लगायत सबैको ध्यानाकर्षण भए कति जाति हुँदो हो !
धन्यवाद !





