आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३
  • १३ मंसिर २०८३ , आइतबार
  • November 29 2026

नौबिसेमा दाइँ, विदेशी दयेँरा

नौबिसेमा दाइँ, विदेशी दयेँरा

सहरीकरणले खेतीयोग्य जमिन घट्दै गएको पोखरामा चाडपर्व र खेतीपातीका परम्परालाई पर्यटनसँग जोड्ने प्रयास ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०८३, आइतबार

पोखरा/रोपाइँ महोत्सव सुरु भएको दुई दशकपछि पोखरामा दाइँ उत्सव थालियो । पशुपालन कम भएपछि थ्रेसरले दाइँ हाल्ने यो उपत्यका शनिबार विदेशी दयेँरा देखिए । केही बेर त स्कुलले केटाकेटीले पनि दयेँराहरुलाई पालो दिए ।

लेखनाथको नौबिसे फाँटको ११ रोपनीमा शनिबार परम्परागत तवरले दाइँ हालियो । रोपाइँ महोत्सवमा पर्यटक रमाउने गरेकोमा दाइँले पनि विदेशीको ध्यान खिचेको देखियो । केही विदेशीले दयेँराको भूमिका निर्वाह गरे, केहीले धान चुटे ।

दयेँरा र खेतालालाई दिइने सेल रोटी, अचार र तरकारी पनि उनीहरुले मीठो मानेर खाए । परम्परागत खेती हराउँदै गएका बेला यस्तो अवसर भने पोखरा महानगरसँगको सहकार्यमा पोखरा पर्यटन परिषद्ले मिलाएको हो । छर्लाङ्ग खुलेका अन्नपूर्ण र माछापुच्छ«ेको काखमा भएको दाइँले धेरैको ध्यान खिचेको छ ।

महोत्सवमा ५० जना जति विदेशीको सहभागी थिए । केही विद्यार्थी स्कुल पोशाकै पुगेका थिए । पोखरा महानगरका प्रमुख धनराज आचार्यले दयेँराहरुलाई टोपी लगाउँदै दाइँ सुरुआत गरे । उनले साच्चिकै पर्यटन प्रवर्धन गर्न संस्कृति, प्रकृति र साहासिक क्रियाकलापलाई जोड्नैपर्ने विचार राखे ।

‘हाम्रा मौलिक संस्कार, संस्कृति विदेशी र पछिल्लो पुस्ताका नेपालीलाई पनि चिनाउनुपर्छ,’उनलेभने,‘धान रोप्ने होस् वा थन्क्याउने, दसैं, तिहार, तीज जस्ता पर्व पनि पोखराले महोत्सवकै रुपमा मनाउँदै आएको छ ।’ नेपाली जनजीवन कसरी चलेको छ भनेर देखाउन पनि यस्ता महोत्सव उपयोग हुने उनले सुनाए ।

पोखरा पर्यटन परिषद् अध्यक्ष हरि भुजेलले सबै मौसममा घुमफिरका लागि पोखरा उपयुक्त छ भन्ने सन्देश महोत्सव प्रवाह गरेको जनाए । उनले भने, ‘यसले एकातिर कृषि र पर्यटनलाई जोड्छ भने अर्कातिर सबै मौसम, सबै अवसरमा पोखरा पर्यटकको गन्तव्य हो भन्ने पनि पुष्टि गर्छ ।’

महोत्सवमा गुन्द्री बुन्ने, लठ्ठो तान्ने, धान झार्ने लगायतका प्रतियोगितासमेत भएका थिए । नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले परम्परागत कृषिलाई पर्यटनसँग जोड्दै समृद्धि हाँसिल गर्न सकिनेमा जोड दिए ।

४५ सय हेक्टरमा फल्छ जेठोबुढो
पोखरा महानगरपालिकामा स्थानीय जेठोबुढोसहित विभिन्न हाइब्रिड जातका धान लगाइन्छ । यहाँ फल्ने जेठोबुढो धान खेतीलाई महानगरले प्रोत्साहन गर्दै आएको छ। किसानलाई गुणस्तरीय बीउमा ५० प्रतिशत अनुदान दिनुका साथै उत्पादित चामलको ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणमा समेत सघाउने गरिएको छ ।

महानगरपालिकाले पाँच वर्षदेखि जेठोबुढो धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ। किसानलाई उत्पादनमा प्रोत्साहन गर्न हरेक वर्ष ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्ने गरिएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । चालु वर्ष पनि किसानलाई ७ हजार ५ सय किलो जेठोबुढो धानको बीउ वितरण गरिएको छ ।

स्थानीयस्तरमै उत्पादित गुणस्तरीय बीउ किसानसम्म पु¥याउने उद्देश्यले अनुदानमा वितरण गरिएको हो । जेठोबुढो धानबाट उत्पादित चामलको बजार विस्तार गर्न महानगरले दुई वर्षअघिदेखि व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत ब्रान्डिङ, लेबलिङ र प्याकेजिङको कामसमेत अघि बढाएको छ। पछिल्लो समय जेठोबुढो चामलको माग बढ्दै गएको छ ।

जेठोबुढो धानको उत्पादन र गुणस्तर कायम राख्न महानगरले बीउ उत्पादन क्षेत्रको अनुगमनसमेत गर्दै आएको छ। धानमा लाग्ने रोग तथा गवारोको प्रकोप नियन्त्रणका लागि पनि आवश्यक प्रयास भइरहेको महानगरले जनाएको छ ।

जेठोबुढो धानलाई पोखराको पर्यटनसँग जोड्ने प्रयाससमेत महानगरले गरेको छ। रोपाइँ महोत्सव र दाइँ महोत्सवमार्फत धान खेती गर्ने किसानलाई प्रोत्साहन गर्नुका साथै सबैभन्दा धेरै धान खेती गर्ने किसानलाई सम्मान गर्ने गरिएको छ ।

पोखरामा करिब ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा करिब ४ हजार ५ सय हेक्टरमा जेठोबुढो लगाइन्छ। पोखराको धान उत्पादनमा जेठोबुढोको हिस्सा करिब ४० प्रतिशत छ ।
महानगरमा वार्षिक करिब ४० हजारदेखि ४९ हजार मेट्रिक टनसम्म धान उत्पादन हुने गरेको छ। त्यसमध्ये १५ देखि १६ हजार मेट्रिक टन जेठोबुढो छ ।

अन्य उन्नत तथा हाइब्रिड जातका धानको तुलनामा जेठोबुढोको उत्पादन कम हुन्छ। हाइब्रिड धान एक रोपनीमा ६ देखि ७ मुरीसम्म उत्पादन हुँदा जेठोबुढो भने तीनदेखि साढे तीन मुरीसम्म मात्र फल्ने गरेको छ। उत्पादन कम हुनुका साथै पाक्न पनि लामो समय लाग्ने भए पनि यसको विशिष्ट स्वाद र बजार मूल्यका कारण किसान यसप्रति आकर्षित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->