पोखरा/गण्डकी साहित्य संगम पोखराको अध्यक्षमा भीम रानाभाट चुनिएका छन् । शनिबार भएको १६ औँ साधारण सभा तथा अधिवेशनबाट समितिको उपाध्यक्षमा नारायण मरासिनी, सचिव विजया सुवेदी ‘उदासी’, कोषाध्यक्षमा काजी गाउँले र सदस्यमा छविलाल आचार्य, कल्पना चिलुवाल र सुरज उपाध्याय सर्वसम्मत बने ।
सभाले सचिव नारायण मरासिनीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष विजया सुवेदीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । सभामा डा कृष्णराज अधिकारी, केशबहादुर परियार, झलकपाणि तिवारी, यादवचन्द्र भुर्तेल, नारायणकैलाश सिग्देललगायतले बोलेका थिए ।
सो अवसरमा साहित्यकार विद्याविमल बरालद्वारा लिखित नवीनतम उपन्यास ‘पुनर्जागरण’ को परिचर्चासमेत गरिएको थियो । परिचर्चाकार प्राध्यापक गेहेन्द्रेश्वर कोइरालाले उपन्यासको विषयवस्तुलाई आर्थिक कोणबाट विश्लेषण गरेका थिए भने डा कृष्णराज अधिकारीले यस उपन्यासले राष्ट्रियता तथा देशभक्तिको भावलाई मुखरित गरेको बताएका थिए ।
उपन्यासकार बरालले बिदेसिएका नेपालीहरूलाई स्वदेशमै फर्केर आफ्नै माटामा केही गर्नुपर्छ भन्ने सन्देश दिनका लागि आफूले यो उपन्यास लेखेको सुनाए ।




