विश्वभर फैलिएको कोरोना भाइरसले लाखौं मानिसको ज्यान गएको छ । नेपालमा संक्रमितहरु देखिए पनि कसैको मृत्यु भएको छैन, यसलाई सुखद नै मान्नु पर्ने हुन्छ । रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउनको अबधारणा लिएको छ । लकडाउनले भिडभाड र भौतिक दुरीलाई कम गरेको छ । यद्यपि सम्पुर्ण श्रमजिवी वर्गलाई भने दैनिकी र आन्तरिक जीवनमा सकस भैरहेको छ । नेपाली कलाकारिता पनि श्रमिक कलाकारहरुको कार्यक्षेत्रको रुपमा बुझ्न सकिन्छ । हरेक दिन दोहोरी साँझ, बार र गजलमा गुञ्जने गायक गायिका, संगीतकार, कलाकार र प्राविधिकको जिबिकोपार्जन श्रोत ठप्प छ । आर्जन गरेको श्रोतबाट जीवन चलाउनेदेखि राहत र छिमेकी आफन्तको सहयोगबाट दिन गुजार्नु पर्ने कलाकारको अबस्था छ । यद्यपि यथाशिघ्र लकडाउन खुल्ने आशामा सम्पुर्ण कलाकारहरु प्रतिक्षारत छन् । प्राबिधिक ज्ञानमा विश्वास राख्ने र संगीत कर्ममा स्थापित बागलुङे संगीतकर्मीहरु लकडाउनमा के गरिरहेका छन त ? गायन, संगीत र म्युजिक एरेन्जमा दखल राख्ने श्रस्टाहरुको लकडाउन दैनिकीबारे ढोरपाटनले बुझ्ने प्रयास ग¥यो । प्रस्तुत छ उनीहरुकै शब्दमा लकडाउन दैनिकी ।
कोरोनाबारे सचेनामुलक श्रव्यदृश्य सामग्री सिर्जना
बिबि अनुरागी (गायक तथा संगीतकार एरेन्जर)
म जहिले पनि आफुलाई व्यस्त नै राख्ने कोशिस गरिरहेको हुन्छु । यो समयमा मैले केही नयाँ कामहरु पनि गरिरहेको छु । कोरोनासंग सम्बन्धित चेतना र सन्देशमुलक सांगीतिक श्रव्यदृष्य सामग्रीहरु पनि ल्याएको छु । यतिखेर म ¥यापर पनि बनेको छु, डाईरेक्टर, स्क्रीप्ट राईटर, भिडियो ईडिटर बन्नुका साथै अभिनय पनि गरेको छु । मेरो युटुव च्यानल तथा फेसबुक पेजमा ‘धुन श्रृंखला’ शिर्षकका चार वटा भागमा यहीँ अवधिका सृजनाहरु हेर्न सकिन्छ । भाग–४ ले त झन् मेरो पेजमा मिलियन भ्यु पनि पाएको हुँदा अझै जाँगर बढेको छ । यसको अलवा गरौंला भनेर नभ्याएर पेन्डिङ केही कामहरु पनि गर्ने जमर्को गरिरहेको छु तर समय पुगिराको छैन । मन परेको फिल्म हेर्ने, उपन्यास पढ्ने पुरानै बानी हो, पुराना साथीसंगीहरुसंग सम्पर्कमा रहने, गीत, कथा, कविता लेख्ने, घर परिवारसंग रमाईलोको लागि पनि अलिकति समय दिनैपर्यो, पछिल्ला समाचारहरु, सरकारका गतिबिधिमा पनि अपडेट हुनैपर्यो । यसरी नै समय बितिरहेको छु । समग्रमा मेरो लागि लकडाउन अरुले भन्ने गरेको जस्तो वोर लाग्दो छैन । यस्तो बेलामा हामी सबैले राज्यको नीति नियमलाई अनुशासन र धैर्यतापूर्वक पालना गर्दै एउटा असल नागरिकको कर्तव्य पूरा गर्नु पर्दछ, सबैलाई यही भन्न चाहन्छु ।
नयाँ सिर्जनामा पनि समय दिएको छु
आशिष अविरल (गायक तथा संगीतकार एरेन्जर)
यो बेला धेरैलाई छट्पटी हुने, जेलमा बसेजस्तो हुने, आतिने हुन सक्छ प्रायःलाई तर मेरो हकमा भन्नुपर्दा साधना गर्ने, सिक्न बाँकी कामहरु गर्ने र नयाँ सिर्जनामा पनि समय दिएको छु । बिशेषगरि लकडाउनलाई बिदा सम्झेर अध्ययनमा विशेष ध्यान दिएर अघि बढ्न सुझाब दिन्छु । यसलाई अवसरको रुपमा महशुस गर्दै बाँकी रहेका काम गर्न र सिक्न अनुरोध गर्छु । लकडाउनको पालना गरि कोरोनाबाट बच्न सम्पुर्ण दर्शकश्रोतालाई आग्रह गर्न चाहन्छु ।
पृथक म्युजिक एरेन्जको प्रयास गरेको छु
योगेश काजी (गायक तथा संगीतकार एरेन्जर)
एक्चुअल्ली म चाहिँ आफ्नै होम स्टुडियोमा म्युजिक एरेन्ज र कम्पोजको काम गरिरहेको छ् । अधुरा कामहरु पूरा गर्दैछु । पप आधुनिक गीतको अलवा अहिले लकडाउनको समयमा लोकगीत र लोकदोहोरी गीततर्फ ज्यादा प्राक्टिस गरिराको छु । लोक तथा दोहिरी गीतलाई आधुनिक ढंगले नयाँ केही गर्न सकिन्छ की भन्ने हेतुले केही नयाँ लोक धुनहरु बनाइरहेको छु । पृथक म्युजिक एरेन्जको प्रयास गरेको छु । रेकर्डिङको काम बन्द भाकोले नयाँ कम्पोज, एरेन्ज र आफ्नो दैनिक साधनामा पूरा समय बितेको छ । र, बेला बेलामा मिडियाहरुमा अन्तरबार्ता दिने र पेज तथा फेसबुक लाइभमा हल्का गफगाफ गर्ने, गीत गाउने गरेर समय बितेको छ । अन्य कलाकारहरुलाई पनि यो समयमा प्राबिधिक ज्ञानहरु सिक्न अनुरोध गरिरहेको छ ।
ज्ञानबर्धक मोबाइल एपहरुबारे सिक्दैछु
राजेश बर्देवा (गायक तथा सञ्चारकर्मी)
मैले यो परिस्थितिलाई अप्रत्याशित घटनाको रुपमा लिएको छु । विश्वभरि ज्यान गुमाएका मानिसप्रति दुःख ब्यक्त गर्न चाहन्छु । सरकारले लिएको लडाउनको अवधारणालाई पुर्ण रुपमा पालना गरेको छु । र, हजुरहरु सबैलाई पालना गर्न अनुरोध गर्दछु । लकडाउनमा अध्ययनलाई बिशेष प्राथमिकता दिएको छु । गुगल र युटुबहरुमा प्राबिधिक ज्ञानबर्धक मोबाइल एपहरुको बारेमा सिक्दैछु जुन आफुले पनि उपयोग गर्न सकियोस् । टिभीमा टक सो हेर्ने, समसामयिक सुचना र खबरबारे अपडेट हुने, गीतहरु गुनगुनाउने, मुड चल्यो भने आर्टिकल लेख्ने र सिर्जनामा समय बितेको छ । यो चुनौतीलाई अवसरको रुपमा महशुस गरि सिकाइ र अध्ययनमा बिशेष जोड गर्न आग्रह गर्दछु ।





