
गुल्मी / गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत तीन खण्डमा काम भएको छ । जसमा पहिलो खण्ड रिडी–तम्घास अन्तर्गत २५ किलोमिटर सडक कालोपत्रे भएको छ । यो खण्ड रुरु र छत्रकोट गाउँपालिकाको बजार क्षेत्रमा पर्छ ।
मदन भण्डारी राजमार्गको रिडी-तम्घास ४५ किलोमिटरमध्ये दुई खण्डमा काम भएको छ। पहिलोखण्ड रिडीदेखि बीरबाससम्म २५ किलोमिटर सडकखण्ड स्तरोन्नतिसहित ढलान र कालोपत्रेको काम समयमै सकिएको हो ।
मुख्य राजमार्गको काम समयमै भएर पालिकाहरुको पहुँचमार्गहरु जोडिएपछि नागरिकलाई धेरै हिसावले सुविधा भएको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।
यो सडकले यात्राको समय कम मात्र नभएर दुर्घटनाको जोखिम न्यूनीकरण पनि गरेको छ । रिडी-तम्घासको झण्डै साढे दुई घण्टाको सयम घटेर अहिले एक घण्टामा झरेको गाडी चालक इस्मा गाउँपालिका–४ दोहलीका बसन्त खड्काले बताए ।
खड्काले भने, “पहिले घुम्ती र साँघुरो सडकको कारण पलपलमा दुर्घटनाको जोखिम थियो । अहिले कालोपत्रे फराकिलो सडकका कारण ढुक्कले एक घण्टामा रिडी–तम्घास पुगिन्छ ।”
मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका सूचना अधिकारी इन्जिनियर प्रभात तिवारीमा अनुसार यो खण्ड २०७९ फागुन २६ मा समानन्तर–एलाइट जेभीले एक अर्ब ६४ करोड ६६ लाख १६ हजार ७४० रुपियाँको लागतमा सडक कालोपत्रेको सम्झौता गरेको थियो । निर्माण व्यवसायीले तोकिएकै मितिमा काम गरेर अहिले डिएलपी समय रहेको छ।
त्यस्तै, मदन भण्डारी राजमार्गको रिडी–तम्घास अन्तर्गतको दोस्रो खण्ड गुल्मी दरवारको बीरवास राजाक्षेत्रको १.७४ किलोमिटर सडक कालोपत्रेको काम अगाडि बढेको छ । तिरुपाते ॐ नम जेभीले ११ करोड १४ लाख ७६ हजार ९९० रुपियाँको लागतमा सडक स्तरोन्नतीसहित ढलान र कालोपत्रेको काम गरिरहेको इन्जिनीयर तिवारीले जानकारी दिए ।
२०८२ जेठ २५ गते निर्माण व्यवसायीले सम्झौता गरेको यो काम २०८३ माघ २५ सम्म सक्नुपर्ने उल्लेख छ । अहिलेसम्म ३७ प्रतिशत भौतिक प्रगति भएको छ । मदन भण्डारी राजमार्गको रिडी-तम्घास अन्तर्गतको तेस्रो खण्डमा गौडाकोट-देउरालीको लागि बोलपत्र आव्हान भएर मूल्याङ्कनको काम भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मी पश्चिम सिमलटारीदेखि प्युठानको मच्छिसम्मको काम अलपत्र परेको छ । ३१.८ किलोमिटर सडकमध्ये सौतामारेसम्मको १६ किलोमिटर गुल्मी र बाँकी सडक प्युठानमा पर्छ । यो सडक निर्माणको लागि श्रेष्ठ सक्षम जेभीले २०७९ कार्तिक ६ गतेदेखि सम्झौता गरेपनि चार बर्षमा जम्मा ३३ प्रतिशत भौतिक प्रगति भएको छ ।





