सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

ईभीको सुविधा एकातिर, यात्रुलाई वाकवाकी अर्कोतिर


  • ग्रेस डिन
  • कार्तिक ३ २०८३, सोमबार

लोला बेयर्डले आफ्नो प्रेमीलाई गाडी रोक्न भन्छिन्। यात्रा सुरु भएको ४० मिनेटमै उनलाई वाकवाकीले ‘सताउन’ थाल्छ र गाडीको छेउमा भुईँमा बान्ता गर्नबाट उनी आफूलाई रोक्न सक्दिनन्।

उत्तरी लन्डनकी २४ वर्षीया लोलालाई दुई वर्षअघि आफ्नो प्रेमीले विद्युतीय गाडी (ईभी) नकिन्दासम्म मोसन सिकनेस (यात्रा गर्दा हुने वाकवाकी) को अनुभव नै थिएन। त्यसयता, जब प्रेमीले उनलाई लामो यात्रामा लैजान्छन्, उनी ‘धेरै वाकवाकी’ लागेको महसुस गर्छिन्। यो समस्या यति गम्भीर बनिसकेको छ, उनले प्रेमीलाई गाडी नै फेर्न भनिसकेकी छन्।

त्यसयता, जब प्रेमीले उनलाई लामो यात्रामा लैजान्छन्, उनी ‘धेरै वाकवाकी’ लागेको महसुस गर्छिन्। यो समस्या यति गम्भीर बनिसकेको छ, उनले प्रेमीलाई गाडी नै फेर्न भनिसकेकी छन्। त्यसोभए मोसन सिकनेसका यी विवरणहरूलाई केले स्पष्ट पार्न सक्छ त ?

किङ्ग्स कलेज लन्डनमा एनाटोमी र बायोमेकानिक्सकी वरिष्ठ उपप्राध्यापक डा. आइरिन डी जियुलियोको अनुसन्धानमा मोसन सिकनेसको विषय पनि समावेश छ। उनी भन्छिन्, अहिलेसम्मको अनुसन्धानले देखाएअनुसार केही मानिसहरू गैर-विद्युतीय गाडीमा भन्दा विद्युतीय गाडीमा बढी गम्भीर मोसन सिकनेसको अनुभव गर्छन्।

सिकागोस्थित नर्थवेस्टर्न मेडिसिनका स्नायु रोग विशेषज्ञ डा. निकोलस ह्याक चक्कर लाग्ने र रिँगटा लाग्ने समस्याका विशेषज्ञ हुन्। उनले पनि आफ्ना केही बिरामीहरूबाट यस्तै कुरा सुनेका छन्। उनी भन्छन्, ‘विद्युतीय गाडीमा बस्दा आफूहरूलाई मोसन सिकनेस हुने सम्भावना धेरै रहेको उनीहरूले याद गरेका छन्।’

महिनामा करिब दुई जना बिरामीले विशेषगरी विद्युतीय गाडीमा मोसन सिकनेस भएको बताउने गरेको उल्लेख गर्दै उनी थप्छन्, ‘मैले यसबारे धेरै, धेरै, धेरै पटक सुनेको छु।’

तर यसको सम्भावित सम्बन्धबारे अनुसन्धान अझै प्रारम्भिक चरणमै छ। केही प्राज्ञिक व्यक्तिहरू निश्चित रूपमा केही भन्न पर्याप्त प्रमाण नभएको बताउँछन्।

युनिभर्सिटी अफ पिट्सबर्गमा मोसन सिकनेसबारे अनुसन्धान गरेका डा. बिल येट्सका अनुसार यस बिन्दुमा अनुसन्धानको अवस्था ‘निकै अपूर्ण’ छ

‘केही सुनिएका जानकारीहरू मात्र छन्, तर अहिलेसम्म धेरै गम्भीर र विस्तृत अध्ययनहरू भएका छैनन्,’ उनी भन्छन्।

‘चलाउन गज्जब छ… तर मेरी छोरी बिरामी पर्छिन्’

लिङ्कनसायरका ४५ वर्षीय मार्क क्विगले गत वर्ष नयाँ गाडीको विकल्प खोज्दा कम सञ्चालन खर्चका कारण विद्युतीय गाडी सबैभन्दा राम्रो विकल्प लाग्यो।

