बागलुङ, ९ बैशाख – जिल्लाको बडिगाड गाउँपालिकाले पौने ३ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगेर वितरण गर्न सुरु गरेको छ । उसले टोलटोलमा आउन नसक्ने अशक्तलाई भने घरघरमा नै पुगेर सो भत्ता वितरण गर्ने योजना बनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस रोकथामका लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण बैकं बन्द भएपछि सहजताका लागि टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिए ।
टोलटोलमा पुगेर सामजिक सुरक्षा भत्ता वितरण गर्ने काम सुरुवात सोमवारदेखि ददातुम्डाडाँबाट सुरु गरिएको छ । बैंकमा पुगेर रकम झिक्न यतिबेला सम्भव नहुने र भीडभाड हुने तथा अति अशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता, अस्वस्थ भएकालाई असहज भएपछि गाउँपालिकाका कर्मचारी र वडा सचिवको पहलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको हो । यो बेला सामाजिक दुरी कायम गर्नु अत्यन्तै जरुरी छ, बैकं खोलेर भत्ता वितरण गर्न बोलाउँदा थप जोखिम पनि निम्तिने भएकाले टोलटोलमा नै भत्ता वितरण गर्न सुरु गरिएको पालिकाले जनाएको छ ।
‘उहाँहरु बैंकमा आएर भत्ता लैजान सक्ने अवस्थामा हुनुहुँदैन, त्यसैले हामीले घरमै गएर भत्ता वितरण गर्न थालेका हौँ, यसले उहाँहरुलाई सहज हुने अपेक्षा गरेका छौँ ।” अध्यक्ष पाईजाले ढोरपाटनसंग भने । विश्वस्वास्थ्य सगंठनले कोरोना सतर्कताका लागि जारी गरेका नियमहरुलाई पालना गर्दै सामाजिक दुरी कायम गरेरै भत्ता वितरण गरिने कार्य योजना बनेको छ ।
यसका लागि पालिकाले आफ्ना १० वटै वडाका मुख्य ठाउँहरुलाई केन्द्र तोकेको छ । त्यसका लागि वडा नं. १ मा २ ठाउँ, वडा नं.२ मा ३ ठाउँमा, वडा नं. ४ मा ३ ठाउँमा, वडा नं. ३ मा ३ ठाउँमा, वडा. नं ५ मा ७ ठाउँमा, वडा नं. ८ मा ३ वटा, वडा नं. ९ मा २ वटा र वडा नं. १० मा २ वटा केन्द्र तोकिएको छ । असक्तलाई घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिने अध्यक्ष पाइजाले वताए ।
लक्ष्य अनुसार वितरण गर्न सकेमा ३ दिन भित्र भत्ता वितरण गरेर सक्ने लक्ष्य रहेको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बालाकृष्ण सुवेदीले बताए । गाउँपालिका भित्रका ३ हजार १ सय ४३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको छ । त्यसका लागि २ करोड ७५ लाख ९८ हजार ४ सय रुपैयाँ छुट्टाईएको अधिकृत सुवेदीले वताए ।
उनले आफुलाई पायक पर्ने केन्द्रमा गई भत्ता बुझिलिन सवैलाई आग्रह गरेका छन् । लकडाउनका कारण प्रभावित बनेका र यो अवस्था अनिश्चित बन्दै गएकाले सामाजिक सुरक्षा भत्ता बापतको रकमले स्थानीयलाई राहत हुने र अत्यावश्यक सामाग्री खरिद गर्न सहज हुने सुवेदीले वताए । वडाध्यक्षहरुले यो कामको अगुवाई गरिरहेका छन् ।
जिल्लाका अधिकांश स्थानीय तहको सामाजिक सुरक्षा भत्ता बैंकमा नै थुप्रिएर लक्षित वर्गले पाउन सकेका छैनन् । लकडाउन देखाएर बैंकले ग्राहकको खातामा नराखेपछि पालिकाले एकमुष्टरुपमा निकालेर निकालेर सवैको हातमा पुराउन थालेका हुन् । यो भन्दा पहिले ढोरपाटन नगरपालिकाले टोलटोलमा पुगेर वितरण गरेको थियो । अन्य तहले भने वितरण गरेका छैनन् । टोलटोल र घरघरमा नै भत्ता पाउन थालेपछि बृद्धाहरु खुशी भएका छन् ।
तस्विर सौजन्य : ढालप्रसाद शेरचन





