बागलुङ / फूलपातीको दिन आज बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । बाढीले पहुँचमार्ग बगाई मालढुङ्गाको पुल बन्द हुँदा घटस्थापनाका दिन सुनसान रहेको यो मन्दिरमा शनिबार भने भक्तजनको चहलपहल बढेको छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काका अनुसार शनिबार फूलपातीका दिन मन्दिरमा अत्यधिक संख्यामा दर्शनार्थी आएका छन् । यस वर्ष दसैँमा पाँच लाख भक्तजन आउने अनुमान गरिए पनि सुरुआती दिनमा बाढीपहिरोका कारण आगमन प्रभावित भएको उनले बताए ।

चितवन, बुटवल, स्याङ्जा, पोखरा तथा छिमेकी जिल्ला पवर्त र म्याग्दीबाट दर्शनका लागि भक्तजन आउने गरेका छन् । होटल व्यवसायी अर्जुन चोखालले पुल सञ्चालनमा आएपछि पर्यटक तथा यात्रुको चहलपहल बढेको बताए ।
धार्मिक आस्था र ऐतिहासिक महत्त्व बोकेको कालिका भगवती मन्दिरमा दसैँ र चैतेदसैँमा विशेष पुजाआजा हुने गर्दछ । मन्दिर वि.सं. १५९१ मा भएको स्थापना भएको हो ।