मार्कका अनुसार उनको चम्किलो नयाँ विद्युतीय गाडी चलाउन ‘गज्जब’ छ। तर उनले छिट्टै एउटा कुरा याद गरे, गाडीमा बस्दा उनकी नौ वर्षीया छोरीको मोसन सिकनेस निकै बढ्न थाल्यो।

ev

स्कुल बिदाको समयमा फ्रान्ससम्मको ६०० माइलको यात्रामा मात्र उनकी छोरीलाई वाकवाकी लाग्थ्यो। तर अहिले नजिकैको सहरसम्मको ३० मिनेटको यात्रामा पनि छोरीलाई असहज महसुस हुने उनी बताउँछन्।

हालैको एउटा यात्रामा उनकी छोरीले बान्ता नै गरिन्, जुन यसअघि कहिल्यै भएको थिएन।

मोसन सिकनेसले सबै ईभी यात्रुहरूलाई असर गर्दैन। धेरै गाडीधनीहरूले आफू र आफ्ना आफन्तहरू विद्युतीय गाडीमा बिरामी नपर्ने बताए। अन्य केहीले परम्परागत इन्धनबाट चल्ने गाडीको तुलनामा ईभीमा कम वाकवाकी लाग्ने बताए।

विद्युतीय सवारी चालकहरूको संस्था ईभीए इङ्गल्याण्डकी प्रमुख कार्यकारी अधिकृत विक्की एडमन्ड्स आफ्ना सदस्यहरूमाझ मोसन सिकनेस कुनै चिन्ताको विषय नभएको बताउँछिन्। उनी भन्छिन्, ‘यो कहिल्यै पनि समस्याको रूपमा आएको छैन।’

तर बेलायतभर सोरुमहरू भएको चिनियाँ विद्युतीय सवारी निर्माता एक्सपेङ्गले यसअघि नै यो मुद्दालाई सार्वजनिक रूपमा सम्बोधन गरिसकेको छ। विद्युतीय गाडी र यात्रा गर्दा हुने वाकवाकीबिचको सम्बन्ध याद गर्ने मानिसहरूलाई कम्पनीले भनेको छ, ‘यो एउटा जायज प्रश्न हो, र यो तपाईंको कल्पना मात्र होइन।’ विद्युतीय कारहरूको इन्जिनियरिङ कसरी गरिएको छ भन्ने कुराको ‘साइड इफेक्ट’का कारण यस्तो हुने कम्पनीले थप स्पष्ट पारेको छ।

यसको कारण के हुन सक्छ ?

डा. ह्याकका अनुसार ‘ज्ञानेन्द्रिय संकेतहरूमा हुने तालमेलको अभाव’का कारण मोसन सिकनेस हुन्छ। हामी चलिरहेका छौँ भनी थाहा पाउन हाम्रो शरीर मुख्य रूपमा तीनवटा ज्ञानेन्द्रिय संकेतहरूमा निर्भर हुन्छ। ती सङ्केतहरू हामीले देख्ने दृश्य, हाम्रो भित्री कानको सन्तुलन प्रणालीले महसुस गर्ने कुरा र हाम्रो शरीरका तन्तुहरूले थाहा पाउने संवेदनाबाट आउँछन्। जब यीमध्ये कुनै एकको अर्कोसँग तालमेल मिल्दैन, तब मोसन सिकनेस हुन सक्छ। उदाहरणका लागि, यदि तपाईं आफ्नो फोन हेरिरहनुभएको छ र झ्यालबाट बाहिर चालको दृश्य देखिरहनुभएको छैन भने त्यसले वाकवाकी ल्याउन सक्छ।

अनुसन्धानले विद्युतीय गाडीमा यो समस्या किन बढी गम्भीर हुन सक्छ भन्ने धेरै कारणहरू औँल्याएको छ।

विशेषज्ञहरूका अनुसार मानिसले गाडीमा आवाजलाई चालसँग जोडेर हेर्ने बानी विकास गरिसकेका हुन्छन्। हामी अभ्यस्त भइसकेको इन्जिनको आवाज र कम्पन विद्युतीय गाडीमा हुँदैन, जसले गाडीको गति बढिरहेको सङ्केत गर्थ्यो। डा. जियुलियोका अनुसार यही कारणले मोसन सिकनेसलाई बढवा दिन सक्छ।

अर्को कारण ‘रिजेनेरेटिभ ब्रेकिङ’ हो। यो यस्तो प्रक्रिया हो जहाँ चालकले एक्सेलेटर छोड्दा मोटरले जेनेरेटरको रूपमा काम गर्न थाल्छ। यसले प्रतिरोध सिर्जना गर्छ, जसले गाडीको गति कम गराउनुका साथै ब्याट्रीमा भण्डारण गर्न सकिने विद्युत् पनि उत्पादन गर्छ। एक्सेलेटरलाई बिस्तारै छोड्नुपर्छ, अन्यथा यसले अचानक गति कम गराउन सक्छ।

डा. ह्याक भन्छन्, ‘गाडीको गति अचानक परिवर्तन हुने त्यो छोटो क्षणमा यसले व्यक्तिलाई अगाडि-पछाडि हल्लिएको जस्तो महसुस गराउन बाध्य पार्छ।’

क्यालिफोर्नियाकी २४ वर्षीया क्यारोलिन लीले पनि यही कुरा याद गरेकी छन्। व्यस्त सहरहरूमा साथीले आफ्नो विद्युतीय गाडीमा लैजाँदा उनलाई ‘भयानक’ मोसन सिकनेस हुन्छ। रिजेनेरेटिभ ब्रेकिङका कारण ‘गाडी हरबखत रोकिइरहेको जस्तो निरन्तर महसुस हुने’ उनी बताउँछिन्।

परम्परागत इन्धनबाट चल्ने कारहरूको तुलनामा विद्युतीय गाडीहरूले धेरै छिटो गति बढाउन र घटाउन सक्छन्। डा. जियुलियोका अनुसार यसले पनि मोसन सिकनेस निम्त्याउन सक्छ।

तर ईभीए इङ्गल्याण्डकी एडमन्ड्स विद्युतीय सवारीको डिजाइनमा भएको विकासले एक्सेलेरेसनलाई नियन्त्रण गर्न अझ राम्रो बनाएको र अब गाडीले त्यति छिटो गति नलिने बताउँछिन्।

विद्युतीय गाडीमा हुने मोसन सिकनेस गाडीको कारणले नभई चालकको गाडी चलाउने शैली जस्ता ‘अन्य कारकहरू’ले हुने संस्थाको बुझाइ रहेको उनी थप्छिन्।

सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्सका प्रमुख माइक हवस् विद्युतीय कारका केही विशेषताहरू सुरुमा चालकहरूलाई अपरिचित लाग्न सक्ने कुरा थप्छन्।

ईभीले फरक किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न सक्ने उनको भनाइ छ। उनी भन्छन्, ‘यद्यपि, चालकहरू सामान्यतया यी विशेषताहरूसँग छिट्टै अभ्यस्त हुन्छन् र धेरै मोडलहरूमा रिजेनेरेटिभ ब्रेकिङलाई व्यक्तिगत रुचिअनुसार मिलाउन मिल्ने सुविधा पनि हुन्छ।’

डा. ह्याकका अनुसार केही मानिसहरूमा मोसन सिकनेस हुने सम्भावना त्यसै पनि बढी हुन्छ र यसमा आनुवंशिकी (जेनेटिक्स) को सबैभन्दा ठुलो प्रभाव हुन्छ। विशेषज्ञहरूका अनुसार महिला र बालबालिकाहरू यसको बढी जोखिममा हुन्छन्।

युनिभर्सिटी अफ वेस्टमिन्स्टर, रोयल नेभी र आरएएफमा यस विषयमा अनुसन्धान गरेका प्राध्यापक जोन गोल्डिङका अनुसार मोसन सिकनेस सामान्यतया आठदेखि १० वर्षको उमेरमा उच्च विन्दुमा पुग्छ। त्यसपछि यात्राको अनुभव बढ्दै जाँदा यो कम हुँदै जान्छ।

टाउकोलाई स्थिर राख्नुहोस् र झ्याल खोल्नुहोस्

विद्युतीय गाडीहरूको लोकप्रियता बढ्दै जाँदा यसबाट बच्न चुनौतीपूर्ण हुन सक्छ। यातायात मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को तुलनामा सन् २०२६ को अप्रिलदेखि जुनसम्मको अवधिमा बेलायतमा दर्ता भएका नयाँ शून्य-उत्सर्जन (जिरो इमिसन) कारहरूको सङ्ख्या ४०.५ प्रतिशतले बढेको छ।

d3cab2d0-be4a-11f1-a73b-295bdc9b9b7fjpg

तथ्यांकअनुसार सन् २०२६ को जुनको अन्त्यसम्ममा बेलायतका सडकमा दर्ता भएका कुल कारमध्ये ५.८ प्रतिशत शून्य-उत्सर्जन भएका सवारी साधन थिए। सन् २०३० देखि पूर्ण रूपमा पेट्रोल वा डिजेलबाट चल्ने नयाँ कारको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी छ।

लन्डनकी २४ वर्षीया लुसिन्डा ह्यारिसन आफूले बुकिङ गरेका ट्याक्सीहरू प्रायः विद्युतीय गाडी हुने गरेको र वाकवाकी लाग्ने, पसिना आउने र चिडचिडापन महसुस गर्दै यात्रा सहनुपरेको बताउँछिन्।

ईभीमा यात्रा गर्ने सोचले नै आफूलाई डर लाग्ने उनको भनाइ छ। हालै एक सहकर्मीसँग ट्युब स्टेसनसम्मको पाँच मिनेटको यात्रा मात्र पनि उनलाई ‘भयानक’ महसुस गराउन पर्याप्त थियो।

प्राज्ञहरूका अनुसार मोसन सिकनेसको महसुस कम गर्न यात्रुहरूले धेरै उपाय अपनाउन सक्छन्:

  • अगाडिको झ्यालबाट बाहिर हेर्नुहोस्, आफ्नो फोन नहेर्नुहोस् वा किताब नपढ्नुहोस्।
  • सम्भव भएसम्म पछाडि भन्दा अगाडिको यात्रु सिटमा बस्नुहोस्। यदि पछाडि नै बस्नुपर्ने अवस्था आएमा बिचको सिट रोज्नुहोस् जसले गर्दा तपाईं अगाडिको झ्यालबाट बाहिर देख्न सक्नुहुन्छ।
  • टाउकोलाई हेडरेस्ट (सिटको अघिल्लो भाग) मा अडेसा लगाएर स्थिर राख्नुहोस्।
  • आफ्नो सिटलाई पछाडि ढल्काउनुहोस्।
  • श्वासप्रश्वासलाई सन्तुलित राख्नुहोस्।
  • ताजा हावा छिर्न दिन झ्याल खोल्नुहोस्।
  • आवश्यक परेमा यात्रा गर्दा वाकवाकी नलाग्ने औषधि खानुहोस्, यद्यपि यसले निद्रा लगाउन सक्छ।
  • लामो यात्रा गर्नुअघि पर्याप्त पानी पिउनुहोस्, राम्ररी सुत्नुहोस् र चिल्लो नभएको खानेकुरा खानुहोस्।

विज्ञहरूका अनुसार लामो समयसम्मको अनुभवपछि हामी मोसन सिकनेसप्रति अभ्यस्त हुन सक्छौँ। प्राध्यापक गोल्डिङ भन्छन्, विद्युतीय गाडीमा जति धेरै यात्रा गर्नुहुन्छ, शरीर अभ्यस्त हुँदै जाने भएकाले तपाईंलाई मोसन सिकनेस हुने सम्भावना त्यति नै कम हुन्छ।

motion-sickness-1200

रोयल कलेज अफ आर्टमा मोबिलिटी डिजाइनका प्राध्यापक सिरियल डिल्सका अनुसार विद्युतीय गाडीमा मोसन सिकनेस कम गर्न कार निर्माताहरूले पनि धेरै कुरा गर्न सक्छन्। छिटो हुने एक्सेलेरेसनलाई सहज बनाउने सफ्टवेयर राख्ने, गाडी चलिरहेको छ भनी यात्रुहरूलाई सङ्केत दिन साउन्ड सिस्टम र सिटमा हल्का कम्पन थप्ने तथा अचानक गति कम हुने समस्यालाई घटाउने एडप्टिभ रिजेनेरेटिभ ब्रेकिङ उपलब्ध गराउने जस्ता कार्यहरू यसमा पर्छन्।

केही ईभीहरूमा रिजेनेरेटिभ ब्रेकिङलाई बन्द गर्न पनि सकिन्छ।

बेलायतमा विद्युतीय सवारीको चार्जिङ पोइन्ट निर्माण गर्ने कम्पनीहरूको प्रतिनिधित्व गर्ने संस्था बीमाका म्याट एडम्सलाई एउटा कुरामा विश्वास छ। उनी भन्छन्, ‘यदि भविष्यमा हुने अनुसन्धानले कार सिकनेस (गाडीमा वाकवाकी लाग्ने समस्या) को कारण पत्ता लगायो भने सवारी निर्माताहरूले त्यहीअनुसार प्रतिक्रिया दिन र सुधार गर्न सक्नेछन्।’

तर लोला भने आफ्नो प्रेमीले गाडी नै फेरोस् भन्ने मात्र चाहन्छिन्। त्यो दिन जति सक्दो चाँडो आओस् भन्ने उनको भनाइ छ। बीबीसी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->